तीन सय बढीले सम्झौता र १० प्रतिशतले मापदण्ड नै पूरा गरेनन्

|

पर्वत : वि.सं. २०७२ सालमा भूकम्पमा क्षतिग्रस्त भएकामध्ये पर्वतमा जम्माजम्मी ५१ प्रतिशत घर बनाइएको छ। भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि जिल्लामा आवास पुनर्निमार्णको काम अझै ४९ प्रतिशत बाँकी छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय पर्वतका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण ५ हजार ५ सय १२ घर पूर्णरुपमा क्षतिग्रस्त भएकोमा हालसम्म २ हजार ७ सय ९९ वटा घरहरू मात्रै पुनर्निर्माण गरिएको छ। जुन, कुल लाभग्राहीको सङ्ख्यामध्ये ५१ प्रतिशत हो।

घर निर्माण गरिसकेका ५१ प्रतिशत लाभग्राहीलाई तेस्रो किस्ताको रकम समेत भुक्तानी दिइसकिएको छ। कार्यालय प्रमुख कृष्णराज गौतमका अनुसार निजी आवास पुनर्निर्माणका लागि अहिलेसम्म पहिलो किस्ता बापतको रकम ५ हजार १ सय २४ जनाले र दोस्रो किस्ता बापतको रकम ३ हजार ६ सय ७१ जनाले बुझेका छन्। तर २ हजार ७ सय ३३ वटा घर भने निर्माण हुन बाँकी नै छ।

‘जिल्लामा अहिलेसम्म २ हजार ७ सय ३३ वटा घर निर्माण हुन बाँकी छ। ५५ सय १२ वटा घर पूर्ण रूपमा क्षति भएकोमा ५१ प्रतिशतले मात्र निर्माणको काम सक्नुभएको छ,’ गौतमले भने, ‘कतिपय त अझै पनि सम्झौताका लागि आउनुभएको नै छैन। चैतसम्ममा निर्माण पूरा गर्न ताकेता गरेका छौँ।’ पूर्ण क्षति भएका लाभग्राहीका रूपमा सूचीकृत भएकामध्ये ३ सय ८८ घरधनीहरू अझैसम्म पनि सम्झौता गर्न नआएको बताउँदै उनले निर्माणको लागि दोस्रो किस्ताको रकम लगिसकेका कतिपयले मापदण्ड नै पूरा नगरेको पाइएको जानकारी दिए। तोकिएको मापदण्ड पूरा नगरेका करिब १० प्रतिशत घरधनीहरूलाई ताकेता गरेर मापदण्ड पूरा गराउन भनिएको छ।

जिल्लामा आंशिक क्षतितर्फ ६ सय ४१ घर सूचीकृत छन्। २ सय ७६ घरले पहिलो किस्ता लगे पनि दोस्रो किस्ता कसैले पनि लगेका छैनन्। ३ सय ६५ जना सम्झौता गर्न नै नआएको गौतम बताउँछन्। उनीहरूको लागि यही भदौको अन्त्यसम्मका लागि समय तोकिएको छ।

प्राधिकरणको कार्यविधि अनुसार पूर्ण क्षति भएका घरले ३ लाख रुपैयाँ र आंशिक क्षति भएका घरले १ लाख रुपैयाँ अनुदान प्राप्त गर्छन्। जिल्लास्थित जोखिमपूर्ण बस्तीका २२ घरधुरीमध्ये १६ घरधुरीलाई एकीकृत बस्तीमा स्थानान्तरण गरिएको छ। पुनर्निर्माण अपेक्षित गतिमा अघि बढेकोमा कोरोना महामारीले केही काम प्रभावित भएको कार्यालय प्रमुख गौतमले दावी गरे।

भूकम्पपछि विभिन्न समयमा प्राविधिक मूल्याङ्कन हुँदा छुट भएका र प्राविधिकको निर्णय चित्त नबुझेका भूकम्प पीडितलाई पुनरावेदन गर्नसक्ने अधिकार दिएपछि जिल्लामा ७ सय ८१ जनाले निवेदन दर्ता गरेका छन्। कार्यालयले असारबाटै आवेदन माग गरेकोमा साउन ११ गतेदेखि पुनरावेदनको निवेदन दर्ता सुरु भएको थियो।

पुनर्निर्माण प्राधिकरणले पर्वतमा २०७३ सालमा पहिलो पटक १४ हजार घरको सर्वेक्षण गर्दा ५ हजार २ सय ७९ घर पूर्ण र ४ सय १७ घर आंशिक क्षतिमा परेको प्रतिवेदन तयार भएको थियो। २०७५ सालमा गरिएको दोस्रो पटकको छुट तथा पुनः जाँच सर्वेक्षणमा २ सय ४३ घर पूर्ण र २ सय २४ आंशिक क्षतिमा सूचीकृत भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.