समाज

ब्रुमरपछि महानगरपालिकाको ध्यान अत्याधुनिक एम्बुलेन्समा

५०० रुपैयाँमा उपत्यकाभित्र सेवा

चैत १७, २०७५

    काठमाडौं : काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेलगत्तै अत्याधुनिक प्रविधिसहितको एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। नेपाल एम्बुलेन्स सेवा समितिसँग सहकार्य गरेर महानगरले दश वटा एम्बुलेन्स सञ्चालन गर्न लागेको हो।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नयाँ वर्षको अवसर पारेर अत्याधुनिक एम्बुलेन्स सेवा सञ्चालन गरिने बताए। उनले एम्बुलेन्सभित्र एक चिकित्सक, नर्स र आपत्कालीन अवस्थामा आवश्यक पर्ने सम्पूर्ण सामग्री रहने बताए। अत्याधुनिक सेवा सुविधा सहितको एम्बुलेन्स महानगरले पहिलो पटक सञ्चालन गर्न लागेको हो।

    चिकित्सकहरूले रोगअनुसार बिरामीको प्राथमिक उपचार एम्बुलेन्सभित्रै गर्न सकिने डंगोलले बताए। उनका अनुसार हृदयघात, दम र अन्य सामान्य बिरामीको उपचार एम्बुलेन्सभित्र गर्न सकिने छ। प्रवक्ता डंगोलले भने, 'अन्य एम्बुलेन्सले 'पिक अप एन्ड ड्रप' को मात्र काम गर्छन्। यसले भने अस्पतालको आधा सुविधा एम्बुलेन्सभित्र दिनेछ।' अहिलेका कतिपय एम्बुलेन्सले 'ब्ल्याक मेलिङ' गर्ने भएकोले महानगरले सञ्चालन गरेपछि यस्तो गैर कानुनी गतिविधिका अन्त्य समेत हुने प्रवक्ता डंगोलको दाबी छ। उनले अहिले उपत्यकाका बिरामीले अस्पतालसम्म पुग्न ट्याक्सी लगायतका सवारी साधानको प्रयोग गर्ने गरेको उनको भनाइ छ।

    ट्याक्सी वा अन्य सवारी साधान प्रयोग गर्दा बिरामी थप जोखिममा पर्ने भएकाले महानगरले उपत्यकाबासीका लागि अत्याधुनिक एम्बुलेन्स सेवा विस्तार गर्न लागेको उनी बताउँछन्। 'काठमाडौं उपत्यका भित्रका अस्पताल जानका लागि धेरै बिरामीले टयाक्सीको प्रयोग गर्छन्' उनले भने, 'एम्बुलेन्सलाई खबर गर्ने बितिकै तुरुन्तै बिरामीलाई सेवा दिनेछ।' 

    एम्बुलेन्समा ग्लोबल पोजिस्निङ सिस्टम (जिपिएस) प्रविधि जडान गरिने सञ्चालन गरिनेसमेत डंगोलको भनाइ छ। उनका अनुसार जिपिएसले एम्बुलेन्सको कुन ठाउँमा छ भन्ने सजिलै थाहा हुने र एम्बुलेन्सलाई बिरामीको घर थाहा नभएर अलमल्लमा पर्न सक्ने सम्भावना कम हुन्छ। जिपिएसकै मद्दतबाट एम्बुलेन्स बिरामीको घर दैलोमा पुग्ने प्रवक्ता डंगोलले जानकारी दिए।

    काठमाडौं उपत्यका भित्रको बाटो सानो र साँघुरो भएका ले जहाँ सुकै एम्बुलेन्स जान सक्दैन। यस्तो समस्यालाई समाधान गर्नका लागि महानगरले विकल्प खोजी सकेको उनले बताए। 'अशक्त र हिँडन नसक्ने बिरामीका लागि अटोमेटिक चेयरको प्रयोग गरी बिरामीलाई एम्बुलेन्ससम्म ल्याइने व्यवस्था गरिन्छ', प्रवक्ता डंगोलले भने।

    काठमाडौंको सीतापाइला, चावहिल, तीनकुने, कमलपोखरी, महाराजगञ्जमा एम्बुलेन्स स्ट्यान्ड बाइ रहने उनको भनाइ छ। 'पाँच सय रुपैयाँमा उपत्यकाको जुनसुकै स्थानमा भए पनि बिरामीले चाहेको अस्पताल पुर्‍याउने छ,' उनले भने, 'यस्तो एम्बुलेन्स सेवा सुविधा दिँदा कसैले ब्लयाक मेलिङ गर्न सक्दैनन्।' महानगरबासीको सुविधाको लागि महानगर गम्भीर भएर लागेको दाबी गरे डंगोलले। 'स्वास्थ्य सेवा नागरिकको मौलिक हक अधिकार भएकोले महानगरले उपत्यकाबासीको लागि सञ्चालन गर्न लागेको हो' उनले भने।

    जापानीज कम्पनी टोयोटाले महानगरलाई एम्बुलेन्स सेवा उपलब्ध गराउन लागेको हो। यो एम्बुलेन्स ल्याउँदा २ देखि ३ करोड लागत लाग्ने महानगरको अनुमान छ। तत्कालको लागि नेपाल एम्बुलेन्स सेवा समितिले आफ्नो एम्बुलेन्स सञ्चालन गर्ने र आवश्यक परेको खण्डमा महानगरले एम्बुलेन्स ल्याउन सहयोग गर्ने डंगोलले बताए। असहाय तथा गरीब बिरामीलाई भने काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]