उदयपुर :सडक विस्तार भएसँगै जिल्लाको विकट उदयपुरगढी गाउँपालिकामा पर्यटक आगमन बढेको छ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत मदन भन्डारी राजमार्गले छोएको नेपालटार, उदयपुरगढी, कुर्कुन्टार, देउलिकुना सडक खण्डको स्तरोन्नति कार्य सम्पन्न भएसँगै पर्यटनहरुको आगमनमा वृद्धि हुन थालेको हो।
कुल एक करोड ४६ लाख ६१ हजार रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्य सम्पन्न भएको हो। काठमाडौंको महादेव खिम्ती आजाद जे.भि.काठमाडाैंले सडक स्तरोन्नति गर्ने ठेक्का लिएको थियो। ठेक्का सम्झौता अनुसार नै निर्माण कम्पनीले कम्पनीले सडक निर्माण सम्पन्न गरी पुस १५ गते हस्तान्तरण गरिसकेको छ। सम्झौता अनुसार सडक फराकिलो बनाउने, वर्षाको बेला सडक बग्ने समस्या अन्त्य गर्न ह्युम पाइप निर्माण तथा भिरालो ठाँउमा रिटोनिङ वाल निर्माण गरिएको छ।
ऐतिहासिक उदयपुरगढीलाई नेपाल सरकारले भ्रमण बर्ष २०२० उत्कृष्ट १०० गन्तव्यमा सूचीकृत गरेको छ। यो गढी क्षेत्रमा पञ्चावती माई मन्दिर, गणेश स्थान तथा ऐतिहासिक ढुंगे स्मारकजस्ता पर्यटकीय आकर्षणका सम्पदा छन्। सडक बनेसँगै यी सम्पदा अवलोकन गर्न आउने पर्यटक संख्या बढेको छ।
यसअघि कच्ची र जोखिमपूर्ण बाटो भएर गाउँपालिकाको केन्द्र पुग्नुपर्ने बाध्यता थियो। सडक बनेपछि सो जोखिम हटेको र आफूहरु हर्षित बनेको स्थानीय देव गिरीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।