चिकित्सकसँग अनलाइन वा फोनबाटै परामर्श

|

काठमाडौं : कोरोना भाइरसको त्रासले यतिखेर मुलुकभरका अस्पतालमा अत्यावश्यकबाहेक अन्य सेवा ठप्पजस्तै छ। केही अस्पतालका सेवा सुचारु भए पनि विभिन्न विभाग आंशिक रुपमा सञ्चालित छन्। कोरोनाको त्रासबाट बच्न यतिखेर धेरैले मिलेसम्म घरबाटै चिकित्सकसँग अनलाइन वा फोनबाट परामर्श लिन थालेका छन्।

मुलुकमा लकडाउन सुरु भएदेखि अस्पतालमा उपचार गर्न आउनेको संख्या कम हुँदै गएकाे छ। अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएका घटनाका हल्लापछि अस्पताल सुनसानजस्तै भएका छन्।

लकडाउनमा विभिन्न प्रकृतिका रोग भएको बिरामीलाई प्रभाव पार्ने देखिएको छ। सबैभन्दा बढी असर गर्भवतीमा पर्ने देखिएको छ। महिना-महिनामा गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। सवारीसाधन र अस्पतालका सेवा पूर्ण रुपमा सञ्चालित नहुँदा उनीहरुमा यसको प्रभाव पर्दै आएको छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा सुत्केरी हुन आउने महिलाको संख्या ह्वात्तै कम भएकाे तथ्या‌कले देखाएकाे छ। 

७५ प्रतिशत प्रभावित  : प्रसूति गृह थापाथली

थापाथलीस्थति पुरानो प्रसूति गृहमा पनि लकडाउनको प्रभाव परेको छ। परीक्षण गर्न आउने गर्भवतीको संख्या पनि कम हुँदै गएको प्रसूति गृहले जनाएको छ।

अस्पतालमा दैनिक करिब ७  देखि ८ सय जनाले सेवा लिने गरेकोमा हिजोआज ओपिडीमा २ देखि ३ सय सम्मले मात्र सेवा लिइरहेका अस्पतालका निर्देशक डा जागेश्वर गौतम बताउँछन्। लकडाउनमा हुनुअघि दैनिक १ सय महिलाको डेलिभरी हुने गरेकोमा हाल बढीमा ६० जनाको मात्र हुने उनले जानकारी दिए।

‘गर्भवतीलाई १ मिटरको दूरीमा राखेर परीक्षण गरिरहेका छौं,’उनले भने, ’अस्पतालको ढोकामा स्यानिटाइजर र साबुनपानी राखेका छौं। अस्पतालले पहिलो प्राथमिकतामा परीक्षण गर्न आउने महिलाको स्वास्थ्यमा ध्यान दिने गरिरहेको छ।‘

सबैभन्दा बढी परीक्षणका लागि काठमाडौंबाट आउने गरेका उनले बताए। ललितपुर र भक्तपुरबाट थोरै बिरामी आउने तथा ललितपुरको पाटनमा पनि गर्भवतीको परीक्षण गर्ने अस्पताल भएकोले पनि त्यताबाट कम आउने गरेको उनको अनुमान छ।

यस अस्पतालले वर्षमा २४ हजार सुत्करी गराउने गरेको उनले जानकारी दिए। अघिल्लो महिना १ हजार भन्दा बढी सुत्केरीका लागि आएका उनले जनाए। लकडाउन बढे पनि सुत्केरी सेवा लिनेकाे संख्यामा कमी नहुने उनको विश्वास छ। एम्बुलेन्स र निजी सवारीसाधनमा परीक्षण गर्न आउने धेरै छन्।

पाटनमा पनि परीक्षण गर्न आउनेको संख्यामा पनि कमी

अघिल्लो महिनाको तुलनामा केही थोरै मात्रामा गर्भवतीहरु परीक्षण गराउन आएका पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए। उनका अनुसार गत महिना ६ सयभन्दा बढी महिला परीक्षण गर्न आएका थिए। लकडाउन सुरु भएदेखि ५ सयभन्दा बढी महिलाले डेलिभरी गराएका छन्।

परीक्षण गर्न आउने महिलाको संख्या केही हदसम्म कमी भएको शर्माले थाहाखबरलाई बताए। 'ललितपुरको हकमा बढीजसाे दक्षिण भेगका महिला आउने गरेका छन्,' उनले भने, 'लकडाउन र कोरोना त्रास सबै मानिसमा भएकाले पनि संख्या कमी आएको हुन सक्छ।'

पाटनमा पनि बिरामीमा दूरी कायम गरी परीक्षण भइरहेका उनले बताए। परीक्षण गर्ने कोठाको वरिपरि र बाहिर बिरामीको चाप बढन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएकाे छ। 

 त्रिवि शिक्षण अस्पतालमा प्रसूति विभाग बन्द

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणको बिरामी देखिएपछि केही समयका लागि गाइनो वार्ड पूर्ण रुपमा बन्द गरिएको अस्पताल प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले जानकारी दिए। यस अस्पतालामा परीक्षण गर्न आउने गर्भवतीलाई पानीपोखरीको प्रहरी अस्पतालमा जान अनुरोध गरिएकाे घिमिरे बताउँछन्। 

यस अस्पतालमा सुत्केरी सेवा लिएर गएकी सिन्धुपाल्चोककी महिला कोभिड १९ संक्रमणबाट मृत्यु भएपछि अस्पताल पनि संक्रमणको शंकामा छ। सेवा बन्द हुनुअघि लकडाउनमा बढीमा दिनमा २० देखि ३० जनाले प्रसूति सेवा लिने गरेका थिए।

‘कोरोना संक्रमितको बिरामी देखिएपछि परीक्षण गर्न आउनेको संख्या घटेको छ,’ उनले भने,’ अगाडिको समयमा २ सयको हाराहारीमा आउने गर्थे भने अहिले संख्या न्यून छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.