शनिबारसम्म ६९ हजार १५० जनाले फारम भरे

|

काठमाडौं : के तपाईंमा कोरोना संक्रमितमा जस्तै लक्षण देखिएको छ? अस्पताल जान डर या अल्छि लागिरहेको छ? अस्पताल जान सवारीसाधन पाउनु भएन?  यदि त्यसो हो भने घरमै बसेर आफूलाई कोरोना लागे-नलागेको पहिचान गर्न सक्नुहुन्छ।

सरकारले घरमा बसेर कोरोनाको लक्षण पहिचान गर्न सकिने फारम व्यवस्था गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभ साइटमा गएर आफूलाई कोरोनाको आशंका भएमा उक्त फारम भर्न सकिने छ। जसमा आफूलाई कोरोनाको लक्षण भएको वा नभएको भनि उक्त फारममा भर्न पाइन्छ।

शनिबार मात्र १८४ जनाले स्व-मूल्यांकन फारम भरेका छन्। हालसम्म ६९ हजार १५० जनाले स्व-मूल्यांकन फारम भरेका छन्। फारम भरेकामध्ये 'रेड जोनमा' ५३५ परेका छन्।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्‌

स्व-मूल्यांकन फारममा के हुन्छ त? सबैलाई जिज्ञासा हुनसक्छ। आखिर यो फारम कसरी र किन भरिन्छ भन्नेबारे हामीले बुझ्ने र बुझाउने प्रयास गरेका छौं।

हामी आफैंले घरमै थर्मोमिटरको सहयोगमा ज्वरोको तापक्रम मापन गर्न सक्छौं। तापक्रम मापन गरेपछि आफू कतिको जोखिममा छु भन्ने थाहा लागिहाल्छ। अनि मन्त्रालयको वेभसाइटमा गएर स्व-मूल्यांकन फारम भर्न सकिन्छ। यसरी फारम भर्दा न अस्पतालमा चेकजाँचका लागि लाइन लाग्नुपर्छ, न त परीक्षणकै लागि हुलमुलमा ठेलिँदै जाँदा हुनसक्ने कोरोना संक्रमणको जोखिम भोग्नुपर्छ। 

नागरिकको सहजताको लागि स्व-मूल्यांकन फर्मको व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन्। उनले भने, 'आफू उच्च जोखिममा भएको नभएको त्यही फारमबाट थाहा पाउन सकिन्छ।' उनका अनुसार यदी आफूलाई कोरोनाको शंका लागेर परीक्षण गरेमा परिवारको अन्य सदस्यलाई कोरोना सर्नबाट जोगाउन सक्नुपनि यो फारमको अर्को फाइदा हो।

स्व-मूल्यांकन फारमले नागरिकलाई कोरोना संक्रमण हुनबाट जोगिन सचेत रहन सहयोग गर्ने गौतम बताउँछन्‌। स्व-मूल्यांकन फारम भर्नेको संख्या दिनप्रतिदिन बढिरहेको उनले जानकारी दिए।

फारममा नाम,ठेगाना, फोन नम्बर, उमेर, लिंग र शरीरमा पैदा भएको तापक्रम भर्न मिल्ने स्थान छ। तापक्रममा तीनवटा विकल्प दिइएको छ। सोमध्ये आफूमा जति तापक्रम छ, सोअनुसार वेभसाइटमा रहेको विकल्प छनोट गर्न सकिन्छ। 

त्यसपछि त्यहाँ सोधिकएका तीनवटा प्रश्नको जवाफ दिनुपर्छ। फर्ममा रहेका प्रश्नहरू यस्ता छन्‌ :

त्यसमा तीनवटा प्रश्न सोधिएको छ।

के तपाईँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ?

के तपाई ३ हप्तामा कोरोना ग्रस्त मुलुकबाट आउनु भएको हो?

के तपाईँ विगत ३ हप्तामा कुनै पनि कोरोना संक्रमित वा संक्रमणको आशंका भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.