राष्ट्रियसभामा पहिल्यै निर्णय भइसकेको जिकिर

|

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बसेको छ। बैठक पार्टीभित्र छेडिएको विवादको बिषयमा प्रवेश नै नगरी सकिएको छ।  

पार्टी भित्र राष्ट्रियसभा सदस्य सिफारिस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलायतको बिषयमा तीव्र विवाद भइरहेको छ। 

यसअघिको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। तर, प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडान राखिरहेको छ। 

गौतमको बिषयलाई लिएर सचिवालमा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। नौ सदस्यीय सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेताल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ गौतमको पक्षमा छन्। 

यता, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री इश्वर पोखरेल अर्थमन्त्री खतिवडाको पक्षमा छन्। यस्तै, प्रधानमन्त्री ओलीनिकट मानिएका पार्टी महासचिव विष्णु पौलेलले यस बिषयमा मुख खोलेका छैनन्। 

मुख्यत: प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच तिव्र विवाद परेपछि नेता नेपालले मध्यमार्गी भूमिका निर्वाह गरिरहेका छन्। नेता नेपालको पहलमा पार्टीभित्रको विवाद समाधानको बाटो खोजिएको छ।  

पार्टी सचिवालयले गरेको निर्णय भएकाले प्रधानमन्त्री ओलीले पनि यसअघिको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लाने निर्णय कार्यान्वय गराउँने पक्षमा ओलीबाहेकका नेताहरु रहेका थिए। 

सचिवाल बैठक बस्नुअघि उपाध्यक्ष गौतम र नेपालले अध्यक्ष दाहालसँग एकल भेटवार्ता गरेका थिए। राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहन नपर्ने तर्क गरे।

पार्टीभित्र विवादमा रहेको बेलामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको जानकारी गराएर सकिएको छ।

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली भोली (सोमबार) अस्पताल भर्ना हुने भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.