|
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ।

स्याङजा : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गतको कालीगण्डकी डाइभर्सन जनताको सहमति बिना गर्न नसकिने बताएका छन्।

मंगलबार स्याङजाको गल्याङ नपा -१, स्थित रामनदी धाम पर्यटकीय क्षेत्रको पक्की कम्पाउण्ड घेराबार शिलान्यास कार्यक्रममा बोल्दै कँडेलले राम्दी मुनी चितवनसम्मका स्थानीय र धार्मीक क्षेत्रको अस्तित्व मेट्ने गरी सरकार अगाडी नबढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'जनताको अस्तित्व मेटिने गरी सरकारले कुनै योजना अगाडी सारेको छैन, स्थानीयबासी र सरोकारवाला निकायसँग आवश्यक छलफल र सहमति नगरी यो निर्णय हुँदैन।'

यसैगरी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्माले सिद्धार्थ राजमार्गको स्तरोन्नती गर्न सके भारतबाट आउने पर्यटकलाई सुनौली नाका हुँदै मुक्तिनाथसम्म सहज यात्रा गराउन सकिने बताए। उनले भने, ‘सडक मात्र होइन, राम्दी पुलको समेत स्तरवृद्धि गर्दै १० टनभन्दा माथि बोक्न सक्ने क्षमताको पुल बन्न सके सिङ्गो स्याङ्जामा उद्योग कलकारखानाको समेत विकास हुने थियो।’ अब देशले मुहार फेर्न कृषि र उद्योगलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै दक्ष जनशक्तिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे। 

कालीगण्डकी नदीको पानीलाई सुरुङ मार्फत तिनाउँ नदीमा खसाल्ने योजना संघीय सरकारले ०६६/०६७ को नीति तथा कार्यक्रम मार्फत अगाडी सारेको थियो। रुपन्देही र कपिलवस्तुलाई सिँचाइको भरपर्दो माध्यम बनाउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्धेश्यीय आयोजना अगाडि सारिएको हो। 

तर ५ नं प्रदेशका केही भूमि सिञ्चित हुँदै गर्दा स्याङजाको राम्दीदेखि चितवनसम्मको भूमी सुख्खा हुने हो कि भन्ने डर आम सर्वसाधारणमा रहेको कारण यहाँका स्थानीयले आलोचना गरेका हुन्। यो आयोजनाले राम्दीतलको भूभागको मात्र होइन, धार्मिक क्षेत्रको समेत अस्तित्व मेटाउने गण्डकी प्रदेश विकास परिषदका सदस्य तथा कालिगण्डकी एकिकृत विकास केन्द्रका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए। यो क्षेत्रलाइ स्वदेश मात्र होइन, विदेशसम्म चिनाउन प्रत्येक बर्ष कालिगण्डकी एकीकृत विकास केन्द्रले रिभर राफ्टीङ सञ्चालन गर्दै आएको बताए।

गल्याङ नगरपालिकाले दैनिक एक हजार पर्यटक गल्याङभित्र रोक्न सक्नेगरि योजना अगाडी सारेको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए। स्थानीय तह गठन हुनभन्दा अगाडी बाहिरबाट दुध आयात गर्नुपर्ने अवस्था रहेकामा अहिले गल्याङ नगरपालिकाबाटै दैनिक ३ हजार लिटर निर्यात हुन थालेको र युवा उद्यमको समेत विकास गरेको अधिकारीले दावी गरे। उनले भने, ‘भान्सा-भान्सामा प्राङ्गारिक उत्पादन पकाउने हाम्रो लक्ष्य हो।’ प्राङ्गारिक वस्तु खुवाएर पर्यटक आकर्षित गर्ने गल्याङको लक्ष्य रहेको उनले बताए। 

राष्ट्रिय योजना आयोगका सदस्य डिलबहादुर गुरुङ, गल्याङ नपा-१, का वडा. अध्यक्ष गणेश बस्याल, रामनदीधाम संस्कृत गुरुकुलमका प्राचार्य कृष्ण प्रसाद बस्याललगायतले रामनदी धामको महिमा हजारौँ बर्षदेखिको इतिहास बोकेको कारण संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.