|

धनगढी : धनगढीका पहिलो कोरोना संक्रमित अमृत शाही झण्डै ६ महिनापछि सामान्य जीवनशैलीमा फर्किएका छन्। चैत ७ गते दुवईबाट दिल्ली–काठमाडौँ हुँदै चैत ८ गते बुद्ध एयरबाट नेपालगञ्ज हुँदै धनगढी घर पुगेका शाहीलाई चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

चैत ११ गते कोरोनाको आशंकामा सेती प्रादेशीक अस्पताल पुगेका शाहीलाई केन्द्रीय प्रयोगशालाले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। कोरोना पुष्टि भएपछि उनी झण्डै एक महिना सेती अस्पतालको आईसोलेशनमा बसेका थिए। नेपालका चौथो संक्रमित शाही कोरोनालाई पराजित गरेर घर फर्किंदा समुदायका अन्य मानिसले उनलाई हेर्ने नजर र गर्ने व्यवहार भिन्न किसिमको थियो।

संक्रमित भएको थाहा पाएपछि परिवारलाई दुव्र्यवहार गर्ने, घरको बाटो हिड्न नदिने, परिवारसँग नबोल्ने लगायतका समुदायमा मानिसहरुको व्यवहार खेपेका शाही अहिले सामान्य जिवनशैलीमा फर्किएको अनुभव सुनाउँछन्।

कोरोनालाई जितेर घर फर्किएको केही महिनासम्म पनि समुदायमा अन्य मानिसले संक्रमितको जस्तै गर्ने व्यवहारले मन्न खिन्न हुने गरेको पीडा सुनाउँदै शाहीले भने, ‘अहिले समाजका अन्य मानिसले गर्ने व्यवहार सामान्य भएको छ, सुरुसुरुको जस्तो छैन’, उनी थप्छन्, ‘सुरुमा घर फर्किंदा आफैँलाई डर लाग्थ्यो, कतै परिवार छरछिमेकका अरूलाई पनि संक्रमण देखन्छि कि भनेर, तर सोचे जस्तो भाउजूबाहेक कसैलाई देखिएन।’

उनी अहिले ढुक्क छन्, कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएको केही हप्तासम्म छुट्टै होम क्वारेन्टिमा बसे पनि अहिले परिवारसँग रमाएका छन्, उसैगरी जसरी आफू संक्रमित हुनभन्दा अगाडि थिए।

फेरी संक्रमण नहोस् र परिवारका अन्य सदस्यको सुरक्षाको लागि सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सावधानिका उपायहरु नियमित अपनाउने गरेका छन्। उनले सबैलाई सचेत रहन र घरमै सुरक्षीत भएर बस्न आग्रह गरे।

धनगढीको तारानगरमा स्थिति भयावह

अमृत शाहीको घर भएकै क्षेत्रमा अहिले कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ। धनगढी उपमहानगरपालिका–५ को तारानगर क्षेत्रमा सबैभन्दा बढी स्थानियमा संक्रमण फैलिएको छ।

तारानगर अहिले कोरोना भाइरस संक्रमणको हटस्पट बन्ने खतरा बढेको छ। बिहीबारसम्म तारानगरका ३७ जना भन्दाबढी स्थानियमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मात्रै तारानगरकै १५ जना स्थानियमा संक्रमण पुष्टि भएको छ। चैत १४ गते नेपालमै पहिलोपटक तारानगर क्षेत्रमा शाहीकै भाउजुमा स्थानिय संक्रमण देखिएको थियो।

उप–महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायका अनुसार धनगढीका सबै वडामध्ये वडा नम्बर ५ को तारानगरमा स्थानीय संक्रमण बढी फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.