जनकपुरधाम : एसइई परीक्षामा नम्बर बढी दिने भन्दै जनकपुरका निजी विद्यालयले विद्यार्थीबाट रकम असुलेको खुलेको छ।
विद्यालयले भने अनुसारको नम्बर नआएपछि विद्यार्थीले रकम असुलेको खुलासा गरेका हुन्। जनकपुरस्थित मिथिला मन्टेश्वरी स्कुलले नम्बर बढी दिने नाममा २० देखि ३० हजारसम्म रुपैया असुली गरेको छ। एक विद्यार्थीले आफूसँग स्कुलले ३० हजार रुपैया लिएपछि भने अनुसारको नम्बर नआएको बताए।
उनले थाहा खबरसँग भने, ‘प्रिन्सिपल कुशेश्वर महासेठले ३० हजार दिएपछि ९० प्रतिशत नम्बर आउने भन्नुभएको थियो। सबै विद्यार्थीले दिएपछि म पनि रकम दिएँ। तर नम्बर त्यति आएको छैन।’ उनले रिजल्ट देखेपछि ८३ प्रतिशत नम्बर मात्र आएको सुनाए।
‘प्रिन्सिपल सरले भने अनुसारको नम्बर नआएपछि उहाँलाई फोन गरेँ’, उनले भने, ‘फोनमा उहाँले ८० देखि ९० प्रतिशत आउँछ मात्र भनेको हुँ भन्दै उल्टै मलाई थर्काउनुभयो।’
परीक्षा नजिक आएपछि स्कुलले सिट प्लानिङका लागि पनि ५ हजार लिएको उनले सुनाए। अन्य विद्यार्थीसँग पनि सिट प्लानिङका लागि ५ हजारका दरले स्कुलले उठाएको उनको भनाई छ।
एक अर्का विद्यार्थीले पनि आफुसँग प्रिन्सिपल महासेठले २५ हजार रुपैया लिएको बताए। उनले भने, ‘मलाई पनि ९० प्रतिशत नम्बर दिन्छु भन्नुभएको थियो। तर ८१ प्रतिशत नम्बर मात्र आएको छ।’ सिट प्लानिङका लागि आफुसँग पनि ५ हजार लिएको उनले बताए।
‘कोरोना भाइरसका कारण परीक्षा नभएपछि आफुहरुले कम्तिमा सिट प्लानिङ बापत लिएको रकम प्रिन्सिपल महासेठसँग फिर्ता मागेको थिए’, ती विद्यार्थीले भने, ‘उहाँले फिर्ता गर्छु भन्ने आश्वासन दिनुभएको थियो। तर अझै फिर्ता गर्नु भएको छैन।’
सिट प्लानिङ बापत ५ हजार र नम्बर ९० प्रतिशत दिने भनेर २५ हजार लिएको तर नम्बर भनेअनुसार नआएपछि रकम फिर्ता गर्न प्रिन्सिपललाई भनेपनि वास्ता नगरेको उनले गुनासो गरे।
एक विद्यार्थीले रकम लिएर पनि भनेअनुसार नम्बर किन नदिएको भन्दै प्रिन्सिपल महासेठसँग गरेको कुराकानीको अडियो उपलब्ध गराएका छन्। अडियोमा प्रिन्सिपल महासेठले भनेका छन्, ‘मैले त ८० देखि ९० प्रतिशत नम्बर आउँछ मात्र भनेको हुँ।’
प्रिन्सिपल महासेठको कुराले विद्यार्थीबाट रकम लिएको पुष्टि हुन्छ। तर प्रिन्सिपल महासेठले नम्बर बढी दिन्छु भनेर कसैसँग रकम नलिएको दावी गरेका छन्। रकम लिएको स्वीकार गरेको अडियो फेला परेकोबारे बुझ्न खोज्दा उनले भेटेर कुरा गर्नुस् भन्दै फोन काटे। त्यसपछि पटक पटक फोन गर्दा उनले रिसिभ गरिरहेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।