मुद्दा चलाउन अनुमति दिने केजरीवालले नै गरेका थिए भाषणको प्रशंसा

|

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) छात्र संघका पूर्वअध्यक्ष एवं वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले स्वीकृति दिएको छ।

बेगूसरायका कन्हैयामाथि सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु युनिभर्सिटीमा कथित देशविरोधी नारा लगाएको आरोप लागेको थियो। कथित देशविरोधी नारा लगाउनेहरुको सूचीमा कन्हैयाहित उमर खालिद र अनिर्वानलगायत सात जनाको नाम राखिएको छ। 

मुद्दा चलाउन स्वीकृति दिएलगत्तै कन्हैया कुमारले दिल्ली सरकारलाई धन्यवाद दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'दिल्ली प्रहरी र सरकारी वकिलसँग यो मुद्दालाई गम्भीरतापूर्वक लिन मेरो आग्रह छ, फास्टट्रयाक कोर्टमा द्रूतगतिमा यसको परीक्षण गरियोस र टेलिभिजन अदालतभन्दा कानूनकै अदालतबाट न्याय सुनिश्चित गरियोस्, सत्यमेव जयते !'

दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएसँगै प्रहरीले अदालतमा चार्जसिट दायर गरेको थियो। तर मुद्दा चलाउन दिल्ली सरकारले अहिलेसम्म अनुमति दिएको थिएन। 

केही दिनअघि भारतको सर्वोच्च अदालतमा एक याचिका दायर गरिएको थियो। जसमा दिल्ली सरकारलाई कन्हैयामाथि मुद्दा चलाउने मञ्जुरी दिनेबारे आदेश दिन अपील गरिएको थियो। तर सर्वोच्चले सो याचिका खारेज गरिदिएको थियो।  

सर्वोच्चले सो याचिका खारेज गरेपनि आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले कन्हैयामाथि मुद्दा चलाउन शुक्रबार इजाजत दिएको हो। दिल्ली पुलिसले १९ फेब्रुअरीमा गरेको आग्रहअनसार दिल्ली सरकारले यो इजाजत दिएको हो। यो इजाजतसँगै कन्हैया र अन्य विद्यार्थीहरुमाथि मुद्दा चलाउने बाटो खुलेको छ।

अहिले दिल्लीमा तुलनात्मक प्रगतिशील र वैकल्पिक शक्तिको छवि बनाएको आम आदमी पार्टीको सरकार छ। सोही पार्टीका नेता अरविन्द केजरीवाल दिल्लीका मूख्यमन्त्री छन्‌। अचम्मको कुरा त यो छ कि केजरीवालले २०१६ को मार्च तीन तारिखमा एक ट्वीट गर्दै कन्हैयाले जेएनयुमा शानदार भाषण गरेको लेखेका थिए। 

दिल्ली प्रहरीले जेएनयुमा कथित भारत विरोधी नारा लगाएको भन्दै सन् २०१९ जनवरी १४ तारिखमा पटियाला हाउस कोर्टमा चार्जसीट दायर गरेको थियो। 

के छ चार्जसीटमा ? 

दिल्ली पुलिसले अदालतमा कन्हैया कुमारसमेत १० व्यक्तिहरुका विरुद्ध कारबाही अघि बढाउन अपील गरेको छ। आरोप पत्रमा भने ३६ व्यक्तिहरुका नाम समावेश छ। अन्य व्यक्तिहरुका हकमा पर्याप्त सबूत नभएको भन्दै प्रहरीले कन्हैयालगायत १० जनामाथि मात्र कारबाही माग गरेको हो। 

आरोपपत्रका साथमा प्रहरीले अदालतमा सीसीटीभी फुटेज, मोबाइल फुटेज र अन्य दस्तावेजहरुलाई प्रमाणका रुपमा पेश गरेको छ। 

के थियो मामिला ? 

बीबीसी हिन्दीका अनुसार सन् २०१६ को फेब्रुअरी ९ मा केही अज्ञात युवकहरुले भारतीय संसदमा आतंकवादी हमलाका दोषी अफजल गुरुलाई दिइएको मृत्युदण्डको सजायविरुद्ध प्रदर्शन गरेका थिए।

यस विरोध प्रदर्शनमा केही युवाहरुले कथित भारत विरोधी नारा लगाएको आरोप लागेको थियो। यसलगत्तै कन्हैया कुमार र उमर खालिदलाई राजद्रोह आरोपमा गिरफ्तार गरिएको थियो।

बेगूसरायका कन्हैया अहिले भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) मा आवद्ध छन्‌। गत लोकसभा चुनावमा बेगूसरायबाट चुनाव लडेका कन्हैया पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.