एसइई नतिजा आन्तरिक मूल्यांकनकै आधारमा हुन सक्ने

|

रुपन्देही :  लकडाउनका कारण रोकिएको पठनपाठनलाई नियमित गराउन प्रदेश ५ सरकारले दूर शिक्षाको तयारी थालेको छ। सामाजिक विकास मन्त्रालयले स्थानीय सरकारहरुसँग समन्वय गरेर ‘भर्चुअल’ कक्षा सञ्चालन गर्ने तयारी थालेको हो।

कक्षा ९ भन्दा तलका कक्षाहरुको तत्काल नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रका कक्षाहरु चलाउने ध्येयअनुसार भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए। 

‘इन्टरनेट पहुँच हुने स्थानामा भर्चुअल कक्षा सञ्चालन गर्ने योजना छ, पहुँच नहुने स्थानमा रेडियोबाट वा अभिभावकबाटै पठनपाठन गराउनका लागि त्यस्तै किसिमका पुस्तकहरु तयार गरिदैंछ’ उनले भने। प्रदेश ५ मा ५ हजार ७ सय विद्यालयमा करिब ११ लाख विद्यार्थी छन्।

मन्त्री बरालले दूर शिक्षाको अभ्यास गरिरहेका स्थानीय तहहरुलाई अनुदान दिएर थप सघाइने बताए।

लकडाउनपछि प्रदेश ५ का ११ हजार विद्यार्थीको पठनपाठन रोकिएको छ। हालसम्म परीक्षाको नतिजा समेत प्रकाशित नभएकाले विद्यार्थीले नयाँ शैक्षिक सत्रको अध्ययन सुचारु गर्न सकेका छैनन्।

तर, कतिपय स्थानिय सरकार र विद्यालयले आफ्नै सक्रियतामा ‘भर्चुअल’ कक्षा सञ्चालन गरिरहेका छन्। रुपन्देहीका तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिकालगायतका केही स्थानिय सरकारहरुले माध्यमिक शिक्षा परिक्षा(एसईई) तयारी गरिरहेका विद्यार्थीलाई लक्षीत गरेर यस्ता कक्षाको थालनी गरेका हुन्।

यस्ता स्थानिय सरकारहरुले अनलाइन, टेलिभिजन र रेडियोबाट पठनपाठन गराइरहेका छन्। यद्यपी, विपन्न समूदायका विद्यार्थीमा त्यस्ता सुबिधा पुग्न नसकिरहेको गुनासो आईरहेका समयमा प्रदेश सरकारले यस्तो कदम चालेको हो। ‘साना कक्षामा कसरी पठाउने भन्ने चुनौतिहरु छन, त्यसमा अभिभावक नै पहिलो शिक्षक हुन सक्छन’, मन्त्री बरालले भने।

सामाजिक विका मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीका अनुसार सहपाठी शिक्षण बिधिबाट अध्यापन गराउने योजनामा पनि छलफल भइरहेको छ। यो योजनामा आफ्नै साथी बढाउने वा माथिल्लो कक्षाकाले तल्लो कक्षाकालाई पढाउने बिधि अपनाइन्छ। इन्टरनेट पहुँच नभएका स्थानमा स्वयमसेवक शिक्षकको समेत व्यवस्थापन गर्न सकिने मन्त्रालयको योजना छ।

सामाजिक विकास मन्त्रालयले पठनपाठनका लागि मोवाइल एप निर्माण गरिरहेको छ। मन्त्री बरालले त्यो एपबाट विद्यार्थीलाई दैनिक गृहकार्य गराउने र शिक्षकले चेक गर्ने व्यवस्था समेत हुने बताए। एप सञ्चालन हुन सक्ने क्षेत्रको अध्ययन भइरहेको मन्त्री बरालले बताए।

आन्तरिक मूल्यांनकै आधारमा एसई नतिजा आउन सक्ने

संघीय सरकारले एसईईकै विषयमा निर्णय लिन नसकेपछि प्रदेश र स्थानीय सरकारहरु अन्योलमा पनि छन्। एसईईको परीक्षा नगरी आन्तरिक मूल्यांकनको अंककै आधारमा विद्यार्थीलाई नतिजा दिनुपर्ने विषयमा छलफल भएको छ।

सामाजिक विकासमन्त्री बरालले यही सुझाव संघीय सरकारलाई दिएको बताए। ‘होम सेन्टरमै परीक्षा लिने भन्ने पनि योजना छन्, केही उपाय नभए आन्तरिक परीक्षाकै आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्न सकिने विकल्प छ’, उनले भने।

पाठ्यपुस्तक वितरणको तयारी

पाठ्यपुस्तक वितरणको तयारी समेत गरिएको मन्त्रालयले जनाएको छ। चैत पहिलो साता नै लकडाउन भएका कारण नयाँ पुस्तकहरु बजारमा आइसकेका छैनन्। पुस्तक व्यवसायीहरुले ढुवानी अनुमति दिए सुरक्षित रुपमा पुस्तक वितरण गर्न सकिने जनाउदै आएका छन्।

विद्यालय तहको नतिजा प्रकाशन गरेर पुस्तक वितरण मात्रै गर्न सके विद्यार्थीको पठनपाठनमा त्यति असर नपर्ने अभिभावकहरुले बताउदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.