|

तनहुँ : पर्यटनको सम्भावना बोकेको तनहुँका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दुई हप्ताको अनुगमन तथा अनुसन्धान पश्चात् जिल्लाका २४ होटल तथा रेष्टुरेष्टलाई स्तरीकरणको लोगो सहित वर्गीकरण गरेको छ।

होटल तथा रेष्टुरेण्ट स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सञ्चालित २४ होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्दै लोगो वितरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले जानकारी दिए। उनका अनुसार दुई हप्ताको अवधिमा ६० होटल तथा रेष्टुरेण्टको अनुगमनपश्चात् पहिलो चरणमा २४ होटलको स्तरीकरण गरिएको हो।

तनहुँमा पहिलोपटक तीनवटा तारासहित अति उत्तम (क) श्रेणीको हरियो स्टीकर एउटा मात्रै होटलले पाउन सफल भएको बरालले जानकारी दिए। उनले भने, ‘अनुगमनको क्रममा होटलमा आवश्यक मापदण्ड सबै पुरा गरेको पाइएको छ।’ 

दुईवटा तारासहित उत्तम (ख) श्रेणीको हरियो स्टीकर चार वटा, एउटा तारा सहित सन्तोषजनक (ग) श्रेणीको स्टीकर १३ वटा र सामान्य तथा ५० प्रतिशतभन्दा बढी तर केही मापदण्ड पूरा गरे हरियो स्टीकर लिन पाउन खालको (घ) श्रेणीको स्टीकर छ वटा होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो वितरण गरिएको बरालले बताए।

बन्दीपुर गाउँपालिका-५ स्थित मस्र्याङ्दी रिभरभ्यु रिसोर्टले मात्रै तीन वटा तारासहित अतिउत्तम मानिएको हरियो स्टीकर प्राप्त गरेको छ। दुई वटा तारासहित उत्तम स्टीकर पाउने होटलमा बन्दीपुर-४ डुम्रे स्थित होटल मुस्ताङ प्लाजा, बन्दीपुर–१ स्थित होटल बन्दीपुर गार्डेन रेष्टुरेण्ट र आँबुखैरेनी–२ स्थित मनु मस्र्याङ्दी होटल रहेका छन्। पहाडकी रानी नामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा सञ्चालित होटलले पनि एउटा तारा सहितको हरियो स्टीकर पाएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका महानिर्देशक मतिदा जोशी वैद्यले होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरिएको भए पनि अन्य होटलहरुमा खान नमिल्ने नकरात्मक सोच राख्न नहुने बताइन्। वैद्यले भनिन्, ‘होटललाई मापदण्डमा ल्याउनका लागि स्तरीकरण गरिएको हो, अनुगमनको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण गरेको मापदण्डमा ल्याउन स्तरीकरण गरिएको हो, तर उपभोक्ता र होटल व्यवसायीले नकरात्मक लिनु हुँदैन, सबै व्यवसायीले खाद्य प्रविधिको मापदण्डमा आउन जरुरी छ।’

कार्यालयले गत आर्थिक वर्षमा दमौलीका १६ होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरेको थियो। गतवर्ष दमौलीका होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरिएको भएपनि पुनः नविकरण गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जनाएको छ।

खाद्य स्वच्छता अनुगमन विभाग काठमार्डौका वरिष्ठ अनुगमन अधिकृत किशोर खत्रीले होटल तथा रेष्टुरेण्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुई, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीको मूल्याङ्कनको आधार स्टिकर वितरण गरिएको बताए।

वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्र र लोगो पाउने प्रावधान विभागले निर्धारण गरेको खत्रीले बताए। अतिउत्तम श्रेणीको होटल रेष्टुरेण्टले तीन वटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ। यो लोगो पाउन होटल रेष्टुरेण्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्नेछ।

त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउने छन्। यस्तो लोगो पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ। यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

यस्तो लोगो पाउने होटल रेष्टुरेण्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन्। सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको पहेँलो स्टिकर उल्लेख हुनेछ। यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने प्रावधान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको छ।

त्यस्तै, पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ।

मस्र्याङ्दी रिभरभ्यु रिसोर्टका सञ्चालक महेन्द्र मोहन भट्टराईले होटल तथा रेष्टुरेण्टको स्तरीकरणलाई यथावत तथा बृद्धि गर्नका लागि खाद्य प्रविधिले अनुगमनलाई तिव्रता दिनुपर्ने बताए। भट्टराईले भने, ‘अहिले पाएको स्तरीकरणको लोगो सहित प्रमाणपत्र बृद्धि भएको पाउनका लागि खाद्य प्रविधिले छड्के अनुगमन गर्नुपर्छ, अनि मात्रै होटल व्यवसायको स्तरोन्नती हुन्छ, अनुगमनतर्फ पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चासो पुग्नुपर्ने हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.