गाउँले भन्छन् : दु:ख बुझ्‍न आएका, दु:ख दिएर गए

|

कैलाली : सुदूरपश्चिमले यो वर्ष प्राकृतिक विपत्तिबाट ठूलो क्षति बेहोर्नुपरेको छ। साउनको मध्यतिर कैलालीको भजनीमा आएको बाढीले ३ जनाले ज्यान गुमाउनु पर्यो, थुप्रै घर बाढीले बगाएर लग्यो, सयौं परिवार घरबारविहीन बने। अहिले बाढी प्रभावितहरु जंगलमा त्रिपाल हालेर बसिरहेका छन्। 

कैलालीको यो पीडा सेलाउन नपाउँदै साउन २५ गते राति बाजुराको बुढीगंगा नदीमा आएको बाढीले ठूलो धनजनको क्षति गर्यो।  बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिका नदी छेउका बासिन्दाका सयौं संख्यामा घरहरु बाढीले बगाएर लग्यो। बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतकी आमालाई बाढीले बेपत्ता बनायो। 

बाढी पहिरोले तहसनहस बनाएको बाजुराका प्रभावित क्षेत्रको अनुगमनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली झण्डै एक हप्तापछि भदौ २ गते बाजुरा पुग्यो। 

मन्त्रीको टोलीले बाजुरामा राहत वितरण गरेर फर्किएको १२ घण्टा नबित्दै अछामको रामारोशन गाउँपालिकामा अप्रिय घटना भयो।  कैलाश खोलामा आएको बाढीले १७ जनालाई बेपत्ता बनायो। मध्यराति आएको बाढीले सैनीबजारलाई बगरमा परिणत गर्यो।

करोडौंको धनजनको क्षति गर्यो। बाढीले बेपत्ता बनाएका मध्ये ७ जनाको मात्रै शव भेटिएको छ, १० जना अझै बेपत्ता छन्। बाजुरा, अछाम यतिबेला शोकमा डुबेको छ। 

गृहमन्त्री थापा सहितको जम्बो टोली पुनः भदौ ५ गते (शुक्रबार) अछामको बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुगेको थियो। यो हप्ता दुई पटक सुदूरपश्चिम पुगेका गृहमन्त्री थापा दुवै पटक विभिन्न विवादमा तानिएका छन्। 

फल्न लागेको धानमाथि रमिता !

स्थलगत निरीक्षण भन्दै अछामको रामारोशन पुगेको गृहमन्त्री थापा सहितको टोलीले फल्न लागेको धान खेतमा रमिता देखाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। 
गृहमन्त्री थापा, उद्योगमन्त्री लेखराज भट्ट, नेकपा नेता भीम रावल, राष्ट्रिय सभा सदस्य तारामान स्वाँर र शेरबहादुर कुँवर लगायतका नेताहरुले शोकमा डुबेको गाउँमा पुगेर फल्न लागेको धान मासेर औपचारिक कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ। 

कैलाश खोलामा आएको बाढीले आधा खेत बगाएर लगेपछि बचेको धानखेत पनि नेताहरुले मञ्च बनाएर धानबाली मासेको भन्दै आलोचना भइरहेको हो। खेतमा आयोजना गरिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै धेरैले गृहमन्त्रीले धानबाली नदेखेको भन्दै आलोचना गरेका छन्। 

सोही फोटोमा धान बाली मासिएको स्पष्ट देखिन्छ, तर रामारोशन गाउँपालिकाले भने बाढीले खेतलाई बगरमा परिणत गरेको जनाएको छ। उक्त तस्बिरमा बाढीले बगाएको बगरमा अन्य स्थानीयलाई राखेको र धानखेत माथि मन्त्रीसहित विशिष्ट व्यक्तिले कुर्सी टेबल राखेर औपचारिक कार्यक्रम गरेको देखिन्छ।

