इटहरी : प्रदेश १ सरकारले कोरोना भाइरसको महामारीबाट प्रभावित किसानहरुलाई राहत प्याकेज घोसणा गरेको छ। महामारीबाट किसानलाई परेको नोक्सानी सम्बोधन गर्न राहत प्याकेज र वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो।
सरकारको प्राथमिकतामा स्वास्थ्य र कृषि पहिलो रहेको बताउँदै प्रदेश प्रमुख सोमनाथ घिमिरे ‘प्यासी’ले शुक्रबार नीति तथा कार्यक्रममा पेस गरेका थिए। आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अधिकारीले किसानका लागि ४५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेका हुन्।
कोरोनाका कारण विश्वका विभिन्न मुलुकबाट रोजागरी गुमाई फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्नेसमेत सरकारको योजना छ। रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ।
‘वैदेशिक रोजगारी गुमेका र यहींका बेरोजगारलाई कृषि कर्मको लागि तथा अनुभवयुक्त मानव पूँजी र आत्मविश्वासलाई पुनर्ताजगी गर्न स्थानीय तह, सहकारी, निजी क्षेत्र र स्वीस विकास कोरोना पुनर्उत्थान कोषमार्फत समेटिने छ,’ प्रदेश प्रमुख प्यासीले भने, ‘मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि मेरो पौरख कार्यान्वयन गर्दै रोजगारीका लागि थप अवसर खोलिने छ। प्राकृतिक स्रोतको सम्भाव्यता हेरी एक जिल्ला एक उद्योग खोल्न अध्ययन र कार्यान्वयनमा दोहोरोपना आउन नदिन सार्वजनिक निजी साझेदारी प्रक्रिया अघि बढाइने छ।’
जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति
नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने भएको छ। जिल्ला अस्पतालहरुलाई आइसोलेसन वार्डसहित १०० शय्याको क्षमतामा स्तरोन्नति गरिने उल्लेख छ। आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तीमा चारवटा भेन्टिलेटरसहित आवश्यक जनशक्तिको व्यवस्था मिलाइने भएको हो।
त्यसैगरी कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिनेछ र स्तरोन्नतिको कार्य शुरु गरिने सरकारको नीति रहेको छ। मेची अस्पताललाई कम्तीमा छवटा भेन्टिलेटरसहित स्तरोन्नति गरिनेछ ।
सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिनेछ।
धनकुटामा जिल्ला अस्पताललाई छवटा भेन्टिलेटरसहित बहु विशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिनेछ। स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतिमा सहकार्य गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।