चीनले यसरी पियानोलाई आफ्नो बनायो

|
फोटो : एजेन्सी

एउटा प्रेमकथा, जुन सुरू हुन्छ सन् १९३० बाट।

चीनमा पश्चिमा शैलीको कुनै भिल्लाजस्तो झल्को आउने एउटा टापू छ, गुल्याङ्ग्यू। यो सियामेन क्षेत्रमा पर्छ। काई पिजेई नामका एक किशोर सन् १९३० ताका त्यस टापूमा बसोबास गर्थे।

२० वर्षे पठ्ठो काई दिनहुँ जुन बाटो हिँड्ने गर्थे, त्यस बाटोमा एक किशोरीको घर थियो। वाद्यबादनमा सिपालु ती किशोरी पियानोको धूनमा मग्न रहन्थिन्। काई, आउँदाजाँदा बाटोमै उभिएर किशोरीले बजाएको धून सुन्दथे।

काईले एकदिन किशोरीलाई चिठी लेखे, 'तिमी मलाई माया गर्छ्यौ भने इग्नेस लेबाखको फिफ्थ नक्टर्न बजाऊ।'

किशोरीले कुनै प्रतिकृया दिइनन्।

हप्ता दिनपछि बल्ल किशोरीको पियानोले जवाफ फर्कायो। त्यहि बाटो भएर कतै जाँदै गर्दा काईले फिफ्थ नक्टर्न बजिराखेको सुने।

त्यसपछि उनीहरूको प्रेम झाङ्गियो। केही समयमै उनीहरूले विवाह गरे। भनिन्छ, सन् १९८० तिर काई जब अन्तिम सास लिँदै थिए, उनलाई आराम दिन उनका छोराले त्यही धून बजाएका थिए। मर्नुअघि उनले सुनेको अन्तिम धून त्यही थियो।

कालान्तरमा काईका छोरा सियामेन क्षेत्रको उपमेयर बने। सन् १९९० मा युवा काईले गुल्याङ्ग्यूमा एउटा संङ्गीत पाठशाला खोले, जहाँ वर्तमान राष्ट्रपति सी चिनफिङ पनि पुगिसकेका छन्। पूर्वनेता जियाङ जेमिन त पियानोको ठूलो पारखी नै थिए। उनी बारबार सङ्गीत पाठशाला पुग्थे, र विद्यार्थीलाई 'ओ सोले मियो' बजाउन भन्थे।

अहिले सांघाईमा मात्रै २७ सयवटा सङ्गीत पाठशाला छन्। सरकारले अर्केष्ट्रामा प्रशस्त रकम खर्चिएको छ। चीनमा अहिले अर्केष्ट्राको संख्या ८० पुगेको छ।

कसरी छिर्‍यो चीनमा पियानो?

सन् १९३० मा काईकी प्रेमिकाले जुन पियानो बजाउँथिन्, त्यो विदेशबाट आयातित दुर्लभ सामग्रीमध्येको थियो। चीनमा पियानो उत्पादन हुँदैनथ्यो। तर अहिले पियानो यति लोकप्रिय छ, हरेक पाँच पियानोमध्ये चारवटा चीनमै बनेका हुन्छन्।

सन् १८४२ को अफिम युद्धमा बेलायतसँग पराजित भएपछि चीनको सियामेन क्षेत्र विदेशीको नियन्त्रणमा पुग्यो। सियामेनलाई ब्रिटिस, अमेरिकन, जापानी र डेनिसहरूले व्यापारिक 'हब' बनाए।

तिनले त्यहाँ विद्यालय, हुलाक, अस्पताल आदि पनि खोले। ब्रिटिसले सियामेनमा आधिपत्य कायम राख्न सिख रेजिमेन्ट खटाएको थियो। विदेशी प्रभावका कारण सियामेन क्षेत्र झण्डै पश्चिमा देशहरू जस्तै देखिन्थ्यो।

