'दुई मिटरको के कुरा, एक बित्ता ठाउँ रहे अर्कैले पालो मिच्‍ने पीर'

|
विद्युत् प्राधिकरण धनगढीमा आइतबार पैसा तिर्नेहरूको लाइन।

धनगढी : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र धनगढीमा बिहानैदेखि बाक्लो भिडभाड, सेवाग्राहीहरू लाइनमा बसिरहेका थिए। बिल काउन्टरको बाहिर सेवाग्राहीहरू बिल बुझाउन तँछाडमछाड गरिहेको देखिन्यो।

विश्व स्वास्थ्य संगठनले भनेको न्यूनतम सामाजिक दूरी त के, कसैलाई नछोई काउन्टरमा बिल तिर्न मुश्किल पर्‍थ्यो। विद्युतको बिल तिर्नेहरूको लाईन निकै ठूलो थियो। दूरी कायम पटक्कै थिएन। कसैले दूरी कायम गरेका छैनन्। अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर।

धनगढी उपमहानगरपालिका–५ तारानगरकी रिना चौधरी झण्डै ६ महिनाको बिल भुक्तानी गर्न आइतबार बिहानै (१० नबज्दै) विद्युत् कार्यालय पुगिन्। विद्युत कार्यालयले लाईन् काटने डरले उनी कोरोनाको कहरबीच बिल तिर्न विद्युत कार्यालय पुगेकी हुन्। चौधरीले भनिन् ‘भिडभाड कम होला भनेर बिहानै आए, यता त मभन्दा पहिल्यै लाइन लागिसकेको रहेछ, चैतदेखिको बिल बाँकी छ, लाइन काट्ने हुन कि भन्ने डरले बिल तिर्न आएँ।’

सरकारले गरेको लकडाउन गरेका कारण ६ महिनाको बिल तिर्न बाँकी भएकोले कोरोनाको प्रवाह नै नगरी आएको उनले सुनाइन्।

धनगढी विशालनगरका प्रकाश विष्ट पनि आइतबार विद्युतको बिल तिर्ने लाइनमै उभिएका थिए। उनलाई पनि लामो समयसम्म बिल नतिरे विद्युत् कार्यालयले लाइन काट्ने हो कि भन्ने पीर थियो। ‘प्रशासनले निषेधाज्ञा भन्छ, विद्युत् कार्यालयले बिल तिर्न बोलाउँछ, बाटोमा आए ट्राफिकले जरिवाना काट्छ खै नियम पनि कस्ता हुन् कस्ता’ विष्टले प्रश्न गरे। 

जरिवाना पर्ने पीरमा विद्युतको बिल तिर्न गेटाबाट धनगढी आएका डम्बर चटौत पनि लाईनमै उभिएका थिए। खाना नखाएरै घरबाट हिँडेका चटौतलाई कोरोनाको डर खासै थिएन। उनले प्रश्न गर्दै भने, ‘खै कहाँ छ कोरोना? कसलाई लाग्छ कोरोना।’ भन्दै उनी कोरोना भ्रम भएको र कोरोनाले केही असर नगर्ने भन्नेमा विश्वस्त थिए।

यस्तै, आइतबार धनगढीका सबै बैंकहरूमा पनि भिडभाड उस्तै थियो। बैंकहरूमा अधिकांश किस्ता तिर्नहरूको लाइन् थियो। धनगढीकै कुमारी बैंकमा किस्ता तिर्न लाइनमा बसेका गणेश जोशीले भने ‘बैकंले समयमा किस्ता नतिरे, जरिवान थप्दिन्छु भनेको छ, १४ दिनसम्म निषेधाज्ञा भयो, आज बल्ल आएको ठूलो लाइन रहेछ।’

कैलालीमा १९ गतेसम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गतेदेखि १९ गतेसम्म जिल्लाभर पुर्ण रुपमा निषेधाज्ञा जारी गरेको थियो। आइतबारदेखि भने प्रशासनले निषेधाज्ञा केही खुकुलो गरेको छ। निषेधाज्ञा खुकुलो गरेसँगै धनगढीमा भिड्भाड ह्वात्तै बढेको हो।

विभिन्न कार्यालयहरूसँगको समन्वयबिना प्रशासनले गरेको निषेधाज्ञाले धनगढीमा भिडभाड बढेको प्रष्ट छ। प्रशासनको अपरिपक्क निणर्यले सर्वसाधारण निकै मारमा परेका छन्। निषेधाज्ञाको समयमा विद्युत् कार्यालयले जरीवाना गर्ने, बैंक वित्तीय संस्थाहरूले ब्याज बढाउने, यातायात, राजस्व कार्यालयहरूले कर तिर्न म्याद नथप्ने, सरकारी कार्यालयका कामहरू नियमित रुपमा सञ्चालन भएपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो।

धनगढीमा कोरोना भाईरस (कोभिड–१९) को महामारीले भयावह रुप लिईरहेको छ। स्थानियमा संक्रमण फैलिदै गएपछि धनगढीका कतिपय टोलहरू सिल हुँदै गएका छन्।

स्थानिय ‘ट्राभल हिस्ट्री’ नभएकाहरूका संक्रमणदर बढ्दो क्रममा छ। विज्ञहरूले धनगढीमा कोरोना भुसको आगोझै फैलिसकेको समेत दाबी गर्दै आएका छन्। प्रशासनले निषेधाज्ञा पूर्ण रुपमा अन्त्य गरेको छैन्। प्रशासनलाई संक्रमित बढेको खण्डमा पुनः निषेधाज्ञा गर्नसक्ने अधिकार छ। तर सर्वसाधारणले भने नियमित सास्ती भोग्नु परेको छ।

समयमै बिल नतिरे जरिवाना लाग्‍नु स्वाभाविक

यता बिद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख सुरेन्द्र चौधरीले समयमा बिल नतिरे जारिवाना लाग्ने स्वाभाविक भएको बताए। उनले लामोसमय लकडाउन र निषेधाज्ञापछि भएको कारणले भिडभाड बाक्लो भएको बताए। चौधरीले निषेधाज्ञाकै कारण कार्यालयमा भिडभाड बढेको स्वीकार गरे। उनले भोलिदेखि भिडभाड नियन्त्रण गरेर सेवा प्रदान गर्ने बताए।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रशासनलाई दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरीएको दाबी गरे। जोशीले सबै सरकारी कार्यालय, वित्तीय संस्था लगाएतका कार्यालयहरूसँग समन्वय गर्न नसकेको स्विकार गरे।

‘निषेधाज्ञाकै कारण भिडभाड् बढेको भन्न मिल्दैन, नियम पालना गर्नु सबैको दायित्व हो, प्रशासन एक्लैले मात्रै केही गर्न सक्दैन्।’ जोशीले भने ‘कतिपय कामहरू अनलाइन स्टिमबाट पनि हुने गर्छन्, कार्यालयमै आउनुपर्छ भन्ने हुँदैन, अहिलेको अवस्थामा समस्या सबैलाई परेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.