डडेल्धुरा : शुक्रबार हिन्दू महिलाको मुख्य पर्व तीजको मुख्य दिन। कोरोना कहरका बीच पनि डडेल्धुराका महिलाहरू पूजाआजा गर्न शिवालयमा पुगेका छन्। उनीहरू अमरगढी नगरापलिका–४ मा रहेको शिवालयमा पालैपालो पूजापाठ गरिरहेका छन्।
तीजको अवसरमा विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजाआराधना गर्दै व्रत बसेका छन्।
विगतका वर्षहरू बजार क्षेत्रमा महिलाहरू जम्मा भएर सामूहिक रूपमा तीज मनाउँथे। यसपटक कोरोनाको कहरले बजारमा भने रौनक देखिँदैन।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेका थिए। हिमालयको योजना थाहा पाएपछि सखीहरूले पार्वतीलाई हरेर लुकाएर राखेको थिए।
पार्वतीले त्यही लुकाएर राखिएको ठाउँमा श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो। भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिकाे पूजा गरेपछि सम्पन्न हुन्छ। दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा–मीठा परिकार खाने चलन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।