​सेटिङ मिलाएर भारतीयलाई प्रवेश दिएको आरोप

|

धनगढी : कैलालीसँग प्रत्यक्ष सीमा जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकामा बुधबारदेखि कञ्चनपुरकै सुरक्षाकर्मीको टोली खटिएको छ। कञ्चनपुरको भूभागमा पर्ने गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा भदौ १० सम्‍म कैलालीको सुरक्षा टोलीले ड्युटी गर्दै आएको थियो।

गौरीफन्टा नाकामा कञ्चनपुरबाट सशस्त्र प्रहरीका इन्सपेक्टर शैलेन्द्र चैसेरको कमान्डमा खटाएको छ। उक्त टोलीले जिम्मेवारी पाएको २४ घण्टा नबित्दै विवादमा तानिएको छ। आर्थिक प्रलोभनमा परी सीमा नाकाबाट मिलेमतोमा धमाधम भारतीय नागरिक नेपाल प्रवेश गर्न दिइरहेको पाइएको छ। 

धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपडा पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना सुरक्षाकर्मीहरुले नेपाल प्रवेश दिइरहेका छन्। बुधबार र बिहीबार मात्रै १० जनाभन्दा बढी भारतीय नागरिक नेपाल प्रवेश गरेका छन्।

उनीहरू भारतको बरेली, पलिया, खिरी लगायतका विभिन्न स्थानबाट आएर क्वारेन्टिन नबसेरै धनगढीमा व्यवसाय गर्न थालेका छन्। भारतबाट आउनेहरुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ। तर सीमामा सुरक्षाकर्मीहरुले सहजै प्रवेश दिएपछि क्वारेन्टिनमा नबसी धनगढीमा खुलेआम घुमिरहेका छन्। यसले धनगढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढेको छ।

बिहीबार भारतको बरेली घर भई धनगढीमा शिवम हाड्रवोर सञ्चालन गरिरहेका एकै परिवारका चार जना बिना चेकजाँच सशस्त्र प्रहरीसँगको मिलेमतोमा सहजै नेपाल आए। उनीहरु क्वारेन्टिनमा समेत बसेका छैनन्। यसरी प्रहरीलेनै आर्थिक प्रलोभनमा परेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोना भाइरसको जोखिम बढेको हो।

धनगढी बजारमा ठूला व्यापारी र उद्योगहरुमा काम गर्ने धेरैजसो भारतीय नागरिक रहेका छन्।

नेपालीहरूलाई मात्र प्रवेश दिइएको दाबी

सशस्त्रका इन्सपेक्टर चैसेरले नेपाली नागरिकता भएकाहरुलाई मात्रै नेपाल प्रवेश गराएको दाबी गरे। उनले भने, ‘त्यसरी भारतीय नागरिक पठाएका छैनौँ, इन्ट्री गरेर मात्रै नेपाल प्रवेश दिएका छौँ, त्यसरी नेपाल प्रवेश गरेको हामीलाई कुनै जानकारी छैन, हामीले त्यसरी पठाएका पनि छैनौँ।’

उता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १० गते मात्रै गौरिफन्टा नाकामा कञ्चनपुरको टोली खटिएको र त्यसरी भारतीय नागरिकलाई प्रवेश दिन नमिल्ने बताए। उनले भने, ‘लुकिछिपी अवैध नाकाबाट आएको खण्डमा कैलाली प्रहरीले हेर्ने हो, गौरिफन्टाबाट त्यसरी प्रवेश गराईएको हामीलाई कुनै जानकारी छैन।’

यस्तै, त्रिनगर सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्सपेक्टर पुष्पराज शर्माले आफूलाई हिजोदेखि जिम्मेवारीबाट हटाएको र कैलाली प्रवेश गर्ने बेला मात्रै चेकजाँच गर्ने गरेको बताए। उनले भने, ‘हाम्रो तर्फबाट त्यसरी प्रवेश दिनेभन्ने कुरा हुँदैन, जिम्मेवारी कञ्चनपुरबाट खटिएको टोलीको हो, राम्रोसँग हेरिदिनु भनेर आग्रह गरेका छौँ।’

कैलालीको सुरक्षा टोलीले मोहनापुल वारि मात्रै हेर्ने भएको छ। नाका स्थापना भएदेखि नै गौरीफन्टामा कैलालीको सुरक्षा टोली खटिएको थियो। डोकेबजार क्षेत्रमा भारतबाट आएका नागरिकलाई नराख्न र उक्त क्षेत्रमा खटिएको कैलालीको सुरक्षा टोलीलाई फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दबाब दिँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.