|

काठमाडौं : अभिनेत्री अनुष्का शर्मा निर्मित वेब सिरिज 'पाताल लोक'मा नेपाली महिलाबारे अपमानजनक शब्द प्रयोग भएको भन्दै 'लिगल नोटिस' पठाइएको छ। लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले नोटिस पठाउँदै कानुनी उपचार खोजेका हुन्।

'वेब सिरिजको एउटा क्लिपमा एक महिला प्रहरी एकजना नेपाली पात्रसँग सोधपुछ गरिरहेको देखिन्छिन्। त्यस क्रममा उनले नेपाली पात्रमाथि प्रयोग गरेको शब्द अपमानजनक छ। नेपाली भन्ने शब्द प्रयोग नभएको भए समस्या हुने थिएन। तर, त्यसपछि प्रयोग गरिएका शब्दहरू अस्वीकार्य छन्। अनुष्का यस सिरिजको निर्मात्री भएकाले उनलाई लिगल नोटिस पठाएका हौं,' गुरुङलाई उधृत गर्दै भारतीय अनलाइन दी क्विन्टले समाचार लेखेको छ।

यस प्रकरणमा अनुष्काले मुख खोलिसकेकी छैनन्। अनुष्काले जवाफ नदिए यो मामिला वेबसिरिज प्रशारण गर्ने अमेजन प्राइम भिडियो र निर्माणमा संलग्न अन्यसम्म पुग्ने गुरूङले बताए।

समाचारमा भारतको गोर्खा समुदायले पनि सिरिजमाथि कडा आपत्ति जनाएको उल्लेख छ। वेबसिरिजमा जयदिप अहलावत, गुल पनाग, नीरज कावी, अभिषेक बेनर्जीलगायतले अभिनय गरेका छन्। 

नेपालमै पनि भयो विरोध

नेपाली अभिनेत्रीहरूले पनि उक्त सिरिजमा नेपाली महिला पात्रमाथि प्रयोग भएको शब्दमाथि आपत्ति जनाएका छन्। 

अभिनेत्री रेखा थापा सामाजिक सञ्जालमा लेख्छिन्,'पाताल लोक नामक सिरिजमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरूमाथि जुन नीच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्तिजनक छ।' निर्माणपक्षले माफी माग्नुपर्ने र उक्त भिडियो रेकर्डबाट हटाउनुपर्ने उनको राय छ। 

अभिनेत्री ऋचा शर्माले पनि नेपाली महिलाको अपमान गरिएकोमा मन कुँडाएकी छिन्। फेसबुकमा उनी लेख्छिन्, 'त्यस्तो अपशब्द बोल्नेलाई पाठ सिकाउनुपर्दैन हामीले? अहिले नजागे कहिले जाग्नेर?'

अभिनेत्री केकी अधिकारीको पनि त्यस्तै राय छ। भन्छिन्, 'जसरी उनीहरूले हामीलाई बुझे त्यो कदापि माफीयोग्य छैन। तर, के हामी ठीक छौं? एकपटक आफूले आफूलाई पनि नियाल्ने कि?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.