सोही समयमा क्रिश्चियन मिशनरीहरूले चीनमा जरा गाडे। अफिम युद्धको एकाध वर्षमै सियामेनमा मिशनरीको संख्या ६ पुगिसकेको थियो। तिनैले गुल्याङ्ग्यू टापूमा निर्माण गरेका चर्चहरूमार्फत चीनमा पहिलोपटक पियानो भित्रिएको थियो।

पास्टरका श्रीमतीहरू राम्रो पियानो बजाउँथे। तिनैले चिनियाँलाई पियानो सिकाए। चिनियाँहरूलाई पियानोको धूनले यस्तरी छोयो, सन् १९५० सम्ममा चीनमा २० हजार पियानोबादक पैदा भइसकेका थिए। अहिले संसारका नामूद पियानो बादकमध्ये अधिकांश चिनिया नै छन्।

चिनिया जनक्रान्तिको सफलतापछि पनि पियानोको लोकप्रियतामा कुनै असर परेन। बरु झनझन् फैलियो। कम्युनिष्ट सुप्रिमो माओत्से तुङले रसियन पियानोबादकलाई चीन बोलाएर प्रस्तुति दिन लगाए। उत्कर्षमा पुगेको दुई देशबीचको तनाव साम्य पार्न जब अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन पुगे, उनलाई पियानोको धूनले स्वागत गरियो।

पियनोको वियोग

सन् १९६६ ताका, चीनमा सांस्कृतिक क्रान्ति आरम्भ भएपछि भने पियानो दुर्दिन सुरू भयो। लालसेनाले यसलाई 'पश्चिमाको अवशेष' ठाने। पियानोको धूनलाई 'बुर्जुवाको हड्डी बजेको' भने। त्यो 'काम न काजको कालो बाकस'माथि लालसेनाले बञ्चरो चलायो।

मिशनरीहरूद्वारा प्रशिक्षित ली चुइजेन, जो बीथोबेनका ३२ सोनाटा मन छुने गरी गुञ्जाउँथिन्, लालसेनाको नजरमा प्रतिक्रान्तिकारी देखिइन्। सत्ताको कोपभाजनबाट बच्न उनले सन् १९६६ मा आत्महत्या गरिन्।

अर्का पियानोबादक फू सङका मातापिताले पनि स्यमंलाई डोरीमा झुन्ड्याए। सांघाई सिम्फोनीका कन्डक्टर लु होङगेनलाई जेलमा कोचियो। आक्रोशित लुले जेलमा छँदा माओको रातो किताब च्यातेपछि उनलाई मृत्युदण्ड दिइयो।

मर्नुअघि अर्का कैदी साथीलाई होङगेनले भनेका थिए अरे, 'तिमी यहाँबाट जिउँदै निस्कियौ भने दुईटा काम गरिदेऊ। पहिलो, मेरो छोरालाई खोज। दोस्रो, एकपटक भए पनि सङ्गीतको मूलभूमि अष्ट्रिया जाऊ।

त्यहाँ गएर बीथोबेनको चिहानमा एक गुच्छा फूल चढाइदेऊ। बीथोबेनलाई भनिदेऊ, तिम्रो एक चिनियाँ चेलोलाई मृत्युदण्ड दिइँदै गर्दा ऊ तिम्रो मिस्सा सोलेम्निज गुनगुनाउँदै थियो।'

त्यसको केही दिनमै होङगेनमाथि गोली चलाइयो। उनका कैदी साथी तीन दशकपछि मात्रै लुको सन्देश बोकेर बीथोबेनको चिहानमा पुग्न सके।

गुल्याङ्ग्यू टापूमा अर्का कहलिएका पियानो बादक पनि बस्थे, यीन चेङजोङ, उनलाई पनि बाबुबाजेको थातथलोबाट धपाइयो। सत्ताको आतंक स्मरण गर्दै स्थानीय इतिहासकार झेन झाओसिया भन्छन्, 'त्यसताका कतिपय पियानो बादकहरु आवाज ननिकालिकन, पियानोमाथि औंलाहरूमात्रै चलाएर पियानोको न्यास्रो मेट्थे।'

