|

सल्यान : भदौ ३ गते राती आएको बाढी-पहिरोबाट विस्थापित बागचौर नगरपालिका-१२ वाफुखोलाका ७१ घरपरिवारले अझै राहत पाउन सकेका छैनन्। बाढी-पहिरोले घरबार बगाएर विस्थापित बनेको चार दिन भइसक्दा समेत उनीहरुले राहत नपाएका हुन्‌। 

विद्यालय र छिमेकीहरूको घरमा बसेको चार/चार दिन भइसक्दा समेत राहत नसेकेको पीडित वीरसिंह डाँगीले बताए। उनले भने, ‘बस्दै आएको दुईवटै घर पहिरोले बगायो। भएको सबै सम्पत्ति पनि बचाउन सकिएन। अहिले छिमेकी घरमा शरण लिएर बसेका छौं। परिवारलाई खुवाउने एक गेडो चामल छैन, खै कहिले पाइने हो राहत?’ रातको २ बजे पहिरो आएपछि परिवारलाई बचाउन मात्रै सकेको, तर एक छाक खुवाउन र एकसरो कपडा समेत फेरिदिन नसकेको डाँगीले बताए।

घरको दुवैतिरबाट बाढी आएपछि विद्यालयमा बसेको चार दिन भएको, तर केही राहत नपाएको पीडित विमला वलीले बताएको छिन्‌। घरमा बस्नसक्ने अवस्था नभएपछि विद्यालयमा बस्दै आएको, तर अहिलेसम्म कुनै पनि निकायले वास्ता नगरेको उनको भनाई छ। उनले भनिन्‌, ‘अहिले पनि माटो बगाई रहेकाले अँधेरीको बस्ती नै जोखिममा रहेकाले स्थानान्तर गर्नुको विकल्प देखिँदैन।’

गत भदौ ३ गते आएको बाढी-पहिरोले १२ न वडाका तीन घर पूर्ण रुपमा क्षति भएका छन् भने झन्डै २०० घर पहिरोको उच्च जोखिममा परेका छन्। बाढी-पहिरोले घरमा क्षति पुर्‍याएपछि २५ घरपरिवार विद्यालय र बाँकी छिमेकीको घरमा बस्दै आइरहेको वडाध्यक्ष दीपक वलीले बताए।

विस्थापित र क्षतिको तथ्याङ संकलन भइरहेको अध्यक्ष वलीको भनाई छ। उनले भने, ‘मानवीय क्षति नभएपनि भौतिक क्षति धेरै भएको छ। वाफुखोला गाविसको साविकका वडा नं. ३,४ र ५ मा बढी क्षति पुर्‍याएको छ। तथ्याङ्क संकलनपछि राहत वितरण गर्ने  तयारीमा छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.