|

काठमाडौं : मुलुक लकडाउन भएको पनि झण्डै चार साता पुग्न लागेको छ। दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौतीका रुपमा अहिले कोरोना प्रभावले विश्वमा संकट देखिन थालेको छ। संयुक्त राष्ट्रसंघले त यो महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै विगतमा नआएको मन्दी आउन सक्ने बताइसकेको छ।

विश्वमा महामारीको रुपमा फैलिएको यही कोरोना भाइरसको संक्रमणले नेपालको आर्थिक संवाहकको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरूलाई नराम्ररी थला पारेको छ। नेपाल सरकारले लागू गरेको लकडाउनका कारण स–सानो पुँजीमा सञ्चालन गरिने यस्ता उद्योग व्यवसायहरू नै बढी मात्रामा प्रताडित भई बन्द अवस्थामा पुगेका छन्।

यसैबीच साना तथा घरेलु उद्योगमा उद्योगीहरूले के कस्ता समस्या भोगिरहेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

लकडाउनले साना उद्योगमा के कस्तो समस्या परेको छ?

यो लकडाउनले आहिले साना उद्योगहरूलाई ठूलो मार परेको छ। जहिलेदेखि उद्योग सञ्चालन भयो त्यस बेलादेखि अहिलेसम्म यस्तो समस्या कहिले परेको थिएन।

व्यवसायीहरू धेरै कठिनाइमा बाँच्नुपरेको छ। हामीले ६ महिनाको बन्द पनि हेर्‍यौं तर त्यसमा पनि यस किसिमको कठिनाई भएको थिएन। यस्तो अफ्ठ्यारो अवस्था थिएन। अहिले हामीले उद्योग हेर्ने मात्र भएको छ। उद्योग हो सम्पत्ती हो तर त्यो सिसाको घर भित्रको खाने कुरा जस्तै भएको छ। हेर्न सक्ने खान नसक्ने। उद्योगभित्र जान नसक्ने अवस्था छ। 

हामीले सरकारलाई विभिन्न समयमा सुझाव दिँदै आएका छौँ। कतिपय कुरा गर्न बाँकी छ। हामीलाई सबैभन्दा ठूलो समस्या भनेको बैंकको ब्याज तिर्न हो। यो लकडाउनको अवधि कहिलेसम्म हो भनेर एकिन नभएको अवस्था छ।

उद्योग सञ्चालन छैनन्, उत्पादन छैन, बैंकबाट ल्याएको ऋणको ब्याज तिर्न सक्ने अवस्था छैन, कामदारहरू आफ्नो आफ्नो घर गईसकेका छन, उद्योग सञ्चालनको अवस्था छैन। जबसम्म उद्योग सञ्चालन हँुदैन तबसम्म आयआर्जन गर्न सकिँदैन।

हामीमाथि आश्रित परिवार पालन पनि कठिन छ। हामीले उत्पादन गरेका वस्तुहरू नेपाल सरकारलाई लागत भन्दा १० देखि १५ प्रतिशतसम्म छुट दिएका छौँ किन भने यो देश हाम्रो पनि हो। यस्तो अवस्थामा हामीले पनि सहयोग गर्नुपर्छ।

तर पनि हाम्रो अवस्था कस्तो छ भने ब्याज थपिदैछ, बिजुलीको न्यूनतम मूल्य तिर्नुपर्ने हुन्छ, कामदारहरू लाइ तलब भुक्तानी गर्नुपर्छ, स्थानीय कर पनि तिर्नैपर्छ। यस्ता समस्या छन्। भोलिका दिनमा यो अवस्था सामान्य हुन कम्तिमा छ महिना देखि एक वर्ष लाग्न सक्छ।

यी समस्या समाधानका लागि के गर्दै हुनुहुन्छ?

हामीले सरकारलाई विभिन्न समयमा सुझाव दिँदै आएका छौँ। कतिपय कुरा गर्न बाँकी छ। हामीलाई सबैभन्दा ठूलो समस्या भनेको बैंकको ब्याज तिर्न हो। यो लकडाउनको अवधि कहिलेसम्म हो भनेर एकिन नभएको अवस्था छ।

यस्तो अवस्थामा बैंकको सावा र ब्याजलाई एक किस्ता मानेर अर्को असार मसान्तसम्म किस्ता बन्दीमा तिर्ने व्यवस्था गर्नुपर्‍यो।

अर्थतन्त्र नै धाराशायी भएपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था नभएकै हो त?

हामीसँग भएको पुँजी हामीले व्यवसायमा लगाइसक्यौँ हामीलाई पुनः कर्जाको पनि आवश्यकता पर्दछ सरकारले व्यवसायीको चुक्ता पुँजीको ७० प्रतिशत सहुलियत ब्याज दरमा पाउनुपर्छ। सबै उद्योगहरू आफ्नो घरमा नभएर भाडामा बसेको अवस्था छ।

अब घरको भाडा पनि तिर्नुपर्‍यो। सरकारले घर भाडा नलिनु भन्दैमा घर धनीले मान्ने अवस्था छैन। घर भाडा छुट दिनलाई घर धनीलाई पनि सरकारले घर बहाल करमा छुट दिएको खण्डमा घर धनीले उद्योगको घरभाडा छुट दिन सक्ने अवस्था छ। कम्तीमा पनि ६ महिनाको घर भाडा छुट दिनुपर्दछ।

उद्योगीहरूको पनि त भूमिका होला नि यस्तो विषम परिस्थितिमा?

