|

डडेल्धुरा : प्रस्तावित ७५० मेगावाट क्षमताको बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको ‘बोलन्या थली’ धनगढीले दिउँसै टुकी बालेर सरकारको खोजी गरेको छ। 

डोटीको दिपायलस्थित सेती पुलमा बिहीबार दिउँसो ७ सय ५० टुकी बालिएको हो। आउँदो बजेटमा पश्चिम सेतीलाई समावेश गरी निर्माण थाल्नुपर्ने मागसहित दिउँसै टुकी बालिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए। 

सरकारले २८ वर्षदेखि आश्वासन दिएर पूरा नगरेकाले टुकी बालेर आफूहरूले सांकेतिक विरोध गरेको संयोजक जोशीको भनाइ छ। आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौँला? रिभर्स माइग्रेसनको व्यवस्थापन गरौँ! नारा पनि लगाइएको थियो।

दबाबमूक कार्यक्रममा डोटीका राजनीतिक दल, उद्योग व्यवसायी, विद्यार्थी संगठन, नागरिक समाजलगायतले ऐक्यबद्धता जनाएका थिए। आश्वासन अति भो, धैर्य गर्ने कति हो?, आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ?, हिजो आशा म¥यो, आज जवानी मर्दै छ, भोलि सपना मर्ने छलगायत नारासहित बोलन्या थलीले यसअघि कचौरा लिएर काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो।

थलीले सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर पश्चिम सेतीका लागि आवाज उठाउन आग्रह गरेको थियो। भेटमा देउवालाई अनुरोधपत्रसमेत बुझाइएको थियो। देउवाले पश्चिम सेतीबारे संसदमा कुरा उठाउने प्रतिबद्धता जनाएका थिए। तर, देउवाले संसदमा कुरा उठाएका छैनन्।

पश्चिम सेती वषौँदेखि अनिर्णयको बन्दी भए पनि सरकारीस्तरबाट चासो नदिइँदा झनै अलपत्र परेको छ। पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको २८ वर्ष बितिसकेको छ। तर, सरकारले औपचारिकरूपमा पश्चिम सेती निर्माणको कार्य अझै अघि बढाउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.