विचार

हे पशुपतिनाथ ! हाम्रो कल्याण गर

गरिब र कुपोषित शहरमा स्वास्‍थ्य सचेतनाको खाँचो

फागुन २५, २०७६

    केही दिनपहिले ललितपुरको बुङमतीबाट हिँड्दै एउटा गाउँमा पुगेकी थिएँ। दिउँसो दुई बजेको थियो बाटोको छेउमै दुई/तीन वर्षको जस्तो लाग्ने एउटा बालक कचौरामा चाउचाउ लिएर खाँदै गरेको देखेँ।

    शरीरमा माथि एउटा स्वेटर बाहिर देखिएको थियो भने भित्र अरू लुगा थियो/थिएन थाहा भएन। तर, कम्मरमुनि कुनै लुगा लगाइदिएको थिएन। धुलैधुलो भएको हातले कचौरामा भएको बासी चाउचाउ तर्याङतुर्लुङ पार्दै खाइरहेको त्यो बालकलाई मैले उभिएर हेरेँ।

    मैले हेर्नुको कारण उसको चाउचाउ खुवाइ र उसको अनुहारभरी बसेर उसैलाई खाइरहेका जस्ता देखिने पोकापोका भएर बसेका झिंगा थिए। बच्चालाई देखेर मलाई माया लाग्यो, यति सानो बच्चा बाटोको छेउमा आएर त्यस्तो हालतमा भेटिनुमा उसको के दोष? 

    जंकफुड खाएर अस्वस्थ्य हुँदै हुर्किएका यस्ता केटाकेटीका बीचमा कोरोना जस्ता रोग सरेमा हामीले जय पशुपतिनाथ! भन्‍नुबाहेक विकल्पमा केही पाउँछौँ त? बाटोमा भेटिएका तिनै साना नानीलाई सम्झँदै आज म पनि बाध्य भएर भन्दैछु – हे पशुपतिनाथ हाम्रो कल्याण गर!

    कस्ता होलान् यो बच्चाका बाबुआमा भन्ने मेरो मनमा आयो। म ग्रुपमा हिँडेकी हुनाले त्यो बच्चाको आमाबाबु खोजेर बस्ने समय मसँग थिएन।

    बच्चाका बाबुआमा खोज्न थाल्दा मेरा साथी अगाडि बढिसक्ने हुनाले मैले पनि आफ्ना पाइला अगाडि बढाउनै पर्‍यो। म अगाडि बढे पनि मन मस्तिष्कमा त्यो बालकको दृश्‍य घुमिरह्यो। राजधानी नजिकैको गाउँमै स्वास्थ्यसम्बन्धी चेतना पुगेको छैन भने दूरदराजका गाउँमा हामीले के आशा गर्ने?

    कोरोना र चाउचाउ झोल

    अहिले विश्व कोरोनाको पञ्जामा जकडिँदै गएको बेलामा हामी स्वास्थ्यसम्बन्धी सचेत पनि हुन सकेका छैनौँ। बाटोको छेउमा बसेर झिंगाले छोपिएको अनुहारका अगाडि भएको चाउचाउको झोल पिएर हुर्कंदै छन् हाम्रा नानीबाबुहरू। यसरी आफ्ना नानीबाबुको स्वास्थ्यको त ख्याल राख्‍न नसकेका आमाबाबुले कोरनाबारे के बुझेका होलान् र उनीहरूले के कसरी सतर्कता अपनाएका होलान्? अनि हामी भन्न विवश हुन्छौं, 'जय पशुपतिनाथ तिम्रै भरोसामा छौँ हामी।'

    स्वस्थ खाना खाएर हुर्किएका केटाकेटीमा मात्र रोग प्रतिरोध गर्ने क्षमताको विकास भएको हुन्छ। ठूलो परिवारबाट तर एकल परिवारमा परिणत हुँदै गएको समाज र कामकाजी बाबुआमाले आफ्ना नानीबाबुका लागि समय दिन सक्दैनन्। कामको चटारोमा उनीहरूले छोराछोरीलाई कुपोषण हुनबाट जोगाउन नै हम्मेहम्मे पर्छ। समयमा सन्तुलित आहारा नपाएपछि बालक बढे पनि उसमा रोगसँग लड्ने क्षमताको विकास हुनै सक्दैन।

    के हो त जंकफुड?

