टुकीको धिपधिपे उज्यालोमै चित्त बुझाउँछन् स्थानीय

|

डडेल्धुराः डडेल्धुराको अमरगढी जिल्ला सदरमुकामको नगरपालिका हो। जिल्लामा यो नै सबैभन्दा पुरानो नगरपालिका पनि हो। तर, नगरपालिकाभित्रका गाउँसम्म अझै पनि बिजुली पुग्न सकेको छैन।

अमरगढी-३ चिरकिट्टे गाउँका स्थानीयले गाउँ झिलिमिली पार्ने र दैनिकी सहज बनाउने आकांक्षासाथ आफैँले बोकेर गाउँमा पोल पुर्‍याएको ३/४ वर्ष भयो। यसरी दु:खका साथ ल्याइएका केही पोल घरअगाडि गाडिएका पनि छन्‌। तर ती पोलबाट अहिलेसम्म तार टाँगरे विद्युत प्रवाह भएको छैन। 

केही पोल भुइँमा अलपत्र छन्‌ भने केही पोलहरु माटोमा पुरिँदै गएका छन्। वर्षौदेखि गाउँमा बिजुली नपुग्दा स्थानीय अन्धकारमा नै रुमलिन बाध्य छन्। 

हर्कबहादुर पाण्डेय उमेरले ६५ वर्ष पुगे। उनले जन्मेदेखि गाउँमा बिजुली देख्न पाएका छैनन्। ४ वर्षअघि गाउँमा पोल पुग्दा उनलाई घरमा बिजुली बलेको हेर्ने रहर बढेको थियो। कहिलेकाहीँ जिल्ला सदरमुकाम पुग्दा बिजुली बलेको देखेका उनलाई आफ्नै ठाउँमा झिलिमिली भएको हेर्ने ठूलो रहर छ। 

‘घरमा बिजुली बलेको हेर्ने ठूलो रहर छ। तर, मेरो सपना कहिले पुरा होला?’ उनी भन्छन्, ‘यो जुनीमा मेरो रहर पुरा होला जस्तो छैन्। आस पनि मरिसकेको छ। अब घरमा बिजुली बलेको हेर्न मैले अर्को जुनी जन्म लिनुपर्छ।’

दिनभरी खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै त्यस क्षेत्र सुनसान बन्ने गरेको छ। साँझ पर्नासाथ वरपरका गाउँहरु झिलिमिली हुन्छन्। तर, यी वस्तीका जनता भने टुकीको धिपधिपे उज्यालोमा चित्त बुझाउनुपर्ने बाध्यतामा छन्‌।

घर छेउमा विद्युतको पोल गाडेको बर्षौं भयो। तर, दुर्गम गाउँमा झैं सोलारबाट बत्ती बालेर चित्त बुझाइरहनु परेको स्थानीय एलिना पनेरुले बताइन्। ‘के गर्नु! स्मार्ट अमरगढी भन्छन्, जिल्ला सदरमुकाम नजिकैको गाउँमा बिजुली छैन।’

गाउँमा बिजुली नहुँदा विद्यालयमा पठनपाठन गर्ने बालबालिकाहरूलाई समस्या हुने गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लास्थित सदरमुकामकै बासिन्दा २१ औँ शताव्दीका ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य छन्।

‘सोलार बालेर भएपनि रातमा उज्यालो हुन्थ्यो। अहिले बर्खाको समय भएकोले घाम लाग्दैन। घाम नलागेपछि सोलार बल्ने कुरा भएन,’ पनेरु भन्छिन्, ‘स्थानीय  सरकार गाउँमा विकास गर्दैछौँ भन्छन्। खोइ के पो विकास गरेका रैछन्! हामी वर्षौदेखि अन्धकारमय जीवन बिताउँदै छौँ।’

गाउँमा सिंहदरबार आएको भनिएपनि बिजुली आउन नसकेकामा स्थानीय दुखी छन्। गाउँमा सडक नखन्दै बोकेर ल्याइएका पोलमा बिजुलीका तार टाँगेर घरभित्र बल्ब बाल्ने रहर सबैको छ। कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडेपनि अधिकांश स्थानीय अझै टुकी बालेर काम चलाइरहेका छन्। 

विद्युत् नभएपछि केही गैरसरकारी संस्थाले सोलार वितरण गरेका थिए। तर, त्यो पनि बालुवामा पानी जस्तै भएको स्थानीय बताउँछन्। स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरूबाट यहाँका स्थानीयले सडक र बिजुलीको आश्वासन नपाएका होइनन्। तर, चुनाव जितिसकेपछि त्यतातिर कसैको ध्यान गएको देखिँदैन।

स्थानीयहरुले बिजुलीको माग गरेपनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ध्यान नदिएको स्थानीय नरेन्द्र पाण्डेयको आरोप छ। 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुरामा पुग्दा मिटर आवेदन फारम ल्याएर आउनु होला भन्ने गरेको र ३/४ जनाले फाराम बुझाएपनि गाउँमा विद्युत नपुगेको उनको भनाइ छ। सो ठाउँका ३०/४० घरपरिवार बिजुलीविहीन छन्।

ठेकेदारर विद्युत् कार्यालयको लापरबाहीले बिजुली पुगेन : वडाध्यक्ष 

ठेकेदार र विद्युत् कार्यालयको लापरबाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको अमरगढी-३ का वडाध्यक्ष गोविन्द बोहरा बताउँछन्। ०७७ सालको बैशाखमा बिजुली पुर्‍याउने अठोट गरेको भएपनि कोरोना भाइरसको कारणले समस्या भएको उनको भनाई छ।

‘सतकटानेर तारले ओखरको रुखमा छुने जस्तो भएपछि एक जना स्थानीयले ओखर टिप्न गाह्रो हुन्छ, लाइन सार्नुपर्‍यो भन्ने गुनासो गर्नुभएको थियो, पछि सम्झाइ बुझाइ गर्दा समस्या समाधान भयो,’ उनले भने।

वडा कार्यालयको पहलमा नै पोल र तारको लाइन जडान भएको उनले बताए। वडाअध्यक्ष बोहराका अनुसार स्थानीयले घरमा वाइरिङ नगरेको र मिटर नलगेको कारण बिजुली बाल्न समस्या भएको हो। गाउँमा बिजुली चाहियो भन्नेहरूलाई वडाबाट निःशुल्क मिटर दिन्छु भन्दा समेत नआएको उनको आरोप छ।

उपभोक्ताले मिटर माग गरे बिजुली पुग्छ : प्रमुख श्रेष्ठ

आफू आउनुभन्दा पहिले नै काम भइसकेको र आफू आइसकेपछि अपुग ११ हजार लाइन ट्रान्सफर गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको प्रमुख ईश्वरकुमार श्रेष्ठले बताए। वनमा सल्लोको रुख रहेको र हावाहुरीले तार चुँडिएपछि मिटर फारम आवेदन माग गर्दा १/२ जनाले मात्रै आवेदन दिएको उनको भनाई छ।

‘बेलाबेलामा हामीहरूको लाईन चार्ज भएन भनेर कुरा उठाउँछन्, तर मिटर आवेदन फारम भने दिँदैनन्। त्यत्तिकै हामीहरुले लाइन छोड्न मिल्दैन,’ उनले भने, ‘बिग्रिएको ठाउँमा जुनसुकै बेला पनि मर्मत गर्न तयार छौँ,स्थानीयहरुले बिजुली बाल्न मिटर माग गर्नुपर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.