|

मकवानपुर : लकडाउन सुरू भएदेखि अर्थात चैत ११ गतेयता हेटौंडा अस्पतालमा १ सय ५० जना शिशुको जन्म भएको छ। अस्पतालले अन्य सेवा बन्द गरी आकस्मिक र प्रसूति सेवामात्र दिइरहेको छ। 

प्रसूति सेवा लिएका मध्ये १५ जनाको पूर्वनिर्धारित शल्यक्रिया गरिएको थियो भने २३ जनाको आकस्मिक शल्यक्रिया गर्नुपरेको हेटौंडा अस्पताल प्रशासनले जनाएको छ।

कोरोना त्रास बढिरहेका बेला पनि अस्पतालका स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर सुत्केरी स्याहारिरहेका छन्‌। तर, कोरोना संक्रमित भेटिएका जिल्लाबाट पनि प्रसुती सेवा लिन आउने बढेपछि जोखिम महशुश हुन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्‌। 

पर्सा, रौतहट र सप्तरी जिल्लामा कोरोना संक्रमित पहिचान भएलगत्तै यी जिल्लाबाट पनि प्रसुती सेवाका लागि हेटौंडा अस्पताल आउने सेवाग्राही बढेका हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिए। उनका अनुसार सम्बन्धित जिल्लामै प्रसुती सेवा उपलब्ध भएपनि त्रासका कारणले हेटौंडा नै आउँदा जोखिम महशुश गरिएको हो।

चैत २९ गते पछिका चार दिनमा ३८ जना गर्भवतीले हेटौंडा अस्पतालमा प्रसुती सेवा लिएका छन्‌। यी मध्ये मकवानपुर जिल्लाका २४, रौतहटका पाँच, बाराका चार र पर्साका दुई जना गर्भवती रहेका छन्। यस्तै धनुषाका एक जना र रामेछापका दुईजनाले हेटौंडा अस्पतालमा प्रसुती सेवा लिएका छन्। 

आफन्त धेरै आउँदा त्रास

गर्भवती महिलासँगै धेरै संख्यामा उनका आफन्तसमेत आउने गरेका छन्‌। यसले कोरोना संक्रमणको त्रास र जोखिम झनैए बढाएको छ।

एक जना गर्भवतीसँग ६ जनासम्म आफन्त आउन थालेपछि हैरानी खेपेको अस्पतालले सम्बन्धित जिल्लामै सम्भव रहेका उपचारका लागि हेटौंडा आउने क्रम रोकिदिन र प्रवेशमै रोक लगाइदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगै बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालयसँग समेत आग्रह गरेको छ।

१० जना किशोरी 'आमा' बने

अस्पतालमा सुत्केरीमध्ये १० जना २० वर्षभन्दा कम उमेरका र किशोरीहरू रहेको अस्पतालले जानकारी दिएको छ। 

२० वर्षभन्दा कम उमेरमा विवाह नै नमानिने कानूनी व्यवस्था भए पनि २० वर्षभन्दा कम उमेरमै प्रसुती सेवा लिन आउने स्थिति कायमै रहेको हेटौंडा अस्पतालका महिला स्वास्थ्य विशेषज्ञ डा. राम काजी महर्जनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.