यी सारा दमनका बावजुद यीन चेङजोङले आँफूलाई रोक्न सकेनन्। बिस्तारै बिस्तारै पुन: धून कम्पोज गर्न थाले, पियानो पुनर्जागरणको उपाय खोज्न थाले। भन्छन्, 'त्यतिखेर मैले के सोचें भने अब चीनमै पियानो बनाउन थाल्नुपर्छ, चिनियाकै निम्ति बजाउन थाल्नुपर्छ।'

पुराना धूनहरूलाई थाँति राखेर उनले लालसेनाका क्रान्तिकारी गीतलाई पियानोको धूनमा ढाले। सन् १९६७ को एक दिन, उनी तीनजना साथीसँगै पियानो बोकेर तियानमेन स्क्वायर गए। 'एउटा ब्यानर टाँगेर पियानो बजाउन थाले, ब्यानरमा लेखिएको थियो, माओ विचार प्रचार समूह। 'त्यसको नतिजा के हुन्छ, मलाई थाहा थिएन', उनले भने।

उनीहरूले दिनरात बजाए। तेस्रो दिनसम्म आइपुग्दा पियानोको धून सुन्न झण्डै तीन हजार मानिसहरू भेला भइसकेका थिए।

यस घटनाका कारण चेङजोङ माओकी श्रीमतीको नजरमा परे। मेडम माओले चेङजोङको प्रतिभा माओ विचारधाराको प्रचार-प्रसारका लागि कामलाग्दो हुनसक्ने देखिन्। चेङजोङ त्यसपछि राज्यनियन्त्रित अपेराको सदस्य बन्न पुगे। सन् १९६९ मा उनले 'येल्लो रिभर पियानो कन्सर्ट' आयोजना गरे, जसको भव्यता चिनियाहरू आज पनि स्मरण गर्छन्।

कालान्तरमा चेङजोङले अमेरिकी अर्केष्टासँग मिले चीनका विभिन्न स्थानमा प्रस्तुति पनि दिए। यसरी चीनमा फेरि एकपटक पियनोको धून पुन:जागृत भयो। कतिसम्म भने, सन् १९७६ मा अध्यक्ष माओको निधन हुँदा चीनभरका रेडियो र टेलिभिजनमा बीथोबेनको 'फिफ्थ सिम्फोनी' गुञ्जिएको थियो।

यसैलाई प्रमाण मानेर, जिनदोङ काई र शेइला मेलिभिनले लेखेको पुस्तक 'बिथोबेन इन चाइना' (सन् २०१५ मा प्रकाशित) मा भनिएको छ, '…अन्तत: यसरी चिनिया साँस्कृतिक क्रान्ति टुंगियो।'

त्यसपछि बिस्तारै, हिजोसम्म जे जे दबाइएका थिए, ती पुन: सतहमा आउन थाले। पुँजीवादले टाउको उठायो, क्रिश्चियानिटी फर्कियो, कन्फ्यूसियस विचारधारा ब्युँतियो, समाज पुन: चमकदमकयुक्त हुनथाल्यो।

चिनियाँको पियानो मोह नब्युँतने कुरै थिएन।

सन् १९७८ मा जब त्यहाँको केन्द्रिय सङ्गीत विभागले कम्पोजर पदका लागि आवेदन माग्यो, १०० पदका लागि १८ हजारले आवेदन दिए। 'कहाँबाट आए यत्रा सङ्गीतकार?', लेखक काई भन्छन्, 'धेरै चिनियाँले लुकेर बाख र बीथोबेनको धून बजाउँदै आएका थिए।'

त्यसपछि चीनमा प्रशस्त पियानो कन्सर्ट भए। पियानो बजाउन डराउनु परेन। चिनिया कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्यहरूले पनि खुलेरै पियानोप्रेम दर्शाउन थाले।

माओकी श्रीमतीको निधनपछि भने पियानोबादक चेङजोङ अत्तालिए। कुनै पनि बेला उनको दुर्दिन सुरू हुनसक्थ्यो। अन्तत: सन् १९८३ मा उनी अमेरिका भासिए। अमेरिका पलायन भए पनि उनले पियानो बजाउन भने छाडेनन्।

