डडेल्धुरा : राउटे समुदाय लोपोन्मुख जाति हो। मानव जातिको एउटा इतिहास र चिनारी पनि हो राउटे। आफूलाई वनको राजा भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन्। राउटे जाति दक्षिण एसियाको एक मात्र भ्रमणशील र फिरन्ते जाति हो।
विश्वले चन्द्रमामा बस्ती बसाल्ने कल्पना गरिरहँदा डडेल्धुराका राउटे समुदाय भने अझै पनि जंगली युगमै छन्। डडेल्धुराको भित्रीमधेस क्षेत्र परशुराम नगरपालिका–१२ आम्पानी र वडा नम्बर ४ रज्यौटामा राउटे समुदायको बसोबास छ।
सरकारले बनाइदिने भनेको घर निर्माण कार्य अलपत्र परेपछि राउटेहरु अझै जंगलमा बसोबास गर्न बाध्य छन्। डडेल्धुरामा रहेका राउटेका लागि नेपाल सरकारको २०६८ देखि घर आवास कार्यक्रम मार्फत घर निर्माण थालेको थियोे। कार्यक्रम लागू भएको एक दशक बित्न लाग्दासमेत अझैं कतिपय राउटे परिवारका घर निर्माण हुन सकेका छैनन्।
आम्पानी र रज्यौटा दुवै गाउँमा गरी ८६ वटा राउटे समुदायका व्यक्तिका लागि घर निर्माण थालिएको हो। नगरपालिकाको केन्द्र जोगबुडा नजिकै रहेको आम्पानी गाउँका राउटे समुदायका घर निर्माण भइसके पनि परशुराम नगरपालिका–४ रज्यौडामा निर्माणाधीन १४ घरहरु अलपत्र परेका छन्।
रज्यौडा गाउँका ४१ परिवार राउटे समुदायका लागि घर निर्माण गर्ने भनिए पनि १४ परिवारको घर अझै बन्न नसकेको स्थानीय अगुवा नन्दकिशोर राउटेले बताए।
घर निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीसँग सम्झौता भई निर्माण कार्य सुरु गरिए पनि त्यसबेला नै भित्रीमधेस क्षेत्रका १ सय आठ सामुदायिक वनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सो क्षेत्रमा काठ कटान गर्न रोक लगाइएपछि काठ अभावमा घर निर्माण कार्य प्रभावित भएको स्थानीय बताउँछन्। ‘वनको मुद्दापछि काठ उपलब्ध भएन र घर निर्माणको काम रोकियो।’ स्थानीय शान्तिदेवी राउटेले भनिन्।
विषेश अदालतको फैसला अनुसार भित्रीमधेश क्षेत्रका सामुदायिक वनमा काटिएको काठ अहिले बिक्री भइसकेको छ। तर, काठ अभावमा राउटे समुदायकाका निर्माणाधीन घरहरु अलपत्र परेका छन्।
घर निर्माणका लागि राउटे समुदायका व्यक्तिहरुको निर्माण समिति बनाइएको थियो। आर्थिक वर्ष २०६८÷२०६९ भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी काम थालिए पनि काठ पाउन नसकेका राउटे समुदायका व्यक्तिहरुले अझै घर निर्माण गर्न नसकेका हुन्।
काठ नपाएपछि निर्माणाधीन घरको काम पनि रोकिएको स्थानीय बताउँछन्। राउटे समुदायका एक दर्जन घर निर्माण थालिएको एक दशकसम्म पनि निर्माण हुन नसकेपछि निर्माण नसकिदै हाल जीर्ण बन्न थालेका छन्। सामुदायिक वनका उपभोक्ता भए पनि काठ नदिँदा घर अधुरै रहेको राउटे समुदायका व्यक्तिहरूको गुनासो छ।
केहीले सालको ठाँउमा जमुनाको काठ प्रयोग गरी घर बनाएका छन्। तोकिएको समयमा घर बन्न नसक्दा १४ घर निर्माण कार्यको रकम निकासा नभएको स्थानीय उदय संह राउटेले बताए। ‘कसैले १२ हजार मात्रै पाएका छन भने कसैलाई २४ हजार रुपैयाँ निकासा भएको छ।’ उनले भने, ‘सामुदायिक वनले काठ नदिएपछि घर निर्माण कार्य सम्पन्न नहुँदा रकम पाउन नसकिएको हो।’
भित्रीमधेस क्षेत्रका सामुदायिक वनहरुले सालको गोलिया काठ वर्षेनि ठेक्कामार्फत बेच्ने गरेका छन। तर, वनमा जीविकोपार्जन गर्ने राउटे समुदायलाई काठ उपलब्ध हुन नसक्दा घर निर्माणसमेत रोकिएको छ।
हाल सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटी कार्यालय नै समायोजनमा परेपछि सहरी विकास तथा भवन निर्माण आयोजनाका रुपमा स्थापित भएको हो। सो आयोजनाले राउटे समुदायको घर निर्माण योजनाका बारेमा जानकारी नभएको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।