अर्घाखाँचीका सहायक प्रजिअ भन्छन् : व्यापारीकै सहमतिमा फाल्यौं

|

काठमाडौं :  खाद्य वस्तु, तरकारी तथा फलफुल लगायतका खाद्य सामग्रीबाट कोरोना भाइरस नसर्ने चिकित्सकहरुले बताएका छन्।

महामारीको रुपमा रहेको कोरोना भाइरस तरकारीबाट सर्ने कुनै प्रमाणित कुराहरु बाहिर नआएको बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले  त्यो सम्भव पनि नरहेको पनि उल्लेख गरे। 

'कोरोना भाइरस सर्छ, भनेर तरकारी फाल्नु गलत हो। अहिले पनि चीनबाट पनि सामान ल्याइरहेको छौँ', उनले भने, 'भारतबाट पनि तरकारी आयात भइरहेको छ, त्यस्तो सामानबाट त सरेको छैन।'

बिनाकारण तरकारी फालिएको छ त्यसमा कोरोना भाइरस हुने कुनै तथ्यगत वैज्ञानिक आधार नभएको डाक्टर पुनले बताए। कुनै पनि वस्तुमा केही समय भाइरस रहन्छ वा संक्रमित भएको ठाउँबाट आउँछ भन्‍ने हल्लाले त्यस्तो गरेको हुन सक्ने उनको भनाइ छ। विश्‍वभर नै अहिले संक्रमित ठाउँबाट ल्याएको वस्तुबाट कोरोना सर्छ भनेर प्रमाणित भइनसकेको उनले प्रष्ट पारे।

सबैभन्दा बढी भयानक रहेको देश अमेरिका, इटालीमा कहीकतै तरकारी फालिएको अहिलेसम्म नसुनेको डक्टर पुनले थाहाखबरलाई बताए। नेपालमा यसभन्दा अगाडि पैसाबाट पनि सर्छ भन्‍ने हल्ला आएको थियो। तर पैसाबाट सरेको अहिलेसम्म पुष्टि नभएको उनले बताए।

‘बाटोमा वा घरमा हिँड्दा धेरै कुरालाई छुने गरिएको छ। त्यसबाट पनि सर्नुपर्ने हो तर त्यसबाट पनि सरिसकेको छैन,’ डक्टर पुनले भने,'यसबाट बच्न केही कुरा छोएपछि नाक,मुख र आँखामा हात नलगी राम्रोसँग साबुन पानीले हातमुख  धुने गर्नुपर्छ। तरकारीबाट सर्ने कुनै पनि वैज्ञानिक आधार छैन।'

पुनका अनुसार विश्‍व स्वास्थ्य संगठनले पनि त्यस्ता वस्तुबाट भाइरस सर्दैन भनेर प्रमाणित गरिसकेको छ। यस विषयमा विश्‍व स्वास्थ्य संगठनमा लामो छलफल पनि भइसेको छ। नयाँ सामान वा पुरानो सामान बोक्नै परे पनि हातको सरसफाइ गरेपछि यो रोगबाट बच्‍न सकिन्छ। खाद्य सामग्रीबाट भाइरस सर्छ भन्‍ने कुनै पनि तथ्यगत वैज्ञानिक तर्क छैन। 

'सर्वपक्षीय भेलाको निर्णय उलंघन'

कपिलवस्तुबाट लगिएको तरकारी बाटोमा फालिएको छ। टमाटर,बोडी र करेला लगायतका तरकारी फालिएको थियो। ‘देशभर कोरोना संक्रमणको संख्या बढदै जाँदा जिल्लामा सर्वपक्षीय भेला गरेर जिल्लामा उत्पादित तरकारी मात्र प्रयोग गर्ने निर्णय भएको थियो',अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले भने,’ रातिको समयमा कपिलवस्तुको एक व्यापारीले तरकारी ल्याएको भन्‍ने सुनेका थियौँ। व्यापारीलाई कहाँबाट ल्याएको भनेर सोध्दा कपिलवस्तुबाट ल्याएको जवाफ दिएका थिए।'

जिल्लाका तरकारी व्यवसायीसँग छलफलमा सहमति भएबमोजिम बाहिर जिल्लाका तरकारी आयात नगर्ने गरी छलफल भएको उनले जानकारी दिए। तरकारी व्यापारीसँग लामो छलफलका भए पनि तरकारी फिर्ता लानुभन्दा नमानेपछि त्यसरी तरकारी फालिएको थापाको भनाइ छ। जिल्लाका व्यापारीसँगको परामर्शपछि अनावश्यक झन्झट नव्यहोर्ने भनेर उनको सामान फालिएको थापाले बताए।

'व्यापारीको सहमतिमा तरकारी नष्ट'

जेठ ५ गते सर्वपक्षीय भेला भएर जिल्ला बाहिरबाट तरकारी नल्याउने र तराईबाट तरकारी नल्याउने सहमति भएको थियो। तर सर्वपक्षीय भेला बमोजिमको विपरीत ल्याइएकोले व्यापारीको सहमतिमा तरकारी फालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी उपरीक्षक प्रकाश विष्टले बताए।

निर्णयविपरीत व्यावसायीले राति राति तरकारी ल्याउने गरेकोले फालिएको विष्टले बताए। उनले भने,'व्यापारीलाई जर्बजस्ती गरेर तरकारी फालिएको छैन। पाँच क्‍विन्टल तरकारी नष्ट गरिएको हो। प्रहरीको निगरानीमा नष्ट गरिएको हो। व्यापारीले अन्त कतै भण्डारण गर्ने हो कि भनेर प्रहरीले निगरानी गरेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.