तर, चेङजङको विचारमा, अमेरिकीहरूले उनको धून त्यति मन पराएनन्। यसको पुष्टि न्यूयोर्क टाइम्समा प्रकाशित हेरोल्ड सनबर्गको टिप्पणीले गर्छ। चेङजोङको कन्सर्ट हेरेपछि उनले लेखेका थिए, 'समाजवादी-यथार्थवादी विचारधाराको साँचोमा ढालिएको पियानोको धून यति पत्रु छ कि, यसको कौडीको मोल पनि छैन।'

तर के भो त? यै धूनले त चीनमा पियानोको बीऊ जोगाएको थियो, पियानो बादकहरूलाई बचाएको थियो। चेङजोङका साथी शु, पियानो बजाउन छाडेर खेतीपातीमा लागेका थिए, लालसेनाद्वारा आयोजिक 'येल्लो रिभर कन्सर्ट'मा पियानो बजाउन सहमत भएपछि पुन: सङ्गीतमा फर्किन पाएका थिए।

तर, जे होस्, पियानो, आजकल चीनमा हुने हरेक महत्वपूर्ण कार्यक्रमको हिस्सा बनेको छ।

उत्पादनको साधन

चिनियाँ पियानो उत्पादक कम्पनीहरूले यसको बढ्दो मागलाई सम्बोधन गर्दै आएका छन्। राज्यले चलाएका चिनियाँ कम्पनीहरूले गर्नेजति पियानो उत्पादन, संसारका कुनै कम्पनीले गर्दैनन्।

संसारकै शानदार मानिने स्टेनवे पियानो चीनमै बन्छ। पियानो कारखानामा हुने काटकुट र ठोकठाकको पनि आफ्नै विशेष धून छ। गतवर्षमात्रै डेढ लाख पियानो चीनबाट विश्व बजारमा पुगे। यो लगभग तीन भाग खपतको एक भाग हो।

चीनमा पियानो मात्रै बन्दैन, सङ्गीतकारहरूले कर्णप्रिय धून पनि बनाउँछन्। सन् २०१८ मा, अमेरिकामा भएको कन्सर्टमा चिनिया पियानोबादकहरूले ६ वटा नयाँ सिम्फोनी प्रस्तुत गरेका थिए।

के चिनियाँ धूनहरू साँच्चै अद्भूत छन्?

बाहिरकाले मात्र होइन, घरैकाले पनि चिनिया सिर्जनशीलतामाथि शंका गर्छन्, के चिनिया प्रस्तुतिहरू साँच्चै सर्वोत्कृष्ट छन्? के यी सिर्जनाले सिर्जनशीलताको उचाइ चुमेका छन् त?

काओ हुएन्यु, यो प्रश्नमा गम खान्छन्।

उनले चीनका सयौं पियानोबादकहरूले जस्तै सानो बस्तीमा पियानो सिकेका हुन्, जहाँ अब्बल प्रशिक्षक हुँदैनथे। काओले कसैगरी गुल्याङ्ग्यू सङ्गीत पाठशालामा नाम निकाले। सबै कुरा सही चलेमा, उनी अर्को साल अमेरिकाको प्रसिद्ध सङ्गीत विद्यालय कोलबर्न स्कुलमा पढिरहेका हुनेछन्।

काओ पियानोको अभ्यासमा घण्टौं बिताउँछन्। यसो कहिलेकाँही बगैँचामा टहल्छन्। उनलाई लाग्छ, चीन साङ्गीतिक माहोल असाध्यै कठोर छ। 'हो, हामीसँग स्रोतसाधन छ, प्रविधि छ', उनी भन्छन्, 'तैपनि केही न केही नभएजस्तो लाग्छ।'

'हावाको सुगन्ध, रुखबिरुवाका रङ्ग…, म तिनैलाई सङ्गीतमा ढाल्न कोशिश गर्छु।'

(दी इकोनोमिस्टबाट भावानुवाद गरिएको)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.