    बजारमा पाइने प्रायजसो प्याकेटभित्र सिल गरिएका तयारी खानेकुरा चाउचाउ, कुरकुरे, लेज चीजबल आदि जस्ता खानेकुरा जंकफुडमा पर्दछन्।

    शरीरको लागि एकदमै कम काम लाग्ने यस्ता खानामा धेरै नुन, धेरै चिनी, हानिकारक चिल्लो पदार्थ बढी मात्रामा भएको र खानेकुरालाई यथास्थितिमा राख्‍ने रसायन पदार्थ बढी भएको हुन्छ। बजारमा पाइने एउटै तेलमा घरिघरि पकाइने खानेकुरा जस्तो समसा, निम्की जस्ता खानेकुरा पनि जंकफुडअन्तर्गत नै पर्दछन्।

    अजिनोमोटो र डढेको तेल

    बजारमा पाइने जंकफुड खान बच्चाहरू पनि लालायित हुन्छन्। किन घरमा पकाएको खानाभन्दा बजारको जंकफुडमा बढी आकर्षित हुन्छन् केटाकेटी? यो कुरा बच्चालाई त के थाहा र यस्तो खानेकुरा खान दिने आमाबाबुलाई पनि थाहा नहोला त्यस्ता जंकफुडमा के के मिसाइएको हुन्छ भन्नेकुरा।

    केटाकेटीहरूले रुचाउने खानेकुरा चाउचाउकै कुरा गरौँ। कारखानामा चाउचाउ बनाउँदा यसमा प्रयोग गर्ने मोनोसोडियम ग्लटानेट (अजिनोमोटो) एक प्रतिशतभन्दा कम राख्‍नुपर्दछ। तर, धेरैजसो उत्पादकले चाउचाउ स्वादिलो बनाउन यसको प्रतिशत बढी राखेका हुन्छन्।

    यसबाहेक यसमा मिसाइने अरू रसायनिक पदार्थले कुनै कोणबाट पनि फाइदाजनक काम गरेका हुँदैनन्। तर, हाम्रो विडम्बना यस्ता खानेकुरामा के को मात्रा कति प्रतिशत राखेको छ भनेर निरीक्षण गर्ने निकायले पनि नियमित निरीक्षण गरेको पाइँदैन र अनुगमन पनि भरपर्दो छैन।

    कुपोषित शहर

    अजिनोमोटो हालेको जंकफुड खाँदा त स्वादिलो हुन्छ। तर, यसले सिधै मानिसको मस्तिष्कमा असर गर्छ। अजिनोमोटो स्वास्थ्यका लागि अति नै हानिकारक खाद्‍यवस्तु हो। मानिसको मस्तिष्कको विकास गर्भावस्थादेखि तीन वर्षसम्म ८० प्रतिशत हुन्छ भने ९ वर्षसम्म ९० प्रतिशत विकास हुन्छ।

    गर्भवती आमाले जंकफुड खाइन् भने त्यसले ८० प्रतिशत मस्तिष्क विकास हुँदै गरेको पेटको बच्चामा कस्तो असर गर्ला? सानै उमेर जुन उमेरमा उसको मस्तिष्क विकास पूर्णरूपमा भइसकेको हुँदैन। त्यो उमेरमा बच्चालाई जंकफुड खुवाइयो भने त्यसले त्यो बालकको पनि मस्तिष्क विकासमा कस्तो असर गर्दछ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। 

    केही समय पहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कुपोषण हटाउन ल्याएको ‘सुनौलो हजार दिन’ कार्यक्रम  पनि प्रभावकारी हुन नसकी यत्तिक्कै हराउन पुग्यो।

    सानोमा जंकफुड खाने केटाकेटी २५ वर्ष कटेपछि उनीहरूमा क्यान्सर भएका धेरै बिरामी पाइएको  बताउँछन् डा. खेम कार्की। यस्तो डरलाग्दो हानिकारक खाने कुरा हामी हाम्रा नानीहरूलाई किन खुवाइरहेका छौँ, यो आफैँमा एउटा प्रश्न बन्दै गएको विषय हो।

    जंकफुड शरीरलाई चाहिने पोषण पुग्ने खाना हुँदै होइन। स्याचुरेटेड फ्याट अर्थात् उमाल्दा-उमाल्दा गरेको चिल्लो र कार्बोहाइड्रेड मात्र जंकफुडमा धेरै हुन्छ। जसकारण जंकफुड धेरै खाने बच्चा त्योबेला मोटाउँदै गएको त देखिन्छ। तर, पछि गएर त्यही मोटाइले मधुमेह, रक्तचाप जस्ता रोग सजिलै निम्त्याउँछ। जंकफुडमा शरीरलाई चाहिने भिटामिन र पोषण हुँदैन।

    जंकफुडले कुपोषण निम्त्याउँछ साथै केटाकेटीमा हाडको समस्या पनि देखिन थाल्दछ। किशोर अवस्थामा नपुग्दैका केटाकेटीमा कुपोषण देखियो भने यसको प्रमुख कारणको रूपमा देखिन्छ जंकफुड। दुर्गम ग्रामीण भेगका केटाकेटीमा खाना खान नपाएर कुपोषण भएको हुन्छ भने शहरका केटाकेटीमा खाना बढी भएर भनौँ या जंकफुड बढी खाएर कुपोषण भएको पाइन्छ।

    केही समय पहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको ‘सुनौलो हजार दिन’ कार्यक्रममा पनि कुपोषणकै लागि काम गरेको थियो। जसले, जसका लागि, जहाँ, जुन कार्यक्रम गरेको भए पनि सरकारले ल्याएको ‘सुनौलो हजार दिन’ पनि प्रभावकारी हुन सकेन र त्यो कार्यक्रम नै हराउन पुग्यो।

    सरकारले स्कुलमा जंकफुड खाजामा लैजान नपाउने  भन्यो।  खोलसहितको चाउचाउ केटाकेटीले खाजाका लागि लैजान बन्देज लगाइएको छ तर त्यही चाउचाउलाई प्याकेटबाट निकालेर टिफिन बट्टामा हालेर लैजान छुट छ।

    विद्यालयको गेटमै बसेर पानीपुरी चटपटे, समसा र चपहरू बेच्ने व्यापारीहरू हामी प्राय हरेक स्कुलको बाहिर देख्दछौँ। यसरी हामी समाज परिवर्तन गर्छौं भनेर लागेका अगुवाइहरूले नै अगाडिबाट नसमाएर पछाडिबाट कान समाउन हाम्रा नानीहरूलाई सिकाइरहेका छौँ।

    हे पशुपतिनाथ !

    स्थानीय सरकारदेखि केन्द्रीय सरकार होस् या कुपोषणमा काम गरिरहेका संघसंस्थाहरूका कार्यक्रम जबसम्म आमा केन्द्रित गरेर घरघरमा चेतनामूलक कार्यक्रम पुर्‍याइँदैन यो प्रभावकारी हुन सक्दैन। आमालाई चेतना नभएसम्म त्यो घरमा जंकफुड आउन पनि छोड्दैन र केटाकेटी स्वस्थ्य भएर रोगसँग लड्न पनि सक्दैनन्।

    जुन उमेरमा हामीले हाम्रा नानीहरूलाई पोषणयुक्त खाना खुवाएर स्वस्थ्य बनाउनुपर्छ। त्यो समयमै हामी आमाबाबु नै छोराछोरीलाई यस्ता अखाद्‍य, खाना खुवाउँछौ भने हामीले नै हाम्रा नानीहरूलाई विष खुवाउँदै छौँ भन्दा के नै फरक पर्ला त?

    जंकफुड खाएर अस्वस्थ्य हुँदै हुर्किएका यस्ता केटाकेटीका बीचमा कोरोना जस्ता रोग देखापर्दछ भने त्यो समयमा हामीले जय पशुपतिनाथ! भन्‍नुबाहेक विकल्पमा केही पाउँछौँ त? बाटोमा भेटिएका तिनै साना नानीलाई सम्झँदै आज म पनि बाध्य भएर भन्दैछु – हे पशुपतिनाथ कल्याण गर!

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]