चारजना प्रहरीमा पनि संक्रमण देखियो
चारजना प्रहरीमा पनि संक्रमण देखियो
डडेल्धुरा : अछामस्थित बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र तीन बिरामी गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीन बिरामीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए।
ढुंगानाका अनुसार शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३७ जनामा संक्रमण देखिएको हो।
‘संक्रमितमध्ये १९ जना बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीहरु हुनुहुन्छ। त्यसमा पाँचजना चाहिँ प्रयोगशालामा काम गर्ने प्राविधिकहरू हुन्।’ स्वास्थ्य प्रमुख ढुंगानाले भने, ‘तीनजना अस्पतालमा उपचाररत बिरामी छन्। चारजना बयलपाटा क्षेत्रमा कार्यरत प्रहरी हुन्।’
यस्तै पञ्चदेवल बिनायक नगरपालिका नौ र बान्नीगढी जयगढ गाउँपालिकाका दुई जनामा पनि संक्रमण देखिएको ढुंगानाले जानकारी दिए।
बयालपाटा अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको उनले बताए। यसअघि पनि अस्पतालका दुईजनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो।
स्वास्थ्य प्रमुख ढुंगानाका अनुसार अछाममा कूल संक्रमितको संख्या ७८५ छ। जसमाध्ये ७०५ डिस्चार्ज भएका छन्। जिल्लाका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७७ संक्रमित विभिन्न आइसोलेसनमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।