थाहा संवाद

'संक्रमण रोक्न बागलुङ प्रशासनले सक्दो प्रयास गरेको छ, नागरिक सजग हुनुपर्छ'

चैत २७, २०७६

    एक किशोरी र बृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बागलुङ जिल्ला कैलाली र कञ्चनपुरपछि संवेदनशLल क्षेत्र बनेको छ। यद्यपी विदेशबाट आएकाहरूबाट दोस्रो व्यक्तिमा संक्रमण फैलिएको छैन। भारत र अन्य मुलुकबाट गरी जिल्लाभर झण्डै साढे आठ सय जना आएकाहरू छन्, जुन कोरोना संकर्मणबाट ग्रस्त मुलुक हुन्। कोरोना संक्रमण पुष्टि भएकाहरूलाई अस्पतालसम्म पुर्‍याउने विषयमा निकै चर्चा र टिप्पणी भइरहेको छ। संक्रमणसँग जुध्नका लागि जिल्लामा धेरै संयन्त्र गठन भएका छन्। तर यसरी गठन गरिएका संयन्त्र प्रभावकारी नभएको भन्दै जनस्तरबाट निकै आलोचना भइरहेको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको कमाण्ड पोष्ट, संकट व्यवस्थापन समिति र स्वयम् जिल्ला प्रशासन कार्यालयले कोरोनाको उच्च जोखिमबाट जिल्लाबासीलाई जोगाउन कसरी काम गरिरहेको छ? लकडाउनको प्रभावकारी कार्यान्वयन र बिरामीको उपचार तथा थप चेकजाँचका प्रक्रियाहरू कहाँ पुगे? लगायतका विषयमा बागलुङ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूसँग थाहाकर्मी तारानाथ आचार्यले कुराकानी गरेका छन् :

    कोरोना संक्रमणको त्रासमा रहेका जिल्लाबासीलाई ढुक्क हुने अनुभूति दिलाउन प्रशासनले के-कस्ता काम गरिरहेको छ?

    हामीले कोराना भाइरस रोकथाम र नियन्त्रणका लागि सबै पक्षसँग समन्वय र सहकार्यमा काम गरिरहेका छौं। त्यसअनुसार तत्तत्‌ निकायले जे गर्नुपर्ने हो, सोही अनुसारको काममा हामीले समन्वयकारी भूमिका निर्वाह गरिराखेको अवस्था छ। 

    पहिलो कुरा त यतिखेर हामी लकडाउन प्रभावकारी बनाउन लागिराखेका छौं। सुरूका दिनमा त हामीले सजगता किन अपनाउनुपर्ने हो भनी नबुझेकालाई नै बुझाउनुपर्‍यो।

    यो रोगबाट बच्नका सरसफाइमा ध्यान दिनुपर्ने, हात धुनुपर्ने, दुरी कायम गर्नुपर्ने, भीडभाडमा जान नहुने, घरमै बस्नुपर्ने लगायतका कुरामा सहजीकरण गर्नै समय लाग्यो। त्यो बेलाभन्दा अहिले क्रमशः नागरिकहरू सचेत भएको अवस्था छ। सुरूको अवस्थाभन्दा अहिले केही कडाई, अझै भनौं सम्झाई–बुझाई गर्ने काम गरेको अवस्था छ। 

    जनचेतना फैलाउन कसरी काम गरिरहनु भएको छ?

    हामीले प्रचार प्रसारलाई बढी नै प्राथमिकता दिइँदै आएको छ। गाडीहरूबाट पनि माइकिङ भैरहेको छ। केही दिनअघि पसलहरूमा दुरी कायम गराएका छौं।

    अबका दिनमा दुरी कायम गर्नका लागि कसैले घेरा राखेको, कसैले डोरी टाँगेको अवस्था हामीले देख्न पाउँछौं। दुरी कायम गराउनु र सचेत गराउनु नै यो रोगसँग लड्ने पहिलो उपाय हो। 

    बागलुङ जिल्लामा कोरोना संक्रमण फैलने जोखिम अन्यत्रभन्दा बढी देखिएको छ, त्यसैअनुसार रोकथामका पहल र सगजताका लागि पहल भएको छ त?

    अहिलेसम्म जिल्लाभर दुई जनामा कोरोना देखिएको कारण हामी अझै चनाखो हुनु त छँदैछ। त्योभन्दा अघि पनि हामी चनाखो भएर लागेकै अवस्था हो। प्रचार प्रसार, लकडाउनको पालना, सुरक्षा निकायको खटनपटन, स्थानीय तहसँगको समन्वय सबै भएकै हो। अबका दिनमा पनि यसलाई अझै प्रभावकारी बनाउनेमा हामी लागिपरेका छौं।

    कोरोनाको संक्रमण देखिनुपूर्व भएको तयारी पछिल्‍लो अवस्थामा देखिएन भन्न‍ गुनासो नागरिकले गरिरहेका छन्‌, यतिसम्म कि यहाँहरूकै कारणले बिरामीलाई उपचार गर्न ल्याउन ढिलाई भएको भनिएको छ, आलोचना नै हुने गरी किन ढिलाई गर्नुभएको?

