उच्‍च आत्मबलको जरुरी

|

कञ्चनपुर : ‘सामाजिक दूरी कायम छैन भने जतिसुकै प्रयत्न गर्नोस् कोरोनाको संक्रमणबाट बच्न सकिँदैन। कोरोनाको संक्रमणबाट जोगिने उत्तम उपाय भनेकै सामाजिक दूरी रहेछ।’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ पिपलाडी स्वास्थ्य चौकीमा ल्याब सहायकका रुपमा काम गर्दै आएका वसन्त धामीले भने, ‘हजारौं व्यक्तिको स्वाब लिने कार्य गरे कोरोनाको संक्रमण भएन। सरकारी कार्यालयमा कामका लागि जाँदा सामाजिक दूरी कायम गर्न नसक्दा कोरोनाको संक्रमणमा परे।’

चार महिनादेखि भारतबाट फर्केका व्यक्तिहरुको पिसिआर चेकजाँचका लागि स्वाब लिने कार्य गर्दै आएका धामीमा साउनको दोस्रो साता एक्कासि रुघाखोकीले समात्यो।

रुघाखोकी लागेपछि उनी सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा पुगेर स्वाब दिए दुई दिनपछि नतिजा पोजेटिभ आयो। कोरोनाको प्रारम्भिक लक्षणहरु देखापरेपछि धामी होम क्वारेन्टाइनमा बसिसकेका थिए।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखले स्वाबको नतिजा पोजेटिभ आएकाले सावधानी अपनाउन भने। ‘अप्ठेरो भए महाकाली अस्पतालमा जाँदा हुन्छ। एम्बुलेन्सको व्यवस्था मिलाउनुपर्छ भने मिलाउछौं’ स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले भने।

प्रत्युत्तरमा धामीले ‘घरमै शुरक्षित तरिकाले बस्छु। अप्ठेरो परे खबर गर्छु’ भने। आत्मबल बलियो गरेर घरमै आइसोलेट भएर बसेका धामी १४ दिनमा निको भए। सेती प्रादेशिक अस्पतालमा दोस्रो पटक स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हाउस आइसोलेसनबाट मुक्त भएर पुनः काममा फकिए। 

‘घरमै गुर्जो, अदुवा, हल्दी हालेको चिया दिनको पाँच पटकसम्म खाने गरेँ’ धामीले भने, तातोपानीको प्रयोगलाई बढाउँदै लगे। कोरोनासँगै जितेरै छाडे।’ भारतबाट फर्केका व्यक्तिहरुको स्वाबको नमुना लिने कार्यदेखि आरडिटी चेकजाँच गर्दा रगतको नमुना लिने कार्यमा लापरबाही नअपनाएको उनी बताउँछन्।

‘नगरपालिकाले उच्च गुणस्तरको पिपिई सेट उपलब्ध गराउँदै आएको थियो’ उनले भने, ‘एकपटक पिपिई सेट प्रयोग गरी सकेपछि। अर्कोपल्ट नयाँ पिपिइसेट प्रयोग गर्दै आएका थियौं।’

 पुरानोलाई प्रयोगपश्चात नष्ट गरी नयाँ पिपिई सेट प्रयोग अहिले पनि प्रयोग गर्दै आएको उनले बताए। ‘घरमै सञ्चालन गरेको मेडिकलमा समेत निकै सावधानी अपनाएर मात्रै उपचार गरिँदै आएको छ। पसलको कर तिर्नका लागि र व्यवसाय नवीकरण गर्नका लागि महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालय र घरेलु कार्यालय पुगेको थिए’ उनले भने, ‘त्यहाँ निकै भिडभाड थियो।

सामाजिक दूरी कायम गराइएको थिएन। भिडमै मिसिएर दुवै कार्यालयमा उपस्थित भएको केही दिनमै रुघाखोकीले समात्यो। सामान्य रुघाखोकी होला भनेर सोचेँ।

स्वाबको नतिजामा कारोनो नै भएको पुष्टि भएपछि घरमै बसेर कोरोना निको पारेँ।’ उनी भन्छन्, ‘समुदायबाटै मलाई कोरोनाको संक्रमण भएको हो। समुदायमा समेत कोरोना संक्रमण भए नभएको यकिन गर्न परीक्षणको दायरा बढाउनुपर्छ।’ कोरोनाको संक्रमणबाट बच्ने मुख्य कुरानै सामाजिक दूरी भएको उनी बताउँछन्। सामाजिक दूरी कायम गर्ने, सकभर भिडमा नहिँड्ने हिँड्नै परे मास्कको प्रयोगमा जोड दिनुपर्ने उनको सुझाव छ।

उच्‍च आत्मबलको जरुरी

कोरोनाको संक्रमण भइहाले पनि डराउनु पर्दैन उनले भने, ‘आत्मबल दह्रो पार्नुपर्छ। तातो झोलिलो पदार्थको प्रयोग बढी गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने गर्नु पर्छ। कोरोना आफै भाग्छ।’ सडकमा हिडने सबैलाई कोरोना संक्रमित ठानेर टाढा रहने गरे कोरोना नसर्ने उनको भनाई छ। होम क्वारेन्टाइनलाई तत्काल हटाउनु पर्ने उनको सुझाव छ।

 होम क्वारेन्टाइनले गर्दा समुदायमा कोरोनाको संक्रमण बढन सक्ने भएकाले स्थानिय तहले एक ठाउमा सुरक्षित क्वारेन्टाइन बनाउनु पर्ने उनले बताए।

 ल्याव असिष्टेन्ट धामीले हाल सम्म भारतबाट फर्केका नगरपालिका क्षेत्रका एक हजार ५८ जनाको पिसिआर चेकजाँचका लागि स्वाव संकलन गरी प्रयोगशालामा पठाएका छन्। जसमध्ये ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। धामीले दुई हजार दुई सय ४४ जनाको आरडिटि चेकजाँच गरेकोमा जस मध्ये एक सय ७० जना पोजेटिभ देखिएका छन्।

 नगरपालिकामा भारतबाट फर्केका व्यक्तिहरुको स्वाब संकलन गर्ने कार्यमा धामी सक्रिय रुपमा लागेका छन्। कोरोनाको संक्रमणपश्चात् पूर्ववत रुपमा उनले स्वाब संकलन गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.