काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशसरण महतले नगरिकको स्वतन्त्रता खोस्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिए।
सहमहामन्त्री महतले बहुमत प्राप्त सरकार नागरिकप्रति उत्तरदायी नभएर निषेधको बाटोतर्फ लागेकाले त्यसकाबिरुद्ध लड्न नागरिकलाई आह्वान गरे।
‘अहिले निर्वाचित भएर पनि जनताको आकांक्षाअनुसार काम गर्ने प्रवृति सरकारको छैन' उनले भने, 'निषेध र नियन्त्रणमा उहाँहरू बिश्वास गर्नुहुन्छ। थिचोमिचो गर्नुपर्छ। यिनीहरू बुझ्दैनन्। जान्दैनन्। कुरा गर्ने हो। काम गर्नु पदैन भन्ने प्रवृति छ। संस्थागत भ्रष्टाचार बढ्दो छ। त्यसका खिलाप तपाइँहरू तयार भएर बस्नुहोला।'
नुवाकोटको त्रिशुलीमा जारी नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका डा. महतले राष्ट्रियताको ठूलो नारा लगाउनेहरू नै देशको सीमा, सुरक्षा र अखण्डतामा प्रश्न उठ्दा भने चुप लागेर बसेको आरोप लगाए।
'यस्ता प्रवृति वढेका छन्' उनले भने, 'पुलिस प्रशासनले बदमासी गर्दा, उपभोत्ता समितिको नाममा बजेट दुरुपयोग हुँदा नागरिक चुप लागेर बसेमा हिजो जुन अवस्था थियो। त्यही अवस्थामा पुगिन्छ। तपाइँहरू सचेत बन्नुहोला।'
नेपालमा चीनसँग जोड्ने रेलवेको कुरा गर्नेहरूले त्रिशुलीबाट रसुवागढी हुँदै काठमाडौंमा जोड्ने झोर-छहारे बाटोको मर्मतसमेत नगरेको गुनासो गरे। 'यहाँ ठूलाठूला कुरा हुन्छन्। आकास पातालको कुरा हुन्छ' उनले भने, 'पानी जहाजको कुरा हुन्छ। रेलवेको कुरा हुन्छ। तर जनताको आधारभूत आवश्यकता समेत पूरा हुँदैनन्।'
फरक सन्दर्भमा सहमहामन्त्री महतले नेपाल एकीकरणको सुरुवात नुवाकोटबाटै भएको उल्लेख गर्दै पृथ्वीनारायण शाहको योगदानको प्रशंसासमेत गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।