संक्रमित सबै भारतबाट आएका

|

बुटवल : बुटवलको धागो कारखानामा बनाइएको कोरोना विषेश अस्थायी अस्पतालमा बेड अभाव भएको छ। रुपन्देही र कपिलवस्तुमा एकै दिन (मंगलबार) १७ जना संक्रमित थपिएपछि बेड अभाव भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए। 

‘हामीलाई आजै बिरामी राख्न समस्या छ। थप बिरामी कहाँ राख्ने भनेर सोच्नुपर्ने अवस्था आएको छ,’ उनले भने। बुटवलबाहेक रुपन्देहीको भैरहवामा पनि आइसोलेसन अस्पताल छ। तर, हाललाई उक्त अस्पतालमा बिरामी भर्ना गरिएको छैन। बुटवलको अस्पतालले बिरामी थेग्न नसक्ने भएपछि भैरहवाको अस्पतालमा पनि बिरामी भर्ना गर्नुपर्ने अवस्था आएको उनले बताए। 

उक्त कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा ३६ र आइसियुतर्फ थप ८ वटा बेड मात्र छन्। यी दुई जिल्लाका बिरामीलाई बुटवलकै अस्पतालमा राखिएको छ। हाल उक्त अस्पतालमा २८ जना संक्रमित छन्। यीमध्ये रुपन्देहीका ७ र कपिलवस्तुका २१ जना छन्। हाल कोरोना अस्पतालमा आइसोलेसनतर्फ ८ वटा बेड मात्र खालि छन्। 

भैरहवाको भीम अस्पतालमा बनाइएको आइसोलेसनमा ५ वटा बेडसँगै २२ वटा साधारण बेड पनि छन्। तर, नयाँ संक्रमितलाई भने त्यहाँ भर्ना लिने निर्देशन नआएको भीम अस्पतालका चिकित्सक डा. सुमित प्रजापतीले बताए। ‘यहाँ बिरामी ल्याउने तयारी चलिरहेको छ। निर्देशन आएपछि बिरामीहरुलाई भर्ना गर्न सुरु गरिन्छ,’ उनले भने। 

बुटवलमा बेड अभाव भएपछि बेडको संख्या बढाउने तयारी चलिरहेको छ। प्रदेश ५ का सामाजिक विमास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले अस्पतालमा बेडको संख्या बढाउने तयारी चलिरहेको बताए। ‘आइसोलेसनलाई २ सय शैयाको बनाउने तयारी चलिरहेको छ,’ उनले भने। 

कोरोना अस्पतालमा अहिले ४० जना जनशक्ति छन्। संक्रमित बढ्दै गए जनशक्ति पनि अभाव हुने अस्पतालका कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए। ४० जनामध्ये कन्सल्टेन्ट, मेडिकल अफिसर, नर्सिङ स्टाफ, ल्याब, पारामेडिटिक्स र सहयोगी गरी एक दिनमा १२ जना स्वास्थ्यकर्मीहरु परिचालित छन्। 

एक हप्ता कोरोना अस्पतालमा काम गरेपछि स्वास्थ्यकर्मी २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। कन्सल्टेन्टबाहेक १० जना स्वास्थ्यकर्मीलाई सिफ्ट परिवर्तन गरी क्वारेन्टाइनमा राखिएको छ। 

१७ संक्रमित भारतबाट आएका 

प्रदेश ५ मा मंगलबार भेटिएका ७ जना कोरोना संक्रमितहरु सबै भारतबाट लुकिछिपी आएको खुलेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेका संक्रमितमध्ये रुपन्देहीका ९ र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ।

कपिलवस्तुका ८ जना नै यशोधरा गाउँपालिकाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। पोजेटिभ देखिएका लुकिछिपी नेपाल प्रवेश गरी क्वारेन्टाइनमा बसेका थिए।

रुपन्देहीमा भेटिएका ९ जना लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकाका रहेका निर्देशनालयले जनाएको छ। उनीहरु पनि भारतबाटै लुकेर आइ क्वारेन्टाइनमा बसेका थिए। 

प्रदेशमा आज थपिएका १७ सहित संक्रमितको संख्या ७० पुगेको छ। तीमध्ये ४७ जना नै लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेका हुन्। पछिल्लो तीन दिनमा कपिलवस्तु र रुपन्देहीमा करिब १५ सय नागरिक नेपाल छिरेको बताइएको छ। तीमध्ये अहिलेसम्म करिब साढे तीन सय जनाको कोरोना परीक्षण भएको छ।

संक्रमित सबै भारतबाट आएका हुनाले उनीहरुको ट्राभल हिस्ट्री र क्लोज कन्ट्याक्ट लिएर सतर्कता अपनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। 

कपिलवस्तुका ८ जना एउटै नगरपालिकाका 

कपिलवस्तु जिल्लामा मंगलबार संक्रमण पुष्टि भएका ८ जना एउटै नगरपालिकाका रहेको खुलेको छ। उनीहरु कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४,५,६,७ र ८ का एक÷एक जना हुन्। संक्रमित सबै १९ वर्षदेखि ३६ वर्षका छन्। यसअघि सोमबार मात्र यशोधरा गाउँपालिकाका १२ जना र बुद्धभूमि नगरपालिकाको ४ मा संक्रमण पुष्टि भएको थियो। जिल्लामा सक्रंमितको संख्या बढेर २९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.