|

काठमाडौं : नेपाली सेनाले सम्झौताबमोजिमको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसक्ने भएको छ। सेनाले चीनबाट कोरोनासम्बन्त्री मेडिकल सामग्री मे ५ तारिखसम्म ल्याइसक्ने सम्झौता गरेको थियो।

चीनमा मे १ देखि ५ तारिखसम्म सार्वजनिक बिदा भएका कारण ग्वान्जाउ विमानस्थलमा काम गर्न नसकिने भएपछि समयमै सामग्री ल्याउन नसकिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

नेपालमा ढिलोमा मे १३ तारिखसम्ममा स्वास्थ्य सामग्री आइसक्ने उनले जानकारी दिए। चीनबाट नक्कली सामान गइरहेको भन्ने भएपछि अप्रिल १० तारिखबाट पूर्ण रूपमा स्वास्थ्य सामग्री गुणस्तरयुक्त छ कि छैन भनेर परीक्षण गरेर मात्र पठाउने भएकोले राम्रो सामान आउनेमा उनले विश्वास व्यक्त गरे। उनका अनुसार भन्सारमा सामानको परीक्षण गर्न ७२ घन्टा लाग्छ।

चीनबाट अन्य देशमा सामग्री गइरहेकोले पनि केही प्राविधिक कारणले ढिलो हुनसक्ने उनले जानकारी दिए। 'चीनबाट सामान पठाउनका लागि नेपाल ८१ औँ स्थानमा परेको छ,' उनले भने। स्वास्थ्य सामग्री ल्याउनको लागि ग्वान्जाउ विमानस्थलमा हवाई ट्राफिक जाम भएकोले अर्को विमानस्थलको खोजी भइरहेको पनि उनले बताए।

नेपाल सरकारको तर्फबाट चीन सरकारलाई समयमै स्वास्थ्य सामग्री पठाइदिन पहल गरिरहेको उनले बताए। 'चीनस्थित नेपाली दूतावासले छिटो औषधि पठाउनको लागि पहल गरिरहेको छ,' उनले भने।

स्थलमार्ग र हवाई मार्गबाट सामान ल्याउने सेनाको भनाइ छ। 'प्रवक्ता पाण्डेले भने,'पिपिई, एन नाइन्टी फाइभ मास्क, चस्मा, पन्जा र पिसिआर परीक्षण किट ल्याइने भएको छ।' ३७ टन सामग्री हवाइ मार्गबाट ल्याइने पाण्डेले जानकारी दिए।

चीनको सिनो फार्मबाट ‌औषधि ल्याउन लागिएको हो। नेपाली सेनाले फ्लास फ्रेइट लजिस्टिक कम्पनीमार्फत ग्वान्जाउबाट मेडिकल किट्स ल्याउनका लागि नेपाल वायु सेवा निगमसँग समन्वय गरेको थियो। सम्झौता मिति मे ५ तारिखसम्म सामग्री ल्याउन नसक्ने प्रवक्ता पाण्डेले बताए।

सेनाले औषधि र विभिन्‍न स्वास्थ्य सामग्री खरिदका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकन डलर अप्रिल ७ तारिखमा चीन पठाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.