|

एजेन्सी : भारत-चीन सीमा संघर्षमा केही भारतीय सैनिकको हताहतीपछि भारतमा अहिले ‘बायकट चाइनिज प्रडक्ट’ अभियान चलिराखेको छ। चीनप्रति आक्रोशित बनेका मानिसहरूले चीनमा बनेका टेलिभिजन र फोन फुटाएका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। भारतीयहरू ‘बायकट चाइना’ लेखिएका टोपी र टिसर्ट लगाएर हिँड्न थालेका छन्।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ‚ ‘बायकट चाइना’ लेखिएका टोपी र टिसर्टहरू भारतमा नभई चीनमा बन्ने गर्छन्। यस्तो दाबी गर्नेहरू भन्छन्, ‘चीनको सरोकार अर्थतन्त्र बलियो पार्नुमा छ‚ न कि खोक्रो राष्ट्रियतामा। त्यसैले आफ्नै विरोध गरिएका टिसर्ट छापेर भारतमा बेच्छ, भारतबाट पैसा लैजान्छ।’

यस किसिमको तर्कमा धेरैले विश्वास गरेको देखिन्छ।

तर‚ एक चिनियाँ सञ्चारमाध्यमले ‘बायकट चाइना’ लेखिएका कुनै पनि सामग्री चीनमा नबनेको दाबी गरेको छ। ग्लोबल टाइम्स लेख्छ‚ ‘ती या त फेक हुन्, या भारत पुगेका चिनियाँ उत्पादनमा भारतीयहरुले नै त्यस्तो लेबल लगाइदिएका हुन्।’

ग्लोबल टाइम्सले उधृत गरेका झण्डा, टोपी‚ टिसर्ट आदि निर्यात गर्ने कम्पनीका सञ्चालकहरूले चीनबाट भारत निर्यात गरिएका सादा टोपी र टिसर्टमा भारतीयले नै चीनविरोधी नारा प्रिन्ट गराएको अनुमान गरेका छन्।

चिनियाँ कानुनले निर्यातजन्य सामग्रीमा चीनविरोधी चित्र वा नारा छाप्न बन्देज गरेको छ। त्यस्ता क्रियाकलाप दण्डनीय हुन् भन्ने कुरा चिनियाँ उत्पादकहरूलाई राम्ररी थाहा छ‚ समाचारमा भनिएको छ।

सामाजिक सञ्जालमा चिनियाँ उत्पादकका लेबल लागेका ‘बायकट चाइना’‚ ‘बायकट चाइनिज प्रडक्ट’‚ ‘आई हेट चाइना’ लेखिएका टोपी र टिसर्टको तस्वीर छ्यापछ्याप्ती भएपछि राज्यनियन्त्रित चिनियाँ सञ्चारमाध्यमले प्रतिक्रिया जनाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.