    म तपाइँलाई के स्पष्ट पार्न चाहन्छु भने हामीले ढिलाई गरेको होइन। यो सबैबीच समन्वय र छलफल गरेर अघि बढाउनुपर्ने विषय भएकाले केही समय छलफलमा पक्कै लागेको हो। ढिलो भएको हो। तर अरु कारणले ढिलाइ भएको होइन। हामी समन्वयकारी भूमिकामा थियौं। यसलाई अन्यथा नबुझिदिन तपाईंमार्फत म सबैमा अनुरोध गर्दछु।

    पहिलोपटक संक्रमित भेटिँदा अस्पताल र दोस्रोमा यहाँहरू तयार हुनुभएन भन्ने आरोप छ त!

    पहिलोपटक भेटिएका संक्रमितको मामिलामा अस्पताल प्रशासन स्वयं पनि त तयारी हुनुपर्ने हुन्छ। उहाँहरूले सहयोग नगरेको भन्ने होइन। अहिले उहाँहरूले नै अहिले उपचार गरिरहनुभएको छ। उहाँहरूको काम सह्रानीय नै छ। सबैले मिलेर गरेको भएर नै राम्रो काम भैरहेको छ।

    कोरोना रोकथामका लागि भन्दै थुप्रै संयन्त्रहरू बनेका छन्, छलफल र तयारी त पहिल्यै हुनुपर्ने होइन र? खटिनुपर्ने बेला छलफल किन?

    अवश्य पनि थियो, यसमा हामी तयार नै थियौं। चार शय्याको आइसोलेशन तयार नै थियो। त्यसका लागि बिरामी ल्याइसकेपछि उहाँहरूको सहजताका लागि अपनाउनुपर्ने सावधानीको बिषयमा छलफल त गर्नैपर्‍यो। त्यसका लागि केही समय लाग्यो। 

    जिल्ला कमाण्ड पोष्टले चाहिँ यतिखेर के गरिरहेको छ?

    कोरोना रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण कामहरू जिल्ला कमाण्ड पोष्टले  गरिरहेको अवस्था छ। यहीँकमाण्ड पोष्टबाट पनि विभिन्न तहसँग छलफल, समन्वय र सहकार्य गरी काम अघि बढाइएको छ।

    हाम्रो तथ्यांक अनुसार अहिलेसम्म जिल्लामा विदेशबाट सात सय ७८ जना आउनुभएको पाइएको छ। उहाँहरूलाई होम क्वारेन्टाइनमा बस्नको लागि अनुरोध गरिएको छ। त्यसैगरी आठ जना हामीले बनाएको क्वारेन्टाइनमा बसेको अवस्था छ। उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी र सुझाव दिने काम भैरहेको छ। जिल्लाको सम्पूर्ण स्वास्थ्य र गतिविधिको रिपोर्टिङ गर्ने काम पनि भैरहेको छ। 

    जोखिमपूर्ण देशबाट आएकालाई क्वारेण्टाईनमा राखेर १४ दिन निगरानी गर्न किन सकिराखेको छैनौं?

    नसकेको भन्ने होइन। म यो स्पष्ट पार्न चाहन्छु कि उहाँहरूको 'ट्रेसिङ' गरिरहँदा ज्वरो नआएको, खोकी नलागेको जस्ता कुनैपनि लक्षण नदेखिएपछि हाम्रा साथीहरूले होम क्वारेन्टाइनमै राख्नका लागि अनुरोध गर्नुभएको हो।

    उहाँहरू आरामै रहेकाले क्वारेन्टाइनमा ल्याउन नपरेको हो। अहिले पनि स्वास्थ्यकर्मीले निगरानी गरिरहेको अवस्था छ। यदि त्यस्तो समस्या देखापरे तत्काल जाँचको व्यवस्था हुन्छ। 

    कोरोना पुष्टि भएका दुवै महिलामा पनि शुरूमा लक्षण देखिएको थिएन, तर संक्रमण पुष्टि भयो, लक्षण नै नदेखिएको भनेर मानिसलाई छाडिदिँदा भयावह स्थिति निम्तियो भने के गर्ने?

    ६५ वर्षीया आमा विदेशबाट फर्किनु भएको भनेपछि उहाँ चाहिँ छुट्टै होम क्वारेन्टाइनमा बस्नु भएको छ। अनि उहाँहरूको 'स्वाब टेष्ट'को लागि गएको र उहाँहरूमा संक्रमण देखिएपछि भर्ना भएको अवस्था हो।

    सुरक्षा, स्वास्थ्यकर्मी र कठिन परिस्थितीमा खट्ने सरोकारवालाको सुरक्षाका लागि के गरिरहनुभएको छ?

    अहिले सुरक्षा निकायका साथीहरू दत्तचित्त भएर लाग्नुभएको छ। उहाँहरूको सुरक्षाका लागि पूर्ण बन्दोबस्ती चाहिँ गर्न सकिएको छैन।

    उहाँहरू आफैँ सुरक्षित भएर काम गरिरहनुभएको छ। अझै भनौं : व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नपाएपनि ज्याकेट लगाएरै उहाँहरूले काम गरिरहनुभएको छ। अहिले मास्क र सेनिटाईजरको अभाव छैन। सबैले त्यसको प्रयोग गर्नुभएको छ। कतै न कतैबाट केही व्यवस्था गरिएकै छ।

    सरोकारवाला निकायका बीचको समन्वय कत्तिको प्रभावकारी छ?

