दार्चुला : सुदूरपश्चिमको लम्की नगरपालिकाका कोरोना संक्रमित युवाकै समूहमा आएका दार्चुलाका ३४ मध्ये १५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्।
कोरोना संक्रमण भेटिएका युवासँगै आएका दार्चुला ३४ जनामध्ये १९ जना भने क्वारेन्टाइनमा बस्न मानेका छैनन्। दार्चुलाका दुई नगरपालिका र अपी हिमाल गाउँपालिकाका गरी १९ जना क्वारेन्टाइनमा नबसेको पाइएको छ।
सो समूहमा नेपाल भित्रिएका शैल्यशिखर नगरपालिकाका ५, अपी हिमाल गाउँपालिकाका ५ र महाकाली नगरपालिकाका ९ जना क्वारेन्टाइनमा बसेका छैनन्। दुहुँ गाउँपालिकाका ३, मार्मा गाउँपालिकाका ९ र नौगाढ गाउँपालिकाका ३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।
शैल्यशिखर नगरपालिकाका ५ जना नियमित सम्पर्कमा रहेको र उनीहरुले 'सेल्फ क्वारेन्टाइन'मा बसेको जानकारी दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रसिहं बिष्टले जानकारी दिएका छन्।
महाकाली नगरपालिकामा भित्रिएका ९ जना क्वारेन्टाइनमा बसेको नभएपनि नियमित स्वास्थ्य शाखाको सम्पर्कमा राखिएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिएका छन्।
टोलीसँगै दार्चुला पुगेका दुहुँका ३ जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। भारतको केरलाबाट आएका उनीहरु सामान्य अवस्थामा रहेको र भारतबाट आएको १४ दिन पुगेको अध्यक्ष कार्कीले बताए।
अध्यक्ष कार्कीले भने, ‘उनीहरुमाथि हामीले विशेष निगरानी राखेका छौं, अहिलेसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले थप जटिलता देखिने सम्भावना छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।