अधिकांश संक्रमितमा ट्राभल हिस्ट्री छैन

|

धनगढी : धनगढी उपमहानगरपालिकामा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५ जनाको ‘ट्राभल हिस्ट्री’ नभएका स्थानीय र दुई जना मात्रै तेस्रो मुलुकबाट आएका व्यक्ति छन्। योसँगै धनगढीमा स्थानीय संक्रमितको संख्या ४० पुगेको छ।

सोमबार १३ जना कोरोना संक्रमितमध्ये १२ जना त नै थिए। नेपालमै पहिलो पटक धनगढीमा स्थानीयमा संक्रमण देखिएको थियो। दुबईबाट आएका व्यक्तिबाट उनको परिवारमा कोरोना संक्रमण भएपछि स्थानीय संक्रमण सुरु भएको थियो। अहिले धनगढीमा कन्ट्याक्ट हिस्ट्री नभएकामा संक्रमण ह्वात्तै बढेको छ। 

ट्राभल हिस्ट्री नभएका शिक्षक, व्यापारी, बैंकका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको छ। विज्ञहरुले धनगढीमा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेको बताएका छन्। सिमाना गौरिफण्टासँग प्रत्यक्ष जोडिएको कारण धनगढीको स्थिति भयावह बनेको अनुमान गरेका छन्। 

धनगढीमा अहिले जहाँ जसले परीक्षण गर्यो, त्यहीँ संक्रमण देखिन थालेको छ। आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका स्थानीयमा संक्रमण बढेको धनगढी उपमहानगरका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए।

‘२०२ जनामध्ये ४० स्थानीयमा संक्रमण देखिनु खतराको सङ्केत हो’ स्वास्थ्य निरीक्षक उपाध्यायले भने, ‘ठूलो संख्यामा स्थानीयमा संक्रमण देखिन थालेको छ। अब समुदायमा परीक्षण दायरा बढाउन आवश्यक देखियो।’

संक्रमण बढ्दै गएपछि धनगढीलगायत जिल्लाभर भदौ ४ गतेदेखि १० दिनका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। हालसम्म धनगढीमा २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ४० स्थानीयवासीमा संक्रमण देखिएको हो। मंगलबार ट्राभल हिस्ट्री नभएका चार स्वास्थ्यकर्मी र एक स्थानीयमा संक्रमण देखिएको छ।

सेती अस्पतालमा कार्यरत थप चार कर्मचारीमा कोरोना पुष्टि

मंगलबार सेती प्रादेशिक अस्पतालका थप चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। 

योसँगै सेती अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिनेको संख्या ९ जना पुगेको छ। सोमबार धनगढी उपमहानगर–१ मा बस्दै आएकी ३० वर्षीया एक स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो। त्यसअघि सेती अस्पतालका १ स्वास्थ्यकर्मी र ३ जना सरसफाइ कर्मचारीमा कोरोना पुष्टि भएको थियो।

शिक्षिकाको सम्पर्कमा आएका चार जनामा संक्रमण 

धनगढीमा संक्रमित शिक्षिकाको सम्पर्कमा आएका एकै परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सोही विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका, उनकी सासू, ससुरा र जेठानी रहेका छन्।

वडा नम्बर ५ की शिक्षिकामा शनिबार संक्रमण पुष्टि भएपछि परिवारका ७ जना सदस्यको परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो। 

कैलालीका ८ स्थानीय तहमा स्थानीय संक्रमण

कैलालीमा कोरोना संक्रमित संख्या १४ सय ९५ पुगेको छ। १३ वटा स्थानीय तह रहेको कैलालीमा हालसम्म ८ स्थानीय तहमा स्थानीय संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

सबैभन्दा बढी धनगढी उपमहानगरमा ३५ जना, टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका, गोरावादी नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिकामा स्थानीय संक्रमण देखिएको छ।

अधिकांश कोरोना संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, चालक प्रहरी र जनप्रतिनिधि रहेका स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए।

मृत्यु भएको ९ दिनपछि रिपोर्ट पोजेटिभ

कैलालीको बर्दगोरीया गाउँपालिका–५ का ४९ वर्षीया पुरुषमा मृत्यु भएको नौ दिनपछि कोरोना पुष्टि भएको छ। उनको झाडापखालाको कारणले मृत्यु भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लाल बहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.