|

उदयपुर : यातायात कार्यालय उदयपुर व्यस्थित नहुँदा सेकाग्राहीले सास्ती भोग्न बाध्य भएका छन्। यातायात कार्यालय स्थापना भएको  ५ वर्ष बितिसक्दा पनि यातायात व्यवस्था सेवा कार्यालय गाईघाटबाट पर्याप्त सेवा नपाउँदा सेवाग्राही मार्कामा परेका छन्। 

देश सघीयतामा जानुअघि सेवाग्राहीको चाप अत्यधिक बढेको भन्दै सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लाहान शाखाको रुपमा गाईघाटमा सेवा कार्यालय स्थापना भएको थियो। 

देश संघीयतामा गएपश्चात् प्रदेश १ का चार जिल्लाहरु उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जनतालाई सेवा दिने उद्देश्यले कार्यालय स्थापना भएको हो। तर कार्यालय व्यवस्थापनमा कार्यालयले ध्यान नदिँदा आफूहरुले सास्ती खेप्नुपरेको ‘बिलबुक’ नवीरकणका लागि ओखलढुंगाबाट उदयपुर आइपुगेका रामबहादुर तामाङले गुनासो गरे। 
कार्यालयको व्यवस्थापन देख्दा उदेक लागेको उनले बताए। 

कार्यालय हाताभित्र नागरिक बडापत्र पनि नभएको, पार्किङ नभएको, सेवाको फाँटबारे स्पष्ट जानकारी नभएको उनले बताए।  कार्यालय हाताभित्र नवीकरण गर्ने स्थानमा छाना र बस्ने व्यवस्थासमेत नहुँदा राजस्व बुझाउन आउनेलाई समेत सास्ती हुने गरेको छ। 

पानी परिरहेको र केही प्राविधिक समस्या भएकाले पार्किङलाई व्यवस्थित गर्न नसकिएको यातायात कार्यालय गाईघाटका प्रमुख सुभाष कार्कीले बताए। कार्यालयभित्र भएको सवारी पार्किङस्थल समेत भत्किएको र त्यसलाई समेत कार्यालयले व्यवस्थापन गर्न सकेको छैन। 

ससाना कार्यालयले समेत कार्यालय व्यवस्थापन चुस्त बनाएको उदाहरण दिँदै तामाङले भने, ‘४ जिल्ला हेर्ने यातायात कार्यालयको अवस्था देखेर छक्क परेको छु।’ कार्यालय हाताभित्र प्रशसस्त पार्किङस्थल भएर पनि कार्यालयले त्यसलाई उचित प्रयोगमा ल्याउन सकेको देखिँदैन। 

सवारीसाधन सडकमा राखिएका कारण एम्बुलेन्स तथा दमकललाई समेत समस्या परेको छ। कार्यालयले सेवाग्राहीको सवारीसाधन कार्यालय हाताभित्र पार्किङ गर्ने व्यवस्था मिलाउन स्थानीयले समेत आग्रह गर्दै आएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.