पक्कै पनि हाम्रो भूमिकामा पनि हामी प्रष्ट छौं। अहिले बजारमा खासगरी मास्क, स्यानिटाइजरलगायका वस्तुको मागलाई मध्यनजर गर्दै हाम्रा उद्योग र उत्पादनलाई केन्द्रित गरेका छौं। मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरूलाई सक्रिय बनाएको छ।

नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई परिचालित गरेका छौं।

 राहत सम्बन्धित मान्छेले पाउनेभन्दा पनि आफ्ना मान्छेले पाएको गुनासो आएपछि हामीले नेपाल घरेलु तथा साना उद्योग महासंघजस्ता छाता संगठनहरूको मातहतमा प्रभावकारी ढंगले राहत वितरण गर्न नेपाल सरकारलाई पनि भनिसकेका छौं।

यसका लागि चाहिने स्थानीयस्तरबाट उत्पादित आधारभूत सामग्रीहरू जुटाउन पहल गरी प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा सम्बन्धित निकायलाई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन महासंघले सबै स्थानीय, जिल्ला तथा प्रदेश समितिहरूलाई अनुरोध पनि गरेका छौं।

साथै दैनिक कामकाज गरी जीवन गुजारा गर्ने मजदुर वर्गलाई नेपाल सरकारले लागू गरेको देशव्यापी लकडाउनबाट जीवन निर्वाह गर्न मुश्किल भएको वर्तमान अवस्थामा त्यस वर्गलाई लक्षित गरी राहतको प्याकेजका लागि पनि ठाउँ ठाउँमा काम गरिरहेका छौं।

उद्योगधन्दा तथा श्रम बजारमा बेरोजगारी समस्या पनि बढ्ने भयो नि होइन?

अहिले बजारमा दक्ष जन शक्तिको अभाव छ। यस बेलामा सरकारसँग श्रम स्वीकृत लिएर विदेश जाने दक्ष जन शक्तिलाई उचित मुल्याङ्कन गरेर हाम्रो उद्योगहरूमा राख्न हामी तयार छौं। विदेशमा जस्तो उच्च ज्याला दिन नसके पनि व्यवसाय हेरेर हामी रोजगार दिन तयार छौं।

अहिले सरकारले बाँडेको राहात प्रभावकारी नभएकोले सम्पूर्ण साना उद्योगहरूमा गएर डाटा सङ्कलन गरेर व्यवसायीहरूको रोहबरमा कतै पनि तल माथि हुन् नदिने गरि तिनीहरूलाई पनि राहातको व्यवस्था हुनुपर्दछ। व्यवसायीहरूले सरकारलाई कर बुझाउछौं।

यस्तो, प्रकोप परेको बेलामा राहत दिनु पर्दछ। राहत सम्बन्धित मान्छेले पाउने भन्दा पनि आफ्ना मान्छेले पाएको गुनासो आएको हुनाले हामी नेपाल घरेलु तथा साना उद्योग महासंघजस्ता छाता संगठनहरूको मातहतमा राहत वितरण गर्दा प्रभावकारी हुन्छ र यो कुरा हामीले नेपाल सरकारलाई पनि भनि सकेका छौं।

लघु, घरेलु तथा साना उद्योगहरूको पछिल्लो अवस्था कस्तो छ नि?

नेपालमा चार लाख ५२ हजारभन्दा बढी उद्योगहरू छन् र सबैले उद्योग दर्ता गरिसकेको अवस्था छैन। दर्ता गरेका उद्योगहरू नवीकरण भएका छैनन्। यो लकडाउन सकिएपछि केही समय थपेर सम्पूर्ण उद्योगलाई दर्ता गर्न दिने, नवीकरण गर्न दिनु पर्दछ।

अहिलेको अवस्थामा तीनदेखि चार लाख उद्योगहरू बिना दर्ता चलिरहेका छन्। त्यस्ता उद्योगहरूसँग दर्ता भएका उद्योगहरूले प्रतिस्पर्धा गर्न सक्दैनन्। दर्ता भएका उद्योगहरूले कर बुझाउनुपर्छ। त्यसैले सररकारले सम्पूर्ण उद्योगहरूलाई दर्ता गरेर मात्र सञ्चालन गर्न दिनुपर्दछ। नविकरण गर्न नपाएका उद्योगहरूलाई समय थप गरेर न्यूनतम जरिवाना लिएर नवीकरण गर्न दिएको खण्डमा उद्योगहरूलाई सहुलियत हुने थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.