समाज

कर्णाली प्रदेश : कर्मचारीको नियुक्ति रोक्न उच्च अदालतको अन्तरिम आदेश

फाइल तस्बिर
माघ ८, २०७६

    सुर्खेत : कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले करारमा भर्ना गर्न लागेका अनमी र स्टाफ नर्सलाई नियुक्ति प्रदान नगर्न उच्च अदालत सुर्खेतले मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

    मापदण्ड र परीक्षाबिना नै प्राविधिक पदमा भइरहेको नियुक्ति रोक्न अन्तरिम आदेशको माग गर्दै निवेदक सुशीला थापाले मंगलबार उच्च अदालतमा रिट दायर गरेकी थिइन्। रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेको इजलाशले मन्त्रालयका नाममा कारण देखाउ आदेश गरेको हो।

    अन्तरिम आदेश दिने र नदिने सम्बन्धमा निर्णय लिन माघ १३ गते दुवै पक्षलाई अदालतमा बोलाइएको छ। दुवै पक्षका कुरा सुनेपछि अदालतले नियुक्ति प्रक्रिया रोक्ने आदेशलाई निरन्तरता दिने कि नदिने भनेर निर्णय लिनेछ।

    अल्पकालीन अन्तरिम आदेशमा अदालतले २०७६ पुस १७ गते उम्मेदवार छनोट गरेको निर्णय र २०७६ माघ ३ गतेको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ।

    मन्त्रालयले कर्णालीका विकट जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भन्दै अनमी एक सय ४२ र स्टाफ नर्स ७१ जनालाई छनोट गरेको थियो। रिट निवेदक थापाले भनसुनका आधारमा रोजगारी दिइएको आरोप लगाउँदै मन्त्रालयविरुद्ध अदालतमा उजुरी दिएकी थिइन्।

    ‘पहँच र भनसुनका आधारमा विपक्षीहरूको मिलिभगतमा अपारदर्शी रूपमा पक्षपातपूर्ण तरिकाले पुस १७ गते उम्मेदवारको छनोट गरिएको हो,’ थापाले पेश गरेको निवेदनमा लेखिएको छ, ‘प्रवेशपत्रबिना परीक्षामा बस्न नपाइने, लोकसेवा आयोगको प्रतिनिधि राखिने भन्ने प्रावधानको मन्त्रालयले खिल्ली उडाएको छ।’

    थापाले सुरुमा ८ सय ३१ जनाको नामावली प्रकाशन गरिएको र त्यसपछि ८ सय २९ जनाको नाम प्रकाशित गरिएको बताइन्। ‘एक/डेढ वर्षको अनुभवसमेत नभएकालाई पनि जागिर दिइएको छ' उनले भनिन्, 'डुप्लिकेट' रुपमा बनाइएका कागजातलाई आधार मानी सोझै नियुक्ति दिइएको छ।'

    मन्त्रालयका कर्मचारीले भने कर्मचारी भर्ना प्रक्रियामा कुनै पनि कमजोरी नभएको बताएका छन्। मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख वृषबहादुर शाहीले उच्च अदालतको सम्मान गर्दै आफू अघि बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]