र्यापिड टेष्ट किट पहिलो चरणमा तीन जिल्लामा प्रयोग गरिँदै
र्यापिड टेष्ट किट पहिलो चरणमा तीन जिल्लामा प्रयोग गरिँदै
काठमाडौं : सरकारले पहिलो चरणमा कोरोना भाइरसको बढी जोखिम रहेका तीन जिल्लामा ‘¥यापिट टेष्ट किट’ बाट परीक्षण थाल्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुर जिल्लाका क्वारेन्टाइनमा रहेका सबै ब्यक्तिहरु र बागलुङ जिल्ला संक्रमित ब्यक्ति र संक्रमितको सम्पर्कमा आएका सबैको ‘र्यापिट टेष्ट किट’ बाट परीक्षण थाल्ने भएको हो। त्यसैगरी चैत महिनामा नेपाल भित्रिएका र उनीहरुको सम्पर्कमा रहेका सबैको परीक्षण गरिने छ।
त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको बैठक बसेर टोली खटाउने निर्णय गरेको हो। त्यसअघि सम्बन्धित महाशाखाबाट परीक्षणमा जाने टोलीाई अभिमुखीकरण गरिनेछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विदेशबाट आएर कैलाली र कञ्चनपुरमा रहेका क्वारेन्टाइनमा रहेका दुई जना र विदेशबाट आएका अर्का एकजनाबाट स्थानीयमासमेत कोरोना संक्रमण देखिएकाले ती दुई जिल्लाका क्वारेन्टाइनमा रहेका सबै ब्यक्तिहरुको परीक्षण गर्न लागिएको जानकारी दिए।
त्यस्तै, बागलुङ जिल्लामा कोरोनाको उपचारको क्रममा रहेका संक्रमित ब्यक्तिका बासस्थान वरपर रहेका ब्यक्तिहरु र सम्पर्कमा रहेका ब्यक्तिहरुको पनि परीक्षण गरिनेछ।
‘र्यापिड टेष्ट किट’ प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ब्यक्तिहरुको पुनःपरीक्षण पिसीआर प्रविधिबाट गरी एकिन गरिनेछ।
मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले यसको नतिजाको आधारमा अन्य क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु र कोरोना संक्रमणको शंका लागेका ब्यक्तिहरुको परीक्षण गर्ने ब्यवस्था मिलाउन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइसकेको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।