|

काठमाडौंः कोरोना संक्रमणका कारण यतिखेर नेपाललगायत विश्वका कैयौं देशमा 'लकडाउन' गरिएको छ। हताहती र संक्रमितहरूको सख्या बढिरहँदा मानिसहरूमा त्रास पैदा हुने र मानसिक स्वास्थ्यमा समेत असर पर्ने जोखिम छ। 

आपत्त-विपद्‌ र महामारीका बेला चिन्ता र दबाबकै कारण मानिसहरूले मानसिक स्वास्थ्य समस्या भोगिरहेका हुन्छन्‌। कोरोना महामारी फैलिएपछि दिनदिनै मानिसको मृत्यु भएको र संक्रमितको संख्या बढेको सुनिरहेका लाजिम्पाटका सुवास रिजाललाई पनि यस्तै भएको छ। असाध्यै तनाव भएपछि उनी चिकित्सककहाँ जँचाउन समेत गए। तर शरीरमा त्यस्तो कुनै समस्या देखिएन। 

रिजालले भने, 'कोरोना भाइरसको हल्ला फैलन थालेको केही दिनपछि टाउको दुख्न थाल्यो, पहिले-पहिले यस्तो भएको थिएन।' अनावश्यक डर र चिन्ता लाग्ने तथा मनमा अनेक कुरा खेल्न थालेपछि जाँच गराउन गएका उनलाई चिकित्सकले परामर्श लिन सुझाएका छन्‌।

ठमेल ज्याठाकी ममता महर्जनलाई पनि यस्तै भएको छ। परिवारका सदस्यहरु बाहिर रहेकोले पनि मनमा चिन्ता पर्न थालिसकेको उनले बताइन्। घरमा श्रीमान र श्रीमती दुईजना मात्र बस्छन्। उनी भन्छिन्‌, 'डर लाग्न थालिसकेको छ, वरिपरिको वातावरण सुनसान देखेर मनमा निराशाजस्तो महसुस भइरहेको छ।' सँधै मानिसहरूको घुइँचो लाग्ने छेउछाउका पसलहरू समेत बन्द भएपछि त उनले निकै एक्लो महशुस गरिरहेकी छिन्‌। 

नक्साल गैह्रीधारा स्थित पदमा मेडिकलका सञ्चालक महेन्द्र खड्काकहाँ अचेल यस्ता मानसिक तनाव र समस्यामा रहेका बिरामीहरू आउने क्रम बढेको छ। उनीकहाँ आउने मानिसहरूले निन्द्रा नलाग्ने र कोरोनाबारे मनमा बढी कुरा खेल्न थालेको बताइरहेका छन्‌। धेरै मानिसहरूमा टाउको दुख्ने, निन्द्रा नलाग्ने र चिन्ता बढ्ने जस्ता समस्या देखिएको खड्काले बताए।

मनोविद आचार्य भन्छन्‌ : 'स्वाभाविक हो, सही सूचना दिए समाधान हुन्छ'

मनोविद्‌ वासु आचार्यलाई अहिले कोरोनाबारे जानकारी लिन फोन गर्नेहरूसँग कुरा गर्न भ्याइनभ्याई छ। उनलाई दिनमा कम्तिमा १० जनाले फोनबाटै यसबारे सोधिरहेका हुन्छन्‌। आचार्य भन्छन्‌, 'मानिसमा धेरै बेचैन बढेको छ, विश्व नै त्रासमा रहेको बेला नेपाली नागरिक आतिनु स्वभाविक हो, यस्तो बेलामा बढी परामर्श लिनुपर्छ।' अनावश्यक हल्लाका पछि नलाग्ने र सही सूचनामा मात्रै विश्वास गरे यस्ता समस्या निदान हुने उनले जानकारी दिए।

यस्तो बेलामा मन स्थिर राख्न बढी भन्दा बढी शारीरिक अभ्यास गर्न आवश्यक रहेको आचार्य बताउँछन्‌। महामारी फैलिएका बेला खानेकुराको स्वस्थतामा पनि बढी नै ध्यान दिन उनले मानिसहरूलाई सुझाइरहेका छन्‌। भन्छन्‌, 'मानिसहरू भूकम्पको बेला भन्दा बढी डराइरहेका छन्‌, यसको कारण चाहिँ त्यतिबेला मानिसहरू घरबाट निस्केर सुरक्षित र खुला स्थानमा जान पाएका थिए, तर अहिले यस्तो गर्दा झनै समस्या पर्ने भएकाले घरभित्रै सीमित रहँदा मानिसहरूमा अत्यास बढेको छ, तर यसलाई सुरक्षाकै उपायका रूपमा लिनुपर्छ।'

मनोचिकित्सकहरूले मानिसहरूमा यसबाट बच्‍न सकिन्छ भन्‍ने आत्मविश्वास बढाउन जरूरी रहेको तथा सम्भव भए र भ्याएसम्म कोठा या घरभित्रै शारिरीक अभ्यास वा श्रमका काम गर्न सुझाइरहेका छन्‌। सोच कमजोर बनाउन नहुने, सबै मानिसहरूले आफ्नै जस्तो अवस्था भोगिरहेकाले यसलाई सामान्य तरिकाले लिन तथा बढी भन्दा बढी शान्त रहन कोशिस गर्दा मानसिक समस्या र तनावबाट छुट्कारा पाइने उनीहरू बताउँछन्‌।

चिकित्सकहरूका अनुसार सेरोटोनिम घट्दा धेरै मानिसमा अनावश्यक डर पैदा हुने गर्छ। असाध्यै अप्ठ्यारो भइहाले औषधीको सेवन गरेर पनि सेरोटोनिमलाई व्यवस्थापन गर्न सकिन्छ। तर मानसिक त्रास या समस्याबाट सुरक्षति रहने भरपर्दो उपाय चाहिँ आफूले नै त्यसबाट पहिले सुरक्षित रहन सक्ने उपाय के के हो भनेर खोजी गरेर अवलम्बन गर्नु नै हो। यस्तो बेलामा ध्यानलगायत सम्यक अभ्यासहरूबाट पनि मानसिक शान्ति प्राप्त गर्न सकिने विज्ञहरू बताउँछन्‌। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.