फिचर

'टिक्ने गीतभन्दा बिक्ने गीत र युट्युबले नेपाली लोकभाका सिध्याउन सक्छ'

चैत ८, २०७६

    काठमाडौं : करिब १० वर्ष पहिले नेपाली लोकदोहोरी क्षेत्रका चर्चित सर्जक पुरूषोत्तम न्यौपाने दुर्घटनामा परेर मनिपाल शिक्षण अस्पतालमा भर्ना भएका थिए। त्यसबेला सोही अस्पतालमा उपचाररत पंक्तिकार न्यौपानेलाई सोधेको थियो, 'के अहिलेका लोकगीतहरू नेपाली लोकदोहोरी स्तरवृद्धिका लागि सहयोगी बन्न सक्छन्?'

    जवाफमा न्यौपानेले भनेका थिए, 'हाम्रो समाजमा प्रशस्तै लोकभाका छन्, त्यसलाई समेट्ने प्रयास जारी छ।' गएको मंगलबार करिब १० वर्षपछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखरास्थित उनको कार्यकक्षमा पंक्तिकारले न्यौपानेलाई पुन: त्यही प्रश्न सम्झायो। 'हाम्रो समाज लोकभाकाको खानी हो, यसको उत्खनन् जारी छ, नयाँ-नयाँ लोकभाकाहरूलाई सर्जकले निकालिरहे पनि यो खासै उत्साहजनक छैन', न्यौपानेले थपे, 'पहिले-पहिले गाउँ-गाउँ चहारेर गीत संकलन गर्ने, खोज्ने, बास बस्ने, रोधी बसेर स्थानीय गीत-संगीत निकाल्ने काम अहिले कि पत्रकारले, कि लोक संस्कृतिमा विद्यावारिधी गर्ने व्यक्तिहरूले धानिरहेका छन्‌, सर्जकमा भने आलस्यता छाइरहेको छ, दुरदराजका प्रतिभा र त्यहाँका सिर्जनाहरू बाहिर निकाल्न सकिएको छैन।'

    समाजका महत्वपूर्ण र ऐतिहासिक लोकभाका यतिखेर केही व्यक्तिहरूको हातमा छ। अब यो मिडिया वा सर्जकले संकलन गर्न नसकेको खण्डमा ति व्यक्तिको मृत्यु हुँदा उनीहरूसँगै सो संस्कृति पनि सकिएर जाने न्यौपाने बताउँछन्। आफ्ना जीवनकालमा १,००० भन्दा बढी चर्चित गीत गाएका न्यौपाने हालपनि गीत संकलन र सिर्जनामै व्यस्त छन्‌।

    यहाँ टिक्ने गीत भन्दा बिक्ने गीत सिर्जना गर्न सर्जकहरू तल्लीन छन्। मेला-महोत्सबमा गाइएका सबै सर्जकका गीत गलत छन् भन्ने होइन्। मान्छे उफार्ने नाममा द्विअर्थी शब्द जोडेर गाइदिने प्रचलन पनि बढ्दै गएको छ। कसैले गायन भन्दा शरीर प्रदर्शन गरिदिने भएकोले केही असहज भएको छ। तर, सबैलाई एउटै काँटामा राखेर तौलनु हुँदैन। थोरै कलाकारले समग्रको छवि बिगार्ने प्रवृत्ति हावी भएको स्वीकार्छन् उनी। शब्दको माला उन्ने विषयलाई शरीरसँग जोडेर देखाउन थालेपछि अप्ठ्यारो त हुन्छ नै।

    उनको स्वरमा 'मिर्मीमुनी काली थुनेको,' 'ढुङ्गेधारामा,' 'घाम जस्तो चम्किलो जून हुँदैन,' 'झिलझिल सितारा' लगायत एकसे एक चर्चित गीत रहेका छन्। भजन, सोलो, दोहोरी, भाषागत, राष्ट्रिय चिनारीलगायत विभिन्न विद्या र भावनाका गीतहरू पनि संकलन गरेका छन्। ती गीतमा न्यौपानेले स्वर पनि दिएका छन्‌। अहिले भने द‌ृश्य (भिडियो) मा मुस्किलले दश मिनेटको लोकगीत निर्माण हुन्छन्। यो प्रवृत्ति देख्दा भने न्यौपाने कुनै बेला सर्जक कल्याण शेरचनले भनेको सम्झन्छन् । शेरचन भन्थे रे, 'तिमीहरू भाग्यमानी रहेछौं, हाम्रा पालामा रहरले गाउने गर्थ्यौं, पैसा हुँदैन थियो, रेडियो नेपालमा जम्मा तीन/चार मिनेट भन्दा धेरै समय पाइँदैन थियो, मनको बह पनि पोख्न नपाइने! अहिले तिमीहरूको पालामा आधा घण्टाको दोहोरी गीत हुन्छन्।' 

