|

गुल्मी : देश 'लकडाउन' रहेकै बेला गुल्मी धुर्कोट गाउँपालिका ५ का भागीरथ सिजललाई चैते धान रोप्नका लागि भ्याई-नभ्याई छ।

सिजलको घर धुर्कोट गाउँपालिकामा भएपनि खेत भने इश्मा गाउँपालिकाको दर्लामचौर घुम्बुफाँटमा रहेकाले कृषि श्रमिक खोज्न र सबै जोहो गर्नका लागि समस्या भइरहेको छ। बिहानै उठेर गोरु, हली र श्रमिकको व्यवस्था गरी खेततर्फ लागेको उनले बताए।

तर किसानहरूले साविक समयमा जस्तो निर्धक्क भएर कृषिकर्म गर्न पाइरहेका छैनन्‌। कोरोना संक्रमणको चपेटामा आफूहरू पनि परिने हो कि भन्ने त्रासकै बीच डराइ-डराइ खेततर्फ गइरहेका किसानहरूलाई अर्को चिन्ता पनि छ : खेत नरोपे त भोकै बस्नुपर्ला ! त्यसैले आफूहरूले जाने र सकेजति सतर्कता अपनाएरै खेतबारीमा काम गरिरहेका छन्‌।

कोरोना त्रासकै कारण घुम्बुफाँटमा यसपटक धान रोपाइँमा समेत विलम्ब भएको छ। कतिपय किसानले चैतमै रोप्नुपर्ने धान वैशाख पहिलो सातामा मात्रै रोपिरहेका छन्‌। 

राजधानी र बुटवललगायत शहरबाट गाउँ फर्किएका युवाहरू पनि धान रोपाइँमा व्यस्त देखिएका छन्‌। स्थानीय युवा भीम मुखियाले दुई वर्षअघि यही फाँटमा यसरी नै धान रोपेको र त्यसयता अहिले त्यसैगरी काम गर्न पाउँदा आनन्द लागिरहेको बताए। 

कतिपय स्थानमा पुरूषले गह्रा सम्याउने र धान रोप्नका लागि जमिन मिलाउने गरेपनि धान भने महिलाले नै रोप्ने गर्छन्‌। तर यसपटक यहाँका पुरूषहरू पनि महिलासँगै हार मिलाएर धान रोपिरहेका छन्‌।

धान रोपाइँमा खटिने कृषि श्रमिकले दिनको ३०० रुपैयाँ ज्याला पाउने गरेका छन्‌। गाउँमा बसेपछि मेलापात गर्नुपर्ने र गाउँमा चलन-चल्तीमा रहेको ज्याला लिने गरेको धुर्कोट ५ कै सरिता मुखियाले जानकारी दिइन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.