एक्कासिकाे बन्दले मारमा सर्वसाधरणलाई सास्ती

|

धनगढी : दुई/तीन दिन अगाडि भारी वर्षा भएकाले होला ! शुक्रबार बिहानैदेखि धनगढीमा आकाश खुलेर चर्को घाम लागेको छ। जिल्ला प्रशासन कार्यालयले आजैदेखि लगाएको निषेधाज्ञाले धनगढी बजार सुनसान छ। बिहानको समयमा तरकारी, खाद्यान्नका पसलहरु खुले पनि ९ बजेपछि सबै बन्द भएका छन्। 

झण्डै ३५ डिग्री सेल्सियसको तातो घाममा सेती प्रादेशिक अस्पतालबाट १ किलोमिटर पैदल धनगढी चौराह पुगेका वीरबहादुर जाग्रीले धनगढी बजार पूरै चहारे; तर पानीसमेत पाएनन्। 

२५ हजारमा गाडी बुकि गरेर बाजुराको गौमुलबाट बिरामी नातिनी र बुहरीलाई लिएर बिहीबार बिहान धनगढी पुगेका जाग्री दिउँसो १ बजेसम्म धनगढी बजारमै रुमलिरहेका थिए। 

नातिनीलाई उपचार गर्न सेती अस्पताल पुगेका उनलाई अस्पतालले लकडाउन भन्दै फर्काएपछि बिरामी नातिनीलाई बोकेर २ किलोमिटर पैदलमै चटकपुरको माया मेट्रो अस्पताल पुगे। नातिनीलाई आइसियुमा राखेर बिहानको खाना र बेलुकाको बास खोज्न निस्किएका उनी दुखेसो पोख्दै भन्छन्, ‘नातिनीलाई त पाँच हजार तिरेर आइसियूमा राख्यौं, हामी भने भोकै परिने भयौं, खाना र कोठा खोज्न धनगढी बजार पूरै घुमिसक्यौं केही पाइएन।’ 

जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै बुधबार मध्यरातदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। जसअनुसार आजदेखि १० दिनका लागि धनगढी बजारलगायत कैलाली जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ। एकाएक प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी आएका थुप्रै नागरिक अलपत्रमा परेका छन्। 

बझाङबाट दुई/दुई हजार भाडा तिरेर ८ महिने नातिलाई उपचार गराउन धनगढी पुगेका मदन किमाडीको पीडा पनि उस्तै छ। बुधबार बेलुका छोराबुहारी र नातिसहित बझाङबाट ट्रकमा धनगढी आएका उनीहरुलाई ट्रकले धनगढी नपुग्दै ९ किलोमिटर अगाडि गेटामा छोडिदियो। गेटाबाट ९ किलोमिटर पैदलै धनगढीको सिटी अस्पताल पुगेर उपचार गराएरपछि किमाडी परिवार खाना खोज्न धनगढी बजार चहार्दै चौराहा पुगेका थिए। 

खाना कतै नपाएपछि चौराहा पुगेका उनीहरु बझाङ फर्किने गाडी पाइन्छ कि भन्ने आशमा धनगढी चौराहामै बसिरहेका छन्। पीडा पोख्दै किमाडी भन्छन्, ‘लकडाउन हुन्छ भन्ने जानकारी थिएन, नाति सिकिस्त बिरामी भएर धनगढी आयौं, यहाँ विपत्तिमा परियो, घर फर्किन गाडी पाउँदैन होला?’ 

उनले धनगढी बजारमा खानेपानीसमेत नपाइएको दुखेसो पाखे। ‘एम्बुलेन्सले २०-२५ हजार भाडा भन्दैछन्, त्यति पैसा छैन, कहाँ जाने ? धनगढीमा कोही आफन्त पनि छैनन्’, किमाडी दुःख सुनाउँछन्। 

यस्तै श्रीमतीलाई सिपी अस्पतालमा उपचार गराइरहेका टीकाराम चौधरीलाई अस्पतालले बिहीबार रगत खोजेर ल्याउन पठायो। श्रीमतीलाई एक्लै अस्पतालमा छोडेर रगत खोज्न ब्लड बैंक निस्किएका चौधरीको मोटरसाइकलको चाबी प्रहरीले निषेधाज्ञा भन्दै समातेर राख्यो। प्रहरीलाई आफ्नो समस्या सुनाएर लगातार आग्रह गर्दासमेत मोटरसाइकल नछोडेपछि उनी पैदलै ब्लड बैंक निस्किए। 

जाग्री, कीमाडी र चौधरी उदाहरणका पात्र मात्रै हुन्, यसरी प्रशासन कार्यालय कैलालीले एकाएक जारी गरेको निषेधाज्ञाले सयौं सर्वसाधारण र बिरामी, निम्नवर्गीय नागरिक मर्कामा परेका छन्। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी समस्यामा परेका नागरिकलाई प्रशासनले सहयोग गरिरहेको बताउँछन्। उनले बिरामीहरुलाई खाना बस्न अस्पताल नजिकका होटलले बेलुका होटल खोल्न मिल्ने बताए। जोशीले भने, ‘हामी संकटको चरणमा छौं, सबैलाई भनेजस्तो र चाहेजस्तो सुविधा उपलब्ध नहुन पनि सक्छ।’ पहाडबाट आउने बिरामीलाई पासको आधारमा बिहान धनगढी प्रवेश दिइएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.