|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा आइतबारदेखि तेस्रो संस्करणको उपमेयर कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा दनपा ९ ग्लाल्लेकलाई ९५ रनले स्तब्ध पार्दै दनपा २ देहिमाडौंले विजयी सुरुवात गरेको छ। 

निंग्लाशैनी खेल मैदानमा टस हारेर ब्याटिंगको निम्ता पाएको देहिमाडौंले निर्धारित १५ ओभरमा १ विकेटको क्षतिमा १६५ रन बनायो जसमा बबिता बोहराले नट आउट ६६ र मीना बोहराले नटआउट ५२ बनाइन्।  ग्वाल्लेकका पूजा चन्दले १ विकेट हात पारिन्।

१६६ रनको बिशाल लक्ष्य पन्छाएको ग्वाल्लेकले १५ ओभरमा ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सक्यो। उसका लागि लक्ष्मी जोशीले १५ र कलावती जोशीले १२ रन जोडिन्।

देहिमाडौंका बसन्ती बोहराले २ तथा बबिता बोहराले १ विकेट लिइन्। बबिता ओम्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।  
दशरथचन्द नगरपालिकाको आयोजना तथा नगरक्रिकेट समितिको आयोजना भएको प्रतियोगितामा ६ टोली सहभागी रहेका छन्।

प्रतियोगिताको उपाधि भिडन्त फागुन २२ गते हुने  नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउनेछन्। यस्तै ओम्यान अफ द सिरिजले ८ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।  

यसैबीच आइतबार बिहान एक कार्यक्रमकाबीच उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ।  नगर क्रिकेट समितिका संयोजक रमेश भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.