    समन्वय राम्रो छ। न्यानो सम्बन्ध भएका कारणले नै हामी एकआपसमा समन्वय गरेर काम गर्दै आएका छौं। टिम नै कोरोनाविरुद्व लागेका छौं। सबै लाग्नुपर्ने बेला हो। संकटको समयमा सबैको भूमीका अपरिहार्य हुन्छ। म तपाईंलाई स्पष्ट पार्न चाहन्छु : सम्बन्धित सबै सरोकारवाला एकआपसमा लागेका कारणले नै हामी यहाँसम्म आएका छौं। यसमा कुनै किसिमको समस्या छैन। 

    राहतमा एकद्वार प्रणाली अपनाउने भन्ने थियो, बागलुङमा के छ? अत्यावश्यक बस्तु सहजै उपलब्ध गराउन के भइरहेको छ?

    सुरूका दिनमा केही समस्या भएपनि अहिले राहत वितरणमा एकरूपता भएको पाइएको छ। राहतको लागि स्थानीय पालिकाबाट पनि समन्वय भइरहेको छ। हामीले सञ्चारमाध्याममार्फत विपन्न र दैनिक मजदुरी गरेर खाने जिल्लाबासीलाई नछुट्न आग्रह गरिरहेका छौं।

    आपुर्ति सम्बन्धि एउटा समिति छ। त्यसमार्फत हामीले उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता मञ्च लगायत यहाँका सरोकारवालासँग बसेर छलफल गरेका छौं। सम्बन्धित व्यापारीसँग सम्पर्क भइरहेको छ। उहाँहरूले जिल्लामा अभाव नरहेको भन्नुभएको छ। ग्यास पनि आइपुगेको छ। सहजीकरण गरेपछि खाद्यान्न लिन भैरहवा जानुपर्ने अवस्था अन्त्य भएको छ।

    हामीलाई प्राप्त जानकारी अनुसार जिल्लामा खाद्यान्नको अवस्था दुई महिनाको लागि पुग्ने भन्ने छ। हामीले अत्यावश्यक बस्तुको वितरणका लागि पासको व्यवस्था गरेका छौं। अझै उहाँहरूलाई पास नै चाहिँदैन। मात्रै कुरा के हो भने दुध, पानी, खाद्यान्न, तरकारी बोक्ने वहानामा मान्छे बोक्न भएन। त्यस्ता ढुवानीका साधनलाई त्यसो नगर्नुहुन अनुरोध छ। अत्यावश्यक बस्तुको उपलब्धता र ढुवानीमा कुनै पनि अवरोध छैन र हुँदैन पनि।

    अत्यावश्यक बस्तु बोक्ने सवारीलाई अन्तरपालिका रोकावट भएका गुनासा पनि आएका छन् नि!

    सुरूका दिनमा जसरी पालिकाले यदाकदा गर्‍यो भन्ने हामीकहाँ आएको थियो। पछि हामीले त्यो विषय खोज्यौं। अहिले त्यो खालको समस्या छैन। अत्यावश्यक बस्तु तथा सेवाहरू कसैले पनि रोक्न मिल्दैन। संकटसँग सबै मिलेर नै जुध्ने  हो। 

    'र्‍यापिड टेष्ट'को तयारी कहाँ पुग्यो?

    सामग्री आउँदै गरेको जानकारी प्राप्त भएको छ। त्यसका लागि स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंको नेतृत्वले तयारी गरिरहेको छ। यसमा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट शैलेन्द्र पोखरेलको नेतृत्वमा रहेको टिम पनि तयार छ। टेष्टको लागि टिमले ''म्यापिङ' गर्नुभएको छ। संक्रमितका परिवार सबैको परीक्षण नतिजा 'नेगेटिभ' आइसकेको छ। उहाँहरूले सम्पर्क गरेका व्यक्तिको पहिचान भैसकेको छ।

    विदेशबाट आएका र उनीहरूको सम्पर्कका सबैको पहिचान भएर तयारी भएको अवस्थामा उहाँहरूले स्थानीय पालिकासँग समन्वय गरेर जतिसक्दो छिटो यो काम गर्नुहुन्छ। त्यसमा हामीले के गर्नुपर्छ तयार नै छौं। 

    कोरोना संक्रमण फैलन नदिन नागरिकतहबाट के गर्नुपर्छ?

    लकडाउन लम्बिएको छ। यस अवस्थामा सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु : यहाँहरूले देखाइरहनु भएको लकडाउनको पालना हाम्रै लागि हो। हामी सचेत भएर नै आफू र अरूलाई सहयोग गर्न सक्छौं। यसलाई थप कडाइका साथ पालना गर्न अनुरोध छ। अलिकति ख्याल गर्दा मात्रै पनि हामी महामारीबाट जोगिन सक्छौं।

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]