|

दाङ : तुलसीपुर उपहानगरपालिकाभित्र करिब ३५ हजार घरधुरी र डेढ लाख जनसंख्या रहेको तथ्यांक सार्वजनिक गरिएको छ। उपमहानगरले तयार गरेको प्रोफाइल प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक गरेका हुन्‌।

तथ्याङ्कअनुसार तुलसीपुरमा ३४ हजार ९ सय ७८ घरधुरी रहेका छन्‌। यी घरधुरीमा १ लाख ४९ हजार ६ सय ४७ जनसंख्या बसोबास गर्ने गरेका छन्‌। जसमध्ये महिलाको संख्या ७६ हजार ५ सय ४ र पुरुषको संख्या ७३ हजार १ सय ४३ रहेको तथ्याङक अधिकृत बाबुराम न्यौपानेले बताए।

३ सय ८४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उपमहानगरभित्र खेतीयोग्य जमिन १७२. १२ वर्ग किलोमिटर, वनजंगल १४५ .८० वर्ग किलोमिटर, खोला बगरले ४.८७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। 

तुलसीपुर उपमहानगरका १९ वडामध्ये वडा नम्वर ६ को जनसंख्या सबैभन्दा बढी अर्थात १४ हजार ५ सय ९१ रहेको तथ्यांकमा उल्लेख छ।  यस्तै वडा नम्वर २ मा सबैभन्दा कम अर्थात ५ हजार १५ जना बसोबास गर्ने गरेका छन्‌। तुलसीपुरमा हिन्दु धर्मालम्बीको जनसंख्या ९४ प्रतिशत रहेको उपमहानगरले जानकारी दिएको छ।

यस्तै ३६२ घरधुरीमा अझै चर्पी प्रयोग नभएको, द्वन्द्वका कारण बसाई सरी आएको, १६ देखी १९ वर्ष उमेर समुहले विवाह गरेको, समान रुपले विकासका पुर्वाधार नभएको लगाएतका विषयहरु पनि प्रोफाइलमा समेटिएको छ। 

प्रोफाईल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले तुलसीपुर उपमहानगरपालिकालाई चारैतिर सडक सन्जालसँग जोड्न आग्रह गरे । तुलसीपुर उपमहानगर सडक पूर्वाधारले परिपक्व हुन नसकेको बताउँदै उनले पुर्व-पश्चिम र उत्तर-दक्षिणलाई जोड्ने गरी सडक सञ्‍जाल विस्तार गर्न सुझाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.