खोपको क्लिनिकल परीक्षण ४ चरणमा

|

काठमाडौं : आठ महिनादेखि विश्वले कोरोना भाइरस महामारी खेपिरहेको छ। विश्वका धेरै मुलुकका वैज्ञानिक यतिबेला यो महामारीबाट छुटकारा पाउन खोप निर्माणमा तल्लीन छन्। केही देशले खोपको परीक्षण समेत थालिसके।

कोरोना भाइरसबाट पूर्णरुपमा छुटकारा पाउने एउटै विकल्प भ्याक्सिन अर्थात खोप नै हो। अहिलेसम्म भइरहेका सबै प्रयास रोकथाम मात्रै हुन्। त्यसैले नेपालको नजर पनि विश्वमा निर्माण भइरहेका खोपमा केन्द्रित भएको छ।

कोरोना भाइरसविरुद्ध विभिन्न देशमा निर्माण भइरहेकामध्ये केही खोपको नेपालमा पनि परीक्षण तयारी थालिएको हो। चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षणका तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बद्ध अधिकारीहरूले बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार कोरोनाविरुद्धको खोप परीक्षण गर्ने प्रारम्भिक चरणमा सरकार रहेको छ। विभिन्न‍ देशले नेपालमा खोप परीक्षणका लागि आग्रह गरेका उनले बताए।

तर, नेपालमा यी खोपको परीक्षण मात्रै हुन्छन् कि सबैले प्रयोग गर्न पाउनेगरी आउँछन् भन्ने प्रश्नमा डा. ज्ञवालीले हाललाई पूर्णतया: परीक्षण गर्नमात्रै खोजिएको बताएका छन्‌।

यो कम्पनीले निर्माण गरेको खोप नेपालका १ हजार स्वयंसेवकमा परीक्षण गर्न पनि छलफल चलिरहेको छ। ज्ञवालीले थाहा खबरसँग भने, ‘चीनको एउटा बायो-मेट्रिक कम्पनीले खोप परीक्षणका लागि हामीलाई आग्रह गरेको छ, यसका लागि हामीले विज्ञसँग छलफल गर्नुपर्छ, शनिबार बस्दैछौँ। उनीहरूसँगको छलफलपछि अहिलेसम्म भएका सबै डकुमेन्टेसन पढ्छौ। त्यसपछि यो ठीक छ भनेपछि हामी प्रक्रियामा जान्छौं।’

कोरोना भाइरसका संक्रमित पहिलोपटक चीनमै देखिएका थिए। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर खोप निर्माण गरिरहेको छ। त्यहाँ उत्पादित खोपको तेस्रो चरण परीक्षणका लागि नेपाललाई चीनले नै प्रस्ताव गरेको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका क्लिनिकल ट्रायल कन्सल्ट्यान्ट डा. जनक कोइरालाले अक्सफोर्डको खोप आगामी सेप्टेम्बरसम्म परीक्षणका लागि आइपुग्ने बताए। 'अमेरिकाले नेपाललाई खोप सजिलै दिँदैन,' उनले भने, ‘चीन, भारत र रसियाले नेपाललाई खोप दिने भनेको छ, ती खोपहरू पनि नोभेम्बर डिसेम्बरसम्म आइपुग्छ भन्ने हामीले आशा राखेका छौं, तर अहिले तुरुन्तै भने आइपुग्दैन।’

अहिलेसम्म ७ वटा कम्पनीहरू खोपको तेस्रो चरण परीक्षणमा जुटेका छन्। खोप परीक्षणको चर्चा अघि बढेपनि परिषद्ले इथिकल कमिटी र परीक्षणको मापदण्ड बनाउनै बाँकी छ। नेपाल सरकारले विभिन्‍न मुलुकमा परीक्षणको तेस्रो चरणमा रहेका खोप परीक्षण गर्ने भएको हो।  डा. कोइरालाका अनुसार ४ वटा चरणमा खोपको परीक्षण गरिन्छ।

खोपको परीक्षण सबैभन्दा पहिले जनावरमा गरिन्छ। तर यसलाई खोप परीक्षणको चरणमा भने मानिँदैन। डा. कोइरालाका अनुसार खोपको क्लिनिकल परीक्षणमा ४ वटा फेजमा गरिन्छ।

पहिलो फेज : स्वस्थ स्वयमसेवक

पहिलो फेजमा १० देखि १२ जना स्वस्थ स्वयंसेवकलाई सानो डोज दिएर खोपको प्रभावकारिताका विषयमा अनुसन्धान हुन्छ। उनीहरूमा राम्रो प्रभावकारिता देखिए फेज २ को परीक्षण थालिन्छ।

दोस्रो फेजः डोज एस्कलेसन

​पहिलो फेजमा परीक्षण गरिएका स्वयंसेवकमा डोज बढाउदै जाने प्रकृयालाई डोज एस्कलेसन भनिन्छ। कति डोजसम्म दिँदा उनीहरूमा बिना साइडइफेक्ट राम्रो  नतिजा आउँछ भन्ने परीक्षण थालिन्छ र एन्टीबडी नापिन्छ। त्यसको डोज पत्ता लगाई सकेपछि तेस्रो फेजमा परीक्षण थालिन्छ।

तेस्रो फेज : हजारौं मानिसमा परीक्षण

यो फेजमा हजारौंलाई भ्याक्सिन दिँदा यसको साइड इफेक्ट बुझिन्छ। त्यसमा बालक, बृद्ध र कमजोर व्यक्ति तथा स्वास्थ्यको अवस्था हेरेर जाँचिन्छ। त्यसअनुसार कुन समूहका व्यक्तिमा कस्तो असर गर्छ र कुन समूहको मान्छेमा कस्तो प्रभाव पर्छ भन्ने परीक्षण हुन्छ। त्यसमा सफल भएमा चौथो चरणको परीक्षण हुन्छ। यो फेज सबैभन्दा महत्वपुर्ण हो।

चौथो फेज : बजारमा बिक्री

तेस्रो चरणमा हजारौँलाई दिइएको खोप चौथो चरणमा बजारमा बिक्रीको अनुमति दिएर लाखौं मानिसहरूमा परीक्षण हुन्छ। यो फेजमा कतिलाई राम्रो–नराम्रो गर्छ जाँचिन्छ। ​यसरी परीक्षण गरिएका व्यक्तिहरूको गोपनीयताको हक भने सुरक्षित रहन्छ।

संक्रमणका हिसाबले नेपालको हालत पछिल्लो समय झन् खराब बन्दै गइरहेको छ। संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहेका बेला खोपको परीक्षण थाल्ने समाचारसँगै नेपालीमा नयाँ आशाको संचार गराएको छ।

उनले भने, ‘परीक्षण गरिरहँदा यसको प्रभावकारिता कस्तो छ भन्ने जाँच हुन्छ, राम्रो भ्याक्सिन छ भने सहभागीलाई फाइदा हुन्छ। अर्को कुरा, अहिले नेपालले परीक्षण गर्दा खोपमा सफलता मिले पहिला नै सम्झौता गर्नसक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.