|

बस्टन : डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो वाइडेनले सिनेटर कमलादेवी ह्यारिसलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार छानेका छन्। अमेरिकामा ८९ दिनपछि नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। 

गत महिना अफ्रिकी(अमेरिकी जर्ज फ्लोइडको हत्या भएपछि उर्लेको आन्दोलनले वाइडेनलाइ काला जातिकी महिलालाई उपराष्ट्रपतिको उम्मेदवार तोक्नुपर्ने दबाव परेको थियो। ह्यारिसको चर्चा त्यस यता बढी नै थियो।

अमेरिकाको इतिहासमा अफ्रिकी-अमेरिकी या एसियाली-अमेरिकी महिला उपराष्ट्रपतिको उम्मेदवार तोकिएको यो पहिलो घटना हो। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिमा समेत उम्मेदवार बनेकी ५५ वर्षीया कमलाले गत डिसेम्बरमा चुनाव खर्च धान्न नसकेको कारण जनाएर उम्मेदवारी त्यागेकी थिइन्। 

भारतीय आमा स्यामला गोपालन तथा अफ्रिकन अमेरिकन पिता डोनाल्ड ह्यारिसकी पुत्री सिनेटर ह्यारिस अमेरिकाको कानून, संसदीय अभ्यास र सरकारका तीनै वटा अंगको राम्रो ज्ञान भएकी महिला हुन्‌। उपराष्ट्रपतिमा उनको मनोनयनले डेमोक्रेटिक पार्टीभित्र चुनावको सन्दर्भमा एउटा नयाँ जोश र उमङ्ग छाएको छ।

कमलाले अमेरिकी काला जाति, महिला वर्ग र अल्पसंख्यक समुदायहरूको प्रतिनिधित्व गर्नुका साथै सिनेट र स्टेटको पनि अनुभव भएकाले चुनावमा धेरै सकारात्मक प्रभाव पर्ने डेमोक्य्राटहरुले अनुमान गरेका छन्‌।

​कमला क्यालिफोर्निया राज्यको अटर्नी जनरल भइसकेकी छिन्‌ भने अमेरिकी माथिल्लो सभाकी सभासद (सिनेटर) हुन। कमलाले हिन्दु र बाप्टिस्ट क्रिस्चियन दुवै धर्ममा आस्था भएको बताउने गरेकी छिन्‌। उनी नियमित रुपमा मन्दिर र चर्च जाने गर्छिन्‌।​मुस्लिम बौद्धमार्गीहरुले पनि उनलाई अति उदारवादीको रुपमा चिन्छन्‌।

उनका बाबु जमैका र आमा भारतको मद्रासकी हुन्। आमा श्यामला क्यान्सरकी डक्टर र बाबु डोनाल्ड अर्थशास्त्रका प्राध्यापक हुन्। तर, कमला जन्मेको सात वर्षपछि यी दुईबीच सम्बन्ध-विच्छेद भएको थियो।

अमेरिकामा प्रत्येक ४ वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ। यस वर्ष नोभेम्बर ३ मा चुनाव हुँदैछ। बाइडेन-ह्यारिसको जोडीले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उपराष्ट्रपति माइक पेन्सविरुद्ध प्रतिष्पर्धा गर्दैछ। ट्रम्प-पेन्स, रिपब्लिकन पार्टीको तर्फबाट पुन: चुनावको मैदानमा हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.