    कुनै बेला आधा घण्टा भन्दा बढीका लोकभाका विस्तारै २१\२१ मिनेटको हुन थाल्यो। अहिले चार-चार टुक्का जोड्ने, भिज्युअल गर्ने! अहिलेका गीतमा दोहोरीको मर्म नभएको दुखेसो पोख्छन् उनी। 

    केही सर्जकको कमजोरीलाई सिगों लोकदोहोरीसँग जोड्नु हुँदैन

    लोकदोहोरी गाउने सर्जक शालिन तरिकाले प्रस्तुत हुनुपर्छ। लोकभाकाको काम मान्छे उफार्ने होइन। न्यौपाने उदाहरण दिन्छन्, 'नारायण रायमाझीका गीतहरू आज पनि अजम्बरी हुनुको कारण ती श्रृजनाहरू सामाजिक छन्‌, झलमकान गन्धर्व, धर्मराज थापा लगायत अग्रज स्रष्टाले गाएका गीत आज पनि लोकप्रिय छन्।' 

    'लोकभाका हाम्रा समाजमा ऐना हुन्। बढ्दो सर्जकको संख्या र चर्चाको लोभमा अहिले गीतसंगीतले समाजको चित्र समेट्न सकेको छैन, पहिले पहिले भेगीय गीतहरू निर्माण हुन्थे, स्थानीय संस्कृति झल्कने गीतले समाजको नेतृत्व गर्ने गर्थ्यो, तर, अहिले यो कार्य क्रमश: शून्यमा झर्दै छ।'

    यहाँ टिक्ने गीत भन्दा बिक्ने गीत सिर्जना गर्न सर्जकहरू तल्लीन छन्। मेला-महोत्सबमा गाइएका सबै सर्जकका गीत गलत छन् भन्ने होइन्। मान्छे उफार्ने नाममा द्विअर्थी शब्द जोडेर गाइदिने प्रचलन पनि बढ्दै गएको छ। कसैले गायन भन्दा शरीर प्रदर्शन गरिदिने भएकोले केही असहज भएको छ। तर, सबैलाई एउटै काँटामा राखेर तौलनु हुँदैन। थोरै कलाकारले समग्रको छवि बिगार्ने प्रवृत्ति हावी भएको स्वीकार्छन् उनी। शब्दको माला उन्ने विषयलाई शरीरसँग जोडेर देखाउन थालेपछि अप्ठ्यारो त हुन्छ नै।

    अहिले केही कलाकार संगीत सिकेर आएका छन्। न्यौपानेहरूले नेपालको लोकसंगीतका क्षेत्रमा पाइला चाल्दा गीतप्रतिको रहर नै प्रमुख कारक थियो। उनको पालामा स्वर नै यो क्षेत्रका लागि मूख्य मानक थियो भने अहिले संगीतको ज्ञान लिएर आउने कलाकारहरूको संख्या बढ्दै गएको छ। 

    भेगीय गीत निर्माण लोप भयो

    लोकभाका हाम्रा समाजमा ऐना हुन्। बढ्दो सर्जकको संख्या र चर्चाको लोभमा अहिले गीतसंगीतले समाजको चित्र समेट्न सकेको छैन। न्यौपाने भन्छन्, 'पहिले पहिले भेगीय गीतहरू निर्माण हुन्थे, स्थानीय संस्कृति झल्कने गीतले समाजको नेतृत्व गर्ने गर्थ्यो, तर, अहिले यो कार्य क्रमश: शून्यमा झर्दै छ।'

    यसको उदाहरण स्याङ्जातिरको आँधीखोले रोइला, तनहुँतिरको कौरा, चुट्का, पाल्लम, बालन, लमजुङे ठाडो भाका, धौलागिरी क्षेत्रका सालैजो गीतहरू हुन्‌। यी गीतहरूले सो क्षेत्रका संस्कृति र जनजीवनलाई प्रतिबिम्वित गराउँछन्‌। 

    सर्जकले संस्कृतिलाई तोडमोड गर्न थालेको न्यौपानेको बुझाई छ। उनी भन्छन्‌, 'रमाइलोका लागि बीट नै तोडमोड गर्ने प्रवृत्ति रोकिन जरूरी छ।'