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले सामाजिक दूरी कायम गर्न मन्त्रीसहित विशिष्ट व्यक्तिलाई माथि राखिएको र अन्य स्थानीयलाई तल राखिएको बताइन्। उनले भनिन्, ‘धानखेत मास्ने हाम्रो कुनै उद्देश्य हैन, बाढी प्रभावित क्षेत्रभन्दा दुई तीन सय मिटर टाढाको दृश्य हो, त्यही नजिक हेलिकप्टर भएको कारण त्यहाँ कार्यक्रम गरिएको हो।’ उक्त खेतमा भएको धान बाढीले बगाएर लगेको उनले दाबी गरिन्। 

रामारोशन गाउँपालिकाकै व्यवस्थापनमा उक्त स्थानमा औपचारिक कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँ शोकमा, मन्त्रीलाई माला मोह !

भदौ २ गते बाजुराको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्रीसहितको टोलीले फूलमाला लगाएको भन्दै आलोचना थियो। बुढीगंगा नदीले सयौं घरहरु बगाएर घरबारविहीन बनाएर गाउँ नै शोकमा डुबेको बेला मन्त्री सहितको टोलीले फूलमाला लगाएको भन्दै आलोचना भएको हो। 

गृहमन्त्री थापा, बाजुरा जिल्लाका प्रतिनिधिसभा सदस्य लालबहादुर थापा, नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बाढी प्रभावित क्षेत्रमा पुगेर फूलमाला लगाएका थिए। 

स्रोतका अनुसार प्रदेश पार्टी अध्यक्ष थापाले नै गाउँका मान्छेलाई खटाएर फूलमाला खोज्न लगाएका थिए। नेताहरुले हेलिकप्टरमा त्यहाँ पुग्नेबितिक्कै स्थानीयले मन्त्रीसहितको टोलीलाई माला लगाएका थिए। 

गाउँ शोकमा डुबिरहेका बेला प्रभावित क्षेत्रमा पुगेका नेताहरुलाई माला मोहले नछोडेको भन्दै गृहमन्त्री थापा आलोचित बनेका छन्। 

मन्त्रीज्युको हेलिकप्टरले छानो उडायो ! 

गृहमन्त्री थापा चढेको हेलिकप्टरले मार्तडीको नेपाली सेनाको थापाथलीस्थित सर्मजित गुल्मको छाना उडाएको थियो। भदौ २ गते दिउँसो १२ बजे गुल्म पुगेको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा हावाले गुल्ममा नेपाली सेनाको निवास उडाएको थियो। उक्त भिडियो खिचेर बाजुराका पत्रकार प्रकाश सिहंले सामाजिक सञ्जालमा राखेका थिए। 

सरकारी नियमको धज्जी उडाए !

नेपाल सरकारले अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। 

कोरोना भाइरस (कोभिड–१९) को महामारी बढ्दै गएका बेला मंगलबार गृहमन्त्री रामबहादुर थापासँगै बाजुरा पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उक्त निर्देशनको अवज्ञा गर्दै मास्क हातमा समातेको तस्विरसमेत निकै आलोचित बनेको थियो।

उनी गृहमन्त्रीको टोलीसँगै बाजुराको बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरणका लागि गएका थिए। तर कानुन मन्त्रीले सरकारी नियम लागू गरेको देखिएन। यसरी सरकारकै प्रतिनिधिबाट नियमको उल्लंघन हुँदा मन्त्री शाहको अहिले आलोचना भएको हो। 

रित्तो हात, झूटा आश्वासन !

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका २ आ वडाध्यक्ष डम्मर महतकी आमा बेपत्ता बनाएको थियो। सोही ठाउँका झण्डै एक दर्जन बढी घर बगाएको थियो। 

उक्त क्षेत्रको अनुगमन पुगेका गृहमन्त्री थापाले आश्वासनमात्रै दिएको स्थानीयले गुनासो गरेका छन्। पीडित परिवारका एक सदस्यले भने, ‘अन्य ठाउँमा मन्त्रीज्यूले राहत वितरण गर्नुभयो भन्ने सुनेको, हाम्रो गाउँ त खाली हात आउनुभएको थियो, आश्वासन मात्रै दिएर जानुभयो।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.