|

भद्रपुर (झापा) : फागु पूर्णिमा अर्थात् होली पर्वका लागि झापामा दुई दिन सार्वजनिक बिदा दिइएको छ।  
सरकारले चार वर्षदेखि झापामा पहाडी होलीको दिन सार्वजनिक बिदा दिँदै आइरहेकाले जिल्ला हरेक वर्ष होलीको बिदा विवादित बन्दै आइरहेको छ।

सरकारले सोमबार पहाडी जिल्लामा होलीको सार्वजनिक बिदा दिइएकाले सोही निर्णय बमोजिम झापामा पनि बिदा दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। मंगलबार तराईका जिल्लामा होली बिदा भएकाले झापामा पनि सोही दिन होली मनाउने भएकाले प्रदेश १ सरकारको उक्त दिन बिदा दिएको छ। 

‘होलीमा केन्द्रीय र प्रदेश सरकारले छुट्टाछुट्टै बिदा दिएकाले समस्या भएकै हो,’ प्रजिअ रानामगरले भने, ‘त्यही कारणले जिल्लामा दुई दिन सार्वजनिक बिदा दिनु पर्‍यो।’ 

दुवै दिन संंघीय तथा प्रदेश सरकार मातहत रहेका जिल्लाका सबै सरकारी कार्यालय बन्द हुने उनले बताए। तराईमा मंगलबार होली मनाउने भएकाले जिल्लाका निजी विद्यालय, बैंक तथा वित्तीय संस्था, संघसंस्था, उद्योगधन्दा भने सोमबार खुला रहेका छन्। प्रदेश १ को मोरङ र सुनसरीमा सोमबार सरकारी कार्यालयहरु खुला रहेका छन्।

प्रदेश १ को तराई पर्ने झापामा सरकारले २०७३ सालदेखि पहाडी जिल्लासँगै होली पर्वको सार्वजनिक बिदा दिन थालेको हो। यो निर्णयलाई सच्याउन झापावासीले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.