|

हेटौंडा : सांसद् केशव स्थापितले​ बागमती प्रदेशसभामा दर्ता भएको 'गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' छलफलमा नल्याए अनशन बस्ने चेतावनी दिएका छन्।

बागमती प्रदेश सरकारका पूर्व भौतिक मन्त्रीसमेत रहेका स्थापितले मंगलबार पत्रकार सम्मेलन गर्दै सभामुखले विधेयकलाई सदनमा छलफल नगरेकाले अब गर्नुपर्ने बताएका हुन्। छलफलका लागि टेबल गर्न आफूले पटक-पटक आग्रह गर्दा समेत सभामुख सानुकुमार श्रेष्ठले वेवास्ता गरेको भन्दै स्थापितले तत्काल छलफलमा नल्याएको खण्डमा आफू अनशन बस्ने बताए।

मंगलबार बागमती प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै सांसद् स्थापितले आफूले फागुन २० गते गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेको बताए। प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भएको थियो। 

हस्ताक्षर संकलन सुरू

प्रदेशसभामा दर्ता भइसके पनि  संघमा कानुन नबनेसम्म प्रदेशमा छलफल नहुने भन्दै सभामुखबाट जवाफ आएपछि सांसद स्थापितले छलफलमा ल्याउन माग गर्दै प्रदेश सभा सदस्यहरुको हस्ताक्षर संकलन सुरू गरेका छन्।

उनले सो विधेयक तत्काल छलफलमा ल्याउनका लागि दबाब दिने गरी सांसदहरुको हस्ताक्षर संकलन थालेको बताएका हुन्। स्थापितले औषधीको रुपमा प्रयोग गर्न सकिने गाँजालाई आम्दानीको स्रोत बनाउने बाटो खुला गनुपर्ने बताए। विधेयक संघीय र प्रदेश सांसदको ५ महिनाको गृहकार्यपछि तयार भएको स्थापितले बताए।

नेपालको सबै भू-भागमा हुने गाँजा खेतीबाट गरिबको जीवनस्तर उकास्न मद्दत पुग्ने भएकाले कडा कानुन बनाएर खेती गर्ने बाटो खुला गर्न जरूरी रहेको उनको जिकिर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.