    इतिहासको घटना गीतका हरफमा

    स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिकामा जन्मेका न्यौपानेले जीवनमा गायक नै बन्ने लक्ष्य तय गरे। विद्यालयमा हुने गीत प्रतियोगिता नै उनको स्वर खारिने माध्यम थियो। विद्यालय र जिल्लास्तरमा हुने गायन प्रतियोगितामा उनको सहभागिता सँधै रह्यो। वि.सं. २०४५ साल अघि उनको कलायात्रा यसरी नै अघि बढ्यो।

    त्यही बर्ष भएको राष्ट्रिय लोकदोहोरी प्रतियोगीतामा उनी प्रथम भए। त्यसपश्चात् उनलाई लोकभाका र लोकदोहोरीको भोक झन तीव्र भयो। स्कुलका पुस्तकमा हुने इतिहासका विभिन्न घटनाहरूलाई उनले गीतमा ढाल्थे। फ्रान्स र जर्मनको युद्ध, १६८८ को क्रान्ति, फ्रान्सेली राज्य क्रान्तिदेखी बलभद्र कुँवर र भीमसेन थापाकाो पालाका ऐतिहासिक घटनाक्रमहरू लाई उनले गीत नै बनाएर पढे। कापीमा लेखेका इतिहासका ती गीति हरफहरू उनको कोठामा अझै बाँकी छन्।

    रेकर्ड गरिएको पहिलो गीत

    वि.सं. २०४६ सालमा प्रवेशिका परीक्षा (एसएलसी) दिएपश्चात् स्वर परीक्षा दिन र उच्च शिक्षा पढ्न उनी पहिलो पटक काठमाडौं आए। त्यसबेला रेडियो नेपालले बेला-बेलामा स्वर परीक्षाको लागि आवेदन दिन सूचना दिने गर्थ्यो। त्यही सूचनाका आधारमा उनी स्वर परीक्षा दिन रेडियो नेपाल छिरे। रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपश्चात् उनले पहिलो गीत रेकर्ड गरे, 'बलाम देवि थान, बेलटारीमा फसलमै रानी यो जीवनलाई बिताइरहन पाम...'

    त्यसबेला उनी हरेक शुक्रबार रेडियो नेपाल पुग्थे। चौतारी कार्यक्रममा गीत गाउँथे। त्यसबेला स्वरको २५० र गीत संकलनको ५० रुपैयाँ दिने व्यवस्था थियो। घरमा एउटा रेडियो थियो। उनका पिताले लाइसेन्स लिएर राख्न पाउने समयमा त्यो रेडियो ल्याएका थिए। सोही रेडियोमा उनको गीत बज्यो। गीत बज्दै गर्दा खुशी भएको क्षण न्यौपानेले अहिले पनि शब्दमा बयान गर्न सक्दैनन्‌। 

    त्यसपश्चात् उनले दोस्रो रेकर्डिङको लागि नारायण रायमाझीसँग आग्रह गरे। ४९ सालमा अरू कसैको स्वरमा 'श्रीखंड चन्दन, लाको माया छोडेर जाम भने परियो बन्धन' भन्ने बोलको गीत रेकर्ड गरे। त्यो गीत पनि चर्चित बन्यो। त्यसपछि उनले रेडियोमा काम थाले। तेस्रो सृजनाका रूपमा 'फूलको बासना' ल्याए। त्यसपछि 'ऐना हेरेर,' 'चिन्ता बढ्यो झन्‌,' 'झिलझिल सितारा' लगायतका कयौं हिट गीत गाए। यी लोकरूझानका गीतहरूले उनलाई नेपाली लोकसंगीतको क्षेत्रमा चर्चित बनायो।

    सर्जक उत्पादनको केन्द्र रेडियो नेपाल

    एकातिर गायन र अर्कातिर जागिर गर्नुपर्ने अवस्थामा न्यौपानेले कुनै एक कामलाई मात्र न्यौपानले अघि बढाउनुपर्ने थियो। गायन त उनको लक्ष्य नै थियो। संयोग! रेडियो नेपालले कर्मचारी खोज्यो।  सम्पूर्ण प्रक्रिया पार गर्दै न्यौपाने रेडियो नेपालका कर्मचारी बने। उनी २०५१ सालदेखि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत छन्।

    गण्डक क्षेत्रको १६ जिल्लालाई कभर गर्ने गरी स्थापना गरिएको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट ६८४ किलोहर्जमा उनी गुञ्जिन्छन्। यस भेगमा धेरै ठाउँमा अन्य एफएमभन्दा रेडियो नेपाल गुञ्जिने गरेको छ। जसरी सिहंदरवारबाट प्रसारण हुने 'चौतारी' कार्यक्रमले नेपाली संगीतमा जति योगदान गरेको छ, त्यस्तै योगदान पोखराबाट 'देउराली' कार्यक्रमले गरेको उनी बताउँछन्।

    देउराली कार्यक्रम सरोज गोपाल बज्राचार्य, दुर्गा रायमाझी र उनी स्वयंले लामो समयसम्म संचालन गरे। देउरालीबाट धेरै कलाकार उत्पादन गरेको न्यौपाने बताउँछन्। अहिलेका स्थानीय तथा राष्ट्रिय धेरै कलाकार उत्पादनमा क्षेत्रीय प्रसारणको भूमिका रहेको उनको भनाई छ। उनी भन्छन्,' गीति कथा र नाटकहरूले पनि नाट्यकर्मी उत्पादन गरेको छ, संगीतकारहरू उत्पादन गरेको छ।'

    अहिले उनी 'लोकथुङ्गा' कार्यक्रम चलाउछन्। 'यात्रा संगीत', 'सुन्नुस सुनाउनुस' जस्ता कार्यक्रम सञ्चालन गरिसकेका न्यौपानेले अहिले 'श्रोता कलिङ' चलाउँछन्। यो कार्यक्रममा नयाँ सर्जकले फोनबाटै गीत सुनाउने गर्छन्।

    प्रविधिको विकासमा छुटेका लोकदोहोरी श्रोता

    जो प्रविधिसँग खेल्छन्, उनीहरूलाई गाउन र सुन्न सहज छ। रहरले यस क्षेत्रमा लागेका व्यक्तिहरूले क्षमता देखाएर सफल व्यावसायिक जीवनको उडान भरिसकेका छन्। अहिले सर्जक बाँच्ने आधार तयार भएको भन्ने कुरामा न्यौपाने पूर्ण सहमत छैनन्‌। 

    रेडियो, टेलिभिजन, क्यासेट, मेमोरी, सीआरबिटी हुँदै अहिले युट्युवसम्म नेपाली लोकसंगीतको हब बनिरहेको छ। त्यो क्यासेटमार्फत गीत घन्कने समय र अहिले युट्युबको युगबीच तुलना गर्दा त्यो समय नै एक राम्रो कलाकारका लागि ठीक थियो भन्ने न्यौपाने निश्कर्ष निकाल्छन्‌। तर समय कसैको हातमा हुँदैन।

    जोसँग इन्टरनेटको सुविधा छ : उनीहरूले मात्र लोकभाका सुन्न पाएका छन्, तर लोकदोहोरी सुनेर हुर्किएका बाआमाहरूले यतिखेर लोकगीत नै सुन्‍न नपाउनु बिडम्वना हो। किनभने उनीहरू इन्टरनेटको पहुँच भन्दा बाहिर छन्।' 

    ५० पछिको दशकलाई शहरदेखि गाउँपाखासम्म क्यासेटमा घन्कने लोकभाकाले गुञ्जायमान बनाउँथ्यो। लोकगीतका क्यासेट सर्वाधिक बिक्री हुन्थे। एउटा क्यासेटबाट गायकलाई ६ रूपैयाँ आउँथ्यो।

    त्यसपश्चात सिआरबिटी, पिआरबिटी, सिडी पेनड्राइभ, मेमोरी हुँदै अहिले युट्युबको जमाना आएपछि आम्दानी चौपट हुँदै गएको न्यौपाने दाबी गर्छन्। विभिन्न क्षेत्रमा हुने मेला महोत्सव र विदेश भ्रमणले सर्जकलाई जीविकोपार्जनमा केही सहज भएपनि यो स्थायी कमाइ नभएको उनी बताउँछन्‌।

    प्रविधिको विकाससँगै अहिले हरेक व्यक्ति आफैँ मिडिया भइसकेको छ। तर प्रविधिसम्म पहुँच हुनेहरूले मात्र यसबाट लाभ लिइरहेका छन्‌।

    न्यौपाने भन्छन्‌, 'जोसँग इन्टरनेटको सुविधा छ : उनीहरूले मात्र लोकभाका सुन्न पाएका छन्, तर लोकदोहोरी सुनेर हुर्किएका बाआमाहरूले यतिखेर लोकगीत नै सुन्‍न नपाउनु बिडम्वना हो। किनभने उनीहरू इन्टरनेटको पहुँच भन्दा बाहिर छन्।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]