लकडाउन यता दुई तीनपटक गएकी थिइन् केएमसी

|

भक्तपुर : भक्तपुरमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चाँगुनारायण नगरपालिका–३ झौखेलका ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो।

उनी स्थानीय महिला हुन्। ती महिला गर्भवती समेत भएको र अस्पतालले यही महिना सुत्केरी हुने मिति दिएको छ। स्वास्थ्य परीक्षणका लागि लकडाउन यता २/३ पटक काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) गएको र पछिल्लोपटक जेठ १५ मा स्वास्थ्य परीक्षणका लागि गएको चाँगुनारायण नगरपालिका–३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले जानकारी दिए। 

‘उनको यात्रा विवरण अरु केही छैन। उनी स्थानीय महिला हुन्,’ वडाध्यक्ष धिमालले भने, ‘उनलाई कसरी संक्रमण देखियो भन्ने बारे खुल्न सकेको छैन।’

धिमालका अनुसार संक्रमित महिला गत बैशाख २२ मा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको र उनलाई पुनः जेठ ५ मा बोलाइएको थियो। जेठ ५ मा अस्पताल पुगेकी ती महिलालाई जेठ ६ मा पुनः बोलाएर जेठ १५ मा आउन भनिएको थियो। जेठ १५ मा अस्पताल पुगेका महिलालाई गर्भमा शिशुको अवस्था ठिक नभएकाले शल्यक्रिया गर्नुपर्ने अवस्था भएको र त्यसका लागि कोरोनाको पिसिआर परीक्षण गर्नुपर्ने भन्दै घाँटीको स्वाब र रगतको नमुना लिएको वडाअध्यक्ष धिमालले जानकारी बताए। त्यस नमुनाको रिपोर्ट मंगलबार आएको हो।

संक्रमित महिला घरमै रहेको र उनको डेलिभरी नजिक आएकाले दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा राखेर उपचार गराउन आग्रह गरिएको वडाध्यक्ष धिमालले बताए।

संक्रमित महिला बसोबास गरेको क्षेत्र सिल गरेर प्रहरी परिचालन गरिएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए। संक्रमितका घरमा सासुससुरा, श्रीमानसँगै र एक छोरा छन्। संक्रमितका परिवारका साथै उनको सम्पर्कमा रहेकाहरुको विवरण संकलन गर्ने र सबैको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ।

यससँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि भक्तपुरमा पहिलो पटक गत बैशाख ३० मा सुनसरीको रामधुनी नगरपालिका झुम्का घर भई मध्यपुर थिमि नगरपालिका–४ शंखधरचोक नजिक बस्दै आएकी आरोग्य प्रतिष्ठानमा कार्यरत २५ वर्षीया महिला कर्मचारी र रामेछाप घरभई चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरीका २७ वर्षीय जवानमा कोरोना संक्रमण देखिएको थियो।

त्यसैगरी गत जेठ ६ मा भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र जेठ ७ मा भक्तपुर–९ की ४२ वर्षीया महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण भएको थियो। भक्तपुरका अघिल